बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

वायु प्रदूषणले बदलिरहेको छ शुक्रकीटको डीएनए ?

मङ्गलबार, २३ असार २०८३, १६ : १७
मङ्गलबार, २३ असार २०८३

सारांश

  • वायु प्रदूषणले पुरुषको शुक्रकीटको डीएनएको कार्यप्रणालीमा परिवर्तन ल्याउन सक्ने एक ठुलो अध्ययनले देखाएको छ ।
  • अनुसन्धानले विशेषगरी ओजोन र नाइट्रोजन डाइअक्साइडलाई शुक्रकीटको डीएनएमा हुने परिवर्तनसँग बढी सम्बन्धित प्रदूषकका रूपमा पहिचान गरेको छ ।
  • छ महिनापछि नमुना दिएका पुरुषको शुक्रकीटको डीएनए विश्लेषण गर्दा वायु प्रदूषणसँग सम्बन्धित ३९ प्रकारका डीएनए परिवर्तन फेला परेका थिए ।

काठमाडौँ । वायु प्रदूषणले पुरुषको शुक्रकीट (स्पर्म)को डीएनएको कार्यप्रणालीमा परिवर्तन ल्याउन सक्ने एक ठुलो अध्ययनले देखाएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार शुक्रकीट विकास हुने अवधिमा प्रदूषित हावाको सम्पर्कमा रहेका पुरुषमा जीन सक्रिय वा निष्क्रिय हुने प्रक्रियामा सूक्ष्म परिवर्तन देखिएको छ, जसले पुरुष प्रजनन क्षमतामा असर पार्न सक्ने चिन्ता बढाएको छ । यो अध्ययन मंगलबार लन्डनमा आयोजित युरोपेली मानव प्रजनन तथा भ्रुण विज्ञान समाजको वार्षिक सम्मेलनमा प्रस्तुत गरिएको हो ।

अनुसन्धानले विशेषगरी ओजोन र नाइट्रोजन डाइअक्साइडलाई शुक्रकीटको डीएनएमा हुने यस्ता परिवर्तनसँग सबैभन्दा बढी सम्बन्धित प्रदूषकका रूपमा पहिचान गरेको छ । शुक्रकीट विकासको महत्त्वपूर्ण चरणमा हुने वायु प्रदूषणको सम्पर्कले शुक्रकीटको डीएनएमा परिवर्तनसँग सम्बन्ध रहेको देखिएको अध्ययनको नेतृत्व गरेकी म्यासाचुसेट्स एमहस्र्ट विश्वविद्यालयकी महामारीविद् डा. क्यारी नोबल्सले बताइन् ।

सन् २०१३ देखि २०१७ सम्म अमेरिकाको युटा राज्यको साल्ट लेक सिटीमा भएको यस अध्ययनमा दुई हजारभन्दा बढी पुरुषलाई सहभागी गराइएको थियो । सहभागीहरूले अध्ययनको सुरुवातमा तथा त्यसपछि दुई, चार र छ महिनापछि शुक्रकीटको नमुना उपलब्ध गराएका थिए । अनुसन्धानकर्ताहरूले प्रत्येक नमुना सङ्कलन हुनुअघि तीन महिनासम्म उनीहरू ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र सूक्ष्म धुलोका कणजस्ता बाहिरी वायु प्रदूषकको कति सम्पर्कमा रहे भन्ने मूल्याङ्कन गरेका थिए । यही अवधि शुक्रकीट उत्पादन हुने समय मानिन्छ ।

छ महिनापछि नमुना दिएका १ हजार २२० पुरुषको शुक्रकीटको डीएनए विश्लेषण गर्दा वायु प्रदूषणसँग सम्बन्धित ३९ प्रकारका डीएनए परिवर्तन फेला परेका थिए । अनुसन्धानका अनुसार यी परिवर्तनहरू डीएनए मिथाइलेसनसँग सम्बन्धित छन्। यो प्रक्रिया डीएनएमा रासायनिक चिह्न थपेर जीन सक्रिय वा निष्क्रिय बनाउने प्रणाली हो, जसले आनुवंशिक कोड परिवर्तन नगरी जीनको कार्यलाई प्रभावित पार्छ ।

अध्ययनमा पहिचान गरिएको जीएनएएस नामक जीन यसअघि पनि कमजोर शुक्रकीटको गुणस्तर तथा भ्रूण विकाससँग सम्बन्धित रहेको पाइएको थियो । जीनको कार्यप्रणालीमा हुने परिवर्तनले पुरुषको प्रजनन क्षमतामा असर पार्न सक्ने सम्भावना रहेको भए पनि वायु प्रदूषण र बाँझोपनबीच प्रत्यक्ष सम्बन्ध पुष्टि गर्न थप अनुसन्धान आवश्यक रहेको डा. नोबल्सले बताइन् ।

म्यानचेस्टर विश्वविद्यालयका पुरुष प्रजनन स्वास्थ्य विशेषज्ञ प्रोफेसर एलन पेसीले अध्ययनले शुक्रकीटको डीएनएमा मापन गर्न सकिने परिवर्तन देखाएको भए पनि ती परिवर्तन वास्तवमै पुरुष बाँझोपनका लागि चिकित्सकीय रूपमा कति महत्वपूर्ण छन् भन्ने पुष्टि गर्न अझै थप अध्ययन आवश्यक रहेको बताए । त्यस्तै नटिङ्घम विश्वविद्यालयका प्रजनन जीवविज्ञान विशेषज्ञ प्रोफेसर रिचर्ड लिआले यो अध्ययनले वायु प्रदूषणले शुक्रकीटको गुणस्तरमा नकारात्मक असर पार्ने प्रमाणलाई अझ बलियो बनाएको टिप्पणी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप