‘फिफाले जुलाईमा अप्रिल फुल मनायो’
सारांश
- बेल्जियमको फुटबल महासंघले अमेरिकाका स्ट्राइकर फोलारिन बालोगुनमाथिको एक खेलको प्रतिबन्ध फुकुवा गर्ने फिफाको निर्णयबाट आश्चर्यचकित भएको बताएको छ।
- फिफाले बालोगुनलाई दिइएको रातो कार्डको प्रतिबन्ध फुकुवा गरेपछि बेल्जियमका अधिकारीहरूले कडा आलोचना गरेका छन्।
- फिफाको यो निर्णयले सामाजिक सञ्जालमा तरङ्ग ल्याएको छ र मिश्रित प्रतिक्रियाहरू आइरहेका छन्।
सियाटल । बेल्जियमको फुटबल महासंघ (आरबीएफए) ले अमेरिकाका स्ट्राइकर फोलारिन बालोगुनमाथिको एक खेलको प्रतिबन्ध फुकुवा गर्ने फिफाको विवादास्पद निर्णयबाट आफू ‘आश्चर्यचकित’ भएको बताएको छ।
खेलको निष्पक्षता कायम राख्न आफूहरूले ‘सबै सम्भावित विकल्पहरूको खोजी गरिरहेको’ पनि महासंघले जनाएको छ।
आयोजक राष्ट्र अमेरिका र बेल्जियमबिचको खेलअघि फिफाले बालोगुनलाई दिइएको रातो कार्डको प्रतिबन्ध फुकुवा गरेपछि आइतबार विश्वकपमा ठुलो खैलाबैला मच्चिएको छ। फिफाको यो अप्रत्याशित कदमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गरेका छन् भने बेल्जियमका अधिकारीहरूले कडा आलोचना गरेका छन्।
फिफाको यो असामान्य निर्णयसँगै बालोगुनले सोमबार सियाटलमा हुने बेल्जियमविरुद्धको खेल खेल्न पाउने भएका छन्। यो खेल जित्ने टोलीले क्वाटरफाइनलमा स्थान पक्का गर्नेछ।
रोयल बेल्जियन फुटबल एसोसिएसनले ‘सहभागी सबै टोलीको वैध अधिकार सुरक्षित गर्न र हाम्रो खेलको निष्पक्षता (फेयर प्ले) को आधारभूत सिद्धान्त रक्षा गर्न सबै सम्भावित विकल्पहरूको अध्ययन गरिरहेको’ जनाएको छ।
बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले पत्रकार सम्मेलनमा भने, ‘फिफा विश्वकपमा जुलाई ५ तारिखलाई अप्रिल १ मानेर अप्रिल फुल मनाइन्छ भन्ने मलाई थाहा थिएन।’

गार्सियाले थपे, ‘हाम्रा धेरै भनाइ र विचारहरू विज्ञप्तिमा समावेश छन्। हामी राष्ट्रिय टोली वा महासंघको मात्र होइन, समग्र फुटबल खेलकै रक्षा गरिरहेका छौँ।’
राउन्ड अफ ३२ अन्तर्गत बोस्नियाविरुद्धको खेलमा विपक्षी डिफेन्डरको खुट्टामा कुल्चिएपछि भिडियो रिभ्युमार्फत बालोगुनलाई सीधै रातो कार्ड दिइएको थियो। अमेरिकाले २-० ले जितेको उक्त खेलमा पाएको कार्डका कारण उनले सोमबार बेल्जियमविरुद्धको अन्तिम १६ को नकआउट खेल गुमाउने निश्चित थियो।
फिफाको नियमअनुसार सीधै रातो कार्ड पाएपछि खेलाडीमाथि स्वतः एक खेलको प्रतिबन्ध लाग्छ। यस निर्णयविरुद्ध खेलाडीको टोलीले अपिल गर्न पाउँदैन।
तर, फिफाले आइतबार उक्त प्रतिबन्ध एक वर्षका लागि स्थगन गरिएको जनाएको छ। कुनै ठोस स्पष्टीकरण बिना नै फिफाले यो आश्चर्यजनक कदम चालेको हो।
सन् १९७० को विश्वकपदेखि पहेँलो र रातो कार्डको नियम लागु भएयता रातो कार्ड पाएका खेलाडीलाई लगत्तै अर्को खेल खेल्न दिइएको यो पहिलो घटना हो।

- ‘हामी खराब मान्छे होइनौँ’
तीन गोल गरिसकेका सर्वाधिक गोलकर्ता बालोगुन प्रतियोगितामा अमेरिकालाई अगाडि बढाउन महत्त्वपूर्ण साबित भएका छन्। सियाटलमा हुने बेल्जियमविरुद्धको खेलमा उनको अनुपस्थिति अमेरिकी टोलीका लागि ठुलो धक्का हुने थियो।
प्रतियोगितामा सानदार सुरुवात गरेसँगै सह-आयोजक अमेरिकाका समर्थकहरूको अपेक्षा निकै चुलिएको छ। अमेरिकी टोली कम्तीमा पनि क्वाटरफाइनलसम्म पुग्ने लक्ष्यमा छ। यसअघि अमेरिका सन् २००२ मा मात्र क्वाटरफाइनलमा पुगेको थियो।
बालोगुन आफैँले शुक्रबार रातो कार्डको प्रतिबन्ध ‘आफूले स्वीकार गर्नुपर्ने विषय’ भएको बताएका थिए।
तर, फिफाले आफ्नो निर्णय बदलेपछि २५ वर्षीय बालोगुनले खुसीयाली मनाएका छन्। उनले इन्स्टाग्राममा अमेरिकी टोलीको जर्सी लगाएको आफ्नो तस्बिरसँगै माइकल ज्याक्सनको ‘ब्याड’ बोलको गीत राखेर पोस्ट गरेका छन्।
0 - Since the introduction of yellow and red cards at the 1970 edition, no player has ever received a red card and gone on to play in his team's next match at the FIFA World Cup.
— OptaJohan (@OptaJohan) July 5, 2026
Unprecedented. pic.twitter.com/mqPXgUBju3
अमेरिकी खेलाडी र अधिकारीहरूले यो खबर आइतबार बिहान प्रशिक्षणमा जाने क्रममा पाएका थिए। उनीहरूले फिफाको निर्णयको स्वागत गरेका छन्।
डिफेन्डर क्रिस रिचर्ड्सले भने, ‘सुरुमा त हामी धेरैलाई यो खबर एआईले बनाएको जस्तो लागेको थियो। सामाजिक सञ्जालमार्फत यो जानकारी पाउँदा हामी निकै उत्साहित भयौँ। धेरै प्रश्नहरू उब्जिएका थिए, तर समग्रमा हामी धेरै नै खुसी र उत्साहित छौँ।’
फरवार्ड क्रिस्टियन पुलिसिचले थपे, ‘यो निर्णय सही छ जस्तो लाग्छ। उनले (बालोगुनले) यो अवसर पाएकोमा म निकै उत्साहित छु। उनको अनुहारमा मुस्कान देख्न पाउनु र भोलिको खेलमा उनले हामीलाई ऊर्जा दिन सक्नु निकै राम्रो कुरा हो।’
मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोले अञ्जानमा भएको फाउलका लागि रातो कार्ड दिनु ‘धेरै ठुलो सजाय’ भएको बताए। उनले भने, ‘त्यो रातो कार्ड हुनै हुँदैनथ्यो, त्यसैले यो एउटा उचित निर्णय हो। हामी पीडित हौँ भन्न खोजेको होइन, तर हामी खराब वा निष्ठुरी मान्छे पनि होइनौँ।’

- फिफाको निर्णय ‘थोरै आश्चर्यजनक’
फिफाले आफ्नो विज्ञप्तिमा ‘फिफाको अनुशासन संहिताको धारा २७’ लाई उद्धृत गरेको छ। यस धाराअनुसार प्रतिबन्धलाई ‘एक वर्षको परीक्षण अवधिका लागि स्थगन’ गर्न सकिन्छ। आगामी एक वर्षभित्र यस्तै प्रकृतिको अर्को फाउल गरेमा मात्र बालोगुनमाथि यो प्रतिबन्ध लागु हुने फिफाले जनाएको छ।
यसअघि पनि यस्ता निर्णयका केही उदाहरण छन्। गत वर्ष छनोट खेलका क्रममा विपक्षीलाई कुहिनोले हानेपछि पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई तीन खेलको प्रतिबन्ध लगाइएको थियो। तर, पछि दुई खेलको प्रतिबन्ध स्थगन गरियो। उक्त निर्णयले गर्दा रोनाल्डोले पोर्चुगलको विश्वकपको पहिलो खेल खेल्न पाएका थिए, जसको त्यतिबेला निकै आलोचना भएको थियो।
बेल्जियमका गोलकिपर थिबाउट कोर्टुवाले खेल हुनुभन्दा एक दिनअघि मात्र बालोगुनलाई खेल्न दिने निर्णय आउनु ‘थोरै आश्चर्यजनक’ भएको बताए। उनले भने, ‘यो निर्णय अलि अगाडि नै भएको भए, सायद हामी मानसिक रूपमा अझ बढी तयार हुन सक्थ्यौँ होला।’
फिफाको यस निर्णयले सामाजिक सञ्जालमा तरङ्ग ल्याएको छ। प्रतिबन्ध फुकुवाको विषयमा मिश्रित प्रतिक्रिया आइरहेका छन्। डीआर कंगोका फुटबलर यानिक बोलासीले यस निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले यदि अफ्रिका कप अफ नेसन्समा यस्तो निर्णय लिइएको भए फिफाको कदमप्रतिको प्रतिक्रिया बिल्कुलै फरक हुने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
-
रास्वपाको सभापति निर्वाचनमा ५० प्लस १ को व्यवस्था संशोधन
-
शून्य समयमा सरकारमाथि सांसदको प्रहार
-
ट्रम्पको हस्तक्षेपपछि फिफा विश्वकपमा राजनीतिक आँधी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण