बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते

मङ्गलबार, २३ असार २०८३, २१ : ०३
मङ्गलबार, २३ असार २०८३

सारांश

  • काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि असार २९ गतेको मिति तोकेको छ ।
  • न्यायाधीश तेज बहादुर खड्काको इजलासले दोषी ठहर भएकाहरूलाई कति वर्ष कैद र कति जरिवाना हुने भन्ने विषयमा सोही दिन अन्तिम निर्णय गर्ने आदेश दिएको हो ।
  • यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राई मुख्य कसूरदार ठहरिएका छन् ।

काठमाडौँ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले कसूरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि आगामी असार २९ गतेको मिति तोकेको छ । 

न्यायाधीश तेज बहादुर खड्काको इजलासले मंगलबार फैसला सुनाउँदै दोषी ठहर भएकाहरूलाई कति वर्ष कैद र कति जरिवाना हुने भन्ने विषयमा सोही दिन अन्तिम निर्णय गर्ने आदेश दिएको हो ।

फौजदारी कार्यविधि अनुसार गम्भीर प्रकृतिका मुद्दामा कसूर ठहर भइसकेपछि सजाय निर्धारणका लागि छुट्टै पेसी तोक्नुपर्ने कानुनी प्रावधानबमोजिम अदालतले असार २९ गतेको समय तोकेको हो ।

यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राई मुख्य कसूरदार ठहरिएका छन् भने पूर्वगृहमन्त्री बालकृष्ण खाण र शरणार्थी नेता टेकनाथ रिजालसहितका व्यक्तिहरू मतियारका रूपमा दोषी ठहर भएका छन् । 

अदालतले जिल्ला सरकारी वकिल कार्यालय र प्रतिवादीका कानुन व्यवसायीहरूलाई समेत सोही मितिको जानकारी दिई सजाय पूर्वको प्रतिवेदन र अन्य आवश्यक प्रक्रिया पूरा गर्न आदेश दिएको छ । असार २९ गतेको सुनुवाइपछि रायमाझी, खाँण र पाण्डेसहित अभियुक्तहरूले भुक्तान गर्नुपर्ने कैद अवधि र जरिवानाको अन्तिम टुङ्गो लाग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप