मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्

मङ्गलबार, २३ असार २०८३, १५ : १८
मङ्गलबार, २३ असार २०८३

सारांश

  • नर्वेजियन राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक स्टाले सोलबाक्केन, जो सात मिनेटसम्म मृत घोषित भएका थिए, अहिले विश्वकपमा आफ्नो टोलीको नेतृत्व गर्दैछन्।
  • सोलबाक्केनको टोलीले विश्वकपमा पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्‍यो, जसलाई उनले नर्वेको फुटबल इतिहासको सबैभन्दा महत्त्वपूर्ण दिन भनेका छन्।
  • सन् २००१ मा हृदयघातका कारण सात मिनेटसम्म मुटुको धड्कन बन्द भएर कोमामा पुगेका सोलबाक्केनले मृत्युलाई जितेर खेलाडीबाट प्रशिक्षकसम्मको यात्रा तय गरेका छन्।

काठमाडौँ । ‘मेरी आमाले मेरो अन्तिम संस्कारको तयारी गरिरहनु भएको थियो,’ नर्वेजियन राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक स्टाले सोलबाक्केनका शब्द हुन् यी ।

५८ वर्षीय सोलबाक्केनको टिमले आइतबार अमेरिकामा खेलिएको विश्वकप फुटबलमा आश्चर्यजनक नतिजा निकाल्दै पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्‍यो ।

म्याच सकिएपछि सोलबाक्केनले आफ्ना परिवारसँग भेट गरे । यसको कारण पनि खास थियो । लगभग २५ वर्ष अघि १३ मार्च २००१मा उनको मुटुको धड्कन सात मिनेटसम्म बन्द भएको थियो । उनी २६ घण्टासम्म ‘कोमा’ (चेतविहीन) अवस्थामा समेत रहे ।

इटालियन अखबार ‘ला गजेटा डेलो स्पोर्ट’सँग कुरा गर्दै सोलबाक्केनले भने, ‘मेरी आमा त्यतिबेला म सामु आउँदासम्म उहाँलाई मेरो अवस्थाको बारेमा जानकारी थिएन । बाटोभरि उहाँले मेरो अन्तिम संस्कार कसरी गर्ने भन्ने सोच्दै आउनुभएको थियो ।’

तर सोलबाक्केनले मृत्युलाई जिते । यतिमात्र होइन, अगाडि बढेर उनले नर्वेकै सबैभन्दा प्रतिभाशाली फुटबल पुस्ताको नेतृत्व गरे । उनको टिममा मार्टिन ओडेगार्ड, अलेक्जेन्डर सारलोथ र इर्लिङ हालेन्ड जस्ता खेलाडी छन् ।

ब्राजिललाई पराजित गरेपछि सोलबाक्केनले भने, ‘यो नर्वेकै फुटबल इतिहासको सबैभन्दा महत्त्वपूर्ण दिन हो ।’ उनको असाधारण कथाको सुरुवात पनि ब्राजिलसँग जोडिएको स्मरणीय जितबाट हुन्छ ।

सन् १९९० को दशकमा सोलबाक्केन नर्वेको मिडफिल्डर थिए । त्यतिबेला तोरे आन्द्रे फ्लो र ओले गुनास सोस्क्यरजस्ता खेलाडीका साथ नर्वे लगातार दुई विश्वकप (१९९४ र १९९८) का लागि छनोट भएको थियो ।

१९९८ विश्वकपमा सोलबाक्केन त्यो टिमको हिस्सा थिए, जसले समूह चरणको अन्तिम म्याचमा तत्कालीन विश्वविजेता ब्राजिललाई २–१ ले पराजित गरेको थियो । सोही जितका कारण नर्वे पहिलो पटक विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलसम्म पुगेको थियो । यद्यपि पछि ऊ इटलीसँग पराजित भयो । त्यतिबेला नर्वेको फुटबल इतिहासमा त्यो नै सबैभन्दा ठुलो उपलब्धि मानिएको थियो।

सन् २००० मा ३३ वर्षको उमेरमा सोलबाक्केन डेनमार्कको क्लब एफसी कोपेनहेगनमा आवद्ध भए । १३ मार्च २००१ मा प्रशिक्षण सत्रका क्रममा उनलाई अचानक हृदयघात भयो । उनी मैदानमै ढले ।

टिमका चिकित्सक फ्रेङ्क ओडमार्डले तुरन्त प्राथमिक उपचार सुरु गरे । एम्बुलेन्स बोलाइयो । सात मिनेटसम्म सोलबाक्केनको मुटुको धडकन बन्द भयो । उनलाई ‘मेडिकली’ मृत घोषणा गरियो । अस्पताल लैजाँदै गर्दा उनको मुटु धड्किन थाल्यो । त्यसपछि २६ घण्टासम्म उनी कोमामा रहे ।

पछि सोलबाक्केनले एक पोडकास्टमा भने, ‘मैले त्यतिबेला एउटा निलो प्रकाश देखेँ, फेरि एउटा सुरुङ देखियो । त्यतिबेला मलाई आफू केहीबेर त्यही रहन्छुजस्तो लागेको थियो ।’ सोलबाक्केनकी आमा त्यतिबेला नर्वेबाट कोपेनहेगन आउँदै थिइन् । आउने क्रममा बाटोमा उनले छोरा मरेको खण्डमा अन्तिम संस्कार कसरी गर्ने भन्ने सोचेकी थिइन् । यतिमात्र होइन, बाँचेर पनि उसको मष्तिष्कले काम गरेन भने जीवनका आगामी दिन कस्तो होला भन्ने कल्पना पनि उनले गरिन् ।

स्वास्थ्य परीक्षणपछि सोलबाक्केनमा जन्मजात हृदयसम्बन्धी समस्या रहेको थाहा भयो । चिकित्सकले उनलाई व्यावसायिक फुटबल त्याग्न सुझाव दिए । उनको शरीरमा पेसमेकर लगाइयो र ३३ वर्षको उमेरमा खेलाडीका रूपमा उनको करिअर समाप्त भयो ।

खेलाडीदेखि प्रशिक्षकसम्म

त्यसपछि सोलबाक्केनले प्रशिक्षण सुरु गरे । हालसम्म उनले डेनमार्क, इंग्ल्याण्ड, जर्मनीमा प्रशिक्षकको भूमिका निर्वाह गरे । एफसी कोपेनहेगनमा प्रशिक्षकका रुपमा उनले ठुलो सफलता पाए ।

डिसेम्बर २०२० मा उनी नर्वेको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बने । सोही बेला इर्लिङ हालेन्ड र मार्टिन ओडेगार्डजस्ता युवा प्रतिभा हुर्किंदै थिए । यद्यपि उनको टिम २०२२ को विश्वकप र २०२४ को युरोपेली च्याम्पियनशीपका लागि छनोट हुन सकेन । तर नर्वे फुटबलसंघले सोलबाक्केनमाथि विश्वास कायमै राख्यो ।

सन् २०२६को विश्वकप छनोटमा उनको टिमको प्रतिस्पर्धा इटलीसहित कैयौँ बलिया टिमसँग भयो । नर्वेले समूह चरणका सबै (८) प्रतिस्पर्धा जितेर विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्‍यो ।

विश्वकपमा पनि नर्वेले आफ्नो शानदार प्रदर्शन जारी राखेको छ । समूह चरणमा दोस्रो स्थान हासिल गर्दै नर्वेले नकआउट चरणमा स्थान सुरक्षित गर्‍यो । नकआउट चरणमा आइभरी कोस्ट र ब्राजिललाई पराजित गर्दै क्वाटरफाइनलमा नर्वेले आफ्नो स्थान सुरक्षित बनाएको छ ।

नर्वे फुटबल संघले जारी गरेको भिडियोमा प्रशिक्षक सोलबाक्केनले भनेका छन्, ‘यी खेलाडीले केवल नर्वे फुटबलको इतिहास होइन, पूरै देशको इतिहास बदलेका छन् ।’

कुनै समय सोलबाक्केनले भनेका थिए, ‘जब म त्यो दिन बाँचे, अब त कुनै पनि चुनौती सामना गर्न सक्छु ।’ उनको यो भनाइ आज उनकै जीवन र उनको फुटबल यात्रा दुवैमा चरितार्थ देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप