बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
विश्वकप

७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो

बुधबार, २४ असार २०८३, ०० : ०१
बुधबार, २४ असार २०८३

अमेरिका । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भएको खेलमा साविक विजेता अर्जेन्टिनाले फुटबल इतिहासकै एक स्मरणीय पुनरागमन जित निकालेको छ। 

७८ मिनेटसम्म २–० ले पछि परेर विश्वकपबाट बाहिरिने सँघारमा पुगेको अर्जेन्टिनाले अन्तिम १३ मिनेटमा (इन्जुरी समयसहित) तीन गोल गर्दै इजिप्टलाई ३–२ ले स्तब्ध पारेको हो। 

यस जितसँगै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ भने इजिप्टको यसपटकको विश्वकप यात्रा समाप्त भएको छ।
मंगलबार राति एटलान्टा स्टेडियममा भएको रोमाञ्चक खेलमा इजिप्टले १५ औँ मिनेटमा यासेर इब्राहिम र ६७ औँ मिनेटमा मोस्ताफा जिकोको गोलमार्फत २–० को अप्रत्याशित अग्रता लिएको थियो। खेलको २२ औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा चुकेपछि साविक विजेता टोलीका लागि सबै ढोका बन्द भएको जस्तो देखिएको थियो।

तर, ७९ औँ मिनेटमा खेलको चित्र पूर्ण रूपमा बदलियो। मेस्सीको क्रसमा क्रिस्टियन रोमेरोले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए। त्यसको लगत्तै ८३ औँ मिनेटमा मेस्सी आफैँले सानदार गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए। यी दुई गोल मात्र ४ मिनेटको अन्तरालमा भएका थिए।

खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित देखिएका बेला ९०+२ मिनेटमा एन्जो फर्नान्डेजले हेडिङमार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को सनसनीपूर्ण जित दिलाए। इजिप्टले अर्कोतर्फ पेनाल्टीको माग गरिरहेका बेला अर्जेन्टिनाले काउन्टर अट्याकमा यो गोल गरेको थियो।

अर्जेन्टिनाको लागि ७९ औँ मिनेटमा क्रिस्टियन रोमेरोले मेस्सीको असिस्टमा हेडिङ गर्दै पहिलो गोल गरेका थिए ।  मेस्सीले गोन्जालो मोन्तिएलको पासमा ८३ औँ मिनेटमा बराबरी गोल गरेका थिए। मोन्तिएल आफ्नो टीम २-० ले पछि परेको अवस्थामा ६६ औँ मिनेटमा मैदान छिरेका थिए l

यसैगरी अर्जेन्टिनाको लागि दोश्रो हाफको अतिरिक्त समयको दोश्रो मिनेटमा एन्जो फर्नान्डेजले लिसान्द्रो मार्टिनेजको क्रसमा हेडिङ गर्दै विजयी गोल गरेका थिए । जुन गोल विश्वकप इतिहासको ३००० नम्बरको गोल हो l फर्नान्डेज खेलको ७३ औँ मिनेटमा मात्र मैदान प्रवेश गरेका थिए l

खेल सकिएपछि मेस्सी मैदानमा भावुक दृश्य देखिएको थियो। केही दिनअघि क्रिस्टियानो रोनाल्डो आँसु झार्दै बाहिरिएका बेला आज मेस्सीको आँखामा भने खुसीको आँसु थियो। 

आजको गोलसँगै मेस्सी यस विश्वकपमा ८ गोलसहित गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा उक्लिएका छन्। अन्तिम समयमा सम्हालिन नसक्दा र रेफ्रीको निर्णयप्रति आक्रामक विरोध गर्दा इजिप्टका मुख्य प्रशिक्षक होसाम हसन र गोलकिपर शोबेइरले पहेँलो कार्ड पाए भने एक सहयोगी स्टाफले रातो कार्ड खानुपरेको थियो। 

अन्ततः एक समय जित नजिक पुगेको इजिप्ट १३ मिनेटको अन्तरालमा भएको अर्जेन्टिनी आक्रमणमा परास्त हुँदै विश्वकपबाट घरतर्फको यात्रा तय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप