विश्वकपमा युरोपियन मुलककै हालीमुहाली : किन बलियो देखियो युरोप ?
सारांश
- युरोपबाहिर आयोजना भएका विश्वकपमा युरोपेली टोलीहरूको प्रदर्शन खासै प्रभावशाली नहुने इतिहास छ, तर सन् २०२६ को विश्वकपमा त्यो सूचीमा अर्को युरोपेली राष्ट्र थपिने सम्भावना बलियो देखिएको छ ।
- क्वार्टरफाइनलमा पुगेका आठ टोलीमध्ये ६ टोली युरोपका छन्, जुन सन् १९९४ पछि युरोपबाहिर आयोजना भएको विश्वकपमा अन्तिम आठमा यति धेरै युरोपेली टोली पुगेको पहिलो पटक हो ।
- प्रतियोगिता अगाडि बढ्दै जाँदा युरोपेली टोलीहरूको प्रदर्शनमा सुधार आएको छ र उनीहरूले कठिन परिस्थितिमा पनि उत्कृष्ट प्रदर्शन गर्ने क्षमता देखाएका छन् ।
काठमाडौँ । इतिहास हेर्ने हो भने युरोपबाहिर आयोजना भएका विश्वकपमा युरोपेली टोलीहरूको प्रदर्शन खासै प्रभावशाली रहँदैन । सन् १९३० यता युरोपेली टोलीले युरोपबाहिर आयोजित विश्वकप केवल दुई पटक मात्र जितेका छन् ।
सन् २०१० मा दक्षिण अफ्रिकामा स्पेनले र सन् २०१४ मा ब्राजिलमा जर्मनीले उपाधि जितेका थिए ।
तर सन् २०२६ को विश्वकपमा भने त्यो सूचीमा अर्को युरोपेली राष्ट्र थपिने सम्भावना निकै बलियो देखिएको छ । क्वार्टरफाइनलमा पुगेका आठ टोलीमध्ये ६ टोली युरोपका छन् । ती टोलीहरू हुन्, बेल्जियम, इंग्ल्यान्ड, फ्रान्स, नर्वे, स्पेन र स्विट्जरल्यान्ड ।
बाँकी दुई स्थान अर्जेन्टिना र मोरक्कोले ओगटेका छन् । सन् १९९४ पछि युरोपबाहिर आयोजना भएको कुनै पनि विश्वकपमा अन्तिम आठमा यति धेरै युरोपेली टोली पुगेको यो पहिलो पटक हो ।
युरोपेली टोलीहरू वास्तवमै कति सशक्त ?
प्रतियोगिता अघि बढ्दै जाँदा युरोपेली टोलीहरूको प्रदर्शन लगातार सुधारिएको छ । तर सुरुआतमा भने उनीहरूको कमजोर प्रदर्शनले धेरैलाई आश्चर्यचकित बनाएको थियो ।
समूह चरणको पहिलो खेल खेल्ने पहिलो १० युरोपेली टोलीमध्ये सात टोलीले जित निकाल्न सकेका थिएनन् ।
प्रतियोगिता सुरु हुनुअघि उत्तर अमेरिकाको अत्यधिक गर्मी मुख्य चर्चाको विषय बनेको थियो । इंग्ल्यान्डसहित केही टोलीले सुरुआती खेलअघि गर्मीमा अभ्यस्त हुन तातो क्षेत्रमै आफ्नो प्रशिक्षण शिविर राखेका थिए ।
तर अधिकांश प्रशिक्षकहरूले कमजोर सुरुआती प्रदर्शनका लागि मौसमलाई दोष दिएनन् । इजिप्टसँग बराबरी खेलेपछि बेल्जियमका प्रशिक्षक रुडी गार्सिया ले भने, ‘१० डिग्री होस् वा ३० डिग्री, हामीले अझ राम्रो खेल्नुपर्थ्यो ।’
कतारसँग १–१ को बराबरी खेलेपछि स्विट्जरल्यान्डका प्रशिक्षक मुरात याकिन ले पनि मौसमभन्दा आफ्ना खेलाडीहरूको अवसर सदुपयोग गर्न नसक्ने कमजोरीलाई कारण माने । तर प्रतियोगिता अगाडि बढ्दै जाँदा युरोपेली टोलीहरूले आफ्नो वास्तविक लय समाते । समूह चरण समाप्त हुँदा युरोपेली टोलीहरूले गैर–युरोपेली टोलीविरुद्ध १७ जित, १२ बराबरी र सात हार को नतिजा निकाले ।
कठिन परिस्थितिमा पनि उत्कृष्ट प्रदर्शन
नकआउट चरणमा पनि युरोपेली टोलीहरूले प्रतिकूल अवस्थालाई सामना गर्ने क्षमता देखाएका छन् । अन्तिम १६ मा मेक्सिकोविरुद्ध एज्टेका रंगशालामा इंग्ल्यान्डको खेल निकै चुनौतीपूर्ण मानिएको थियो । त्यहाँको उच्च उचाइ र घरेलु समर्थकहरूको तीव्र दबाबका बिच पनि इंग्ल्यान्डले उत्कृष्ट संघर्षपूर्ण प्रदर्शन गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो ।
पूर्व इंग्लिस स्ट्राइकर वेन रुनी बीबीसी स्पोर्टसँग भने, ‘यस खेलले इंग्ल्यान्डसँग विश्वकप जित्न सक्ने टोली रहेको प्रमाणित गरेको छ । यस जितले खेलाडीहरूको आत्मविश्वास अत्यन्तै बढाएको छ ।’
यता फ्रान्सले पाराग्वेको समय खेर फाल्ने रणनीति र मनोवैज्ञानिक दबाबलाई पार गर्दै अन्तिम आठमा स्थान बनायो भने बेल्जियमले घरेलु समर्थकको ठुलो दबाबका बिच सह–आयोजक अमेरिकालाई स्पष्ट रूपमा पराजित गर्यो ।
अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि युरोपियन च्याम्पियन स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । पूर्व इंग्लिस डिफेन्डर म्याट अप्सनले भने, ‘बेल्जियमको प्रदर्शन उत्साहजनक थियो । तर स्पेनको उत्कृष्ट मिडफिल्डविरुद्ध उनीहरूले अझ उच्चस्तरको खेल देखाउनुपर्नेछ ।’
के धेरै युरोपेली टोली पुग्नु स्वाभाविक नै थियो ?
हो, विश्वकपमा युरोपको प्रतिनिधित्व बलियो हुने अनुमान पहिल्यै गरिएको थियो, किनभने विश्वकपमा १६ स्थान युरोपलाई छुट्याइएको छ, जुन कुनै पनि महादेशभन्दा बढी हो । तर यसपटक प्रतियोगिता ४८ टोलीमा विस्तार भएको र अतिरिक्त नकआउट चरण पनि थपिएको अवस्थामा युरोपेली टोलीहरूको यस्तो प्रभुत्व जमेको हो जसले नकआउट चरणमा राम्रो नतिजा निकाले ।

पाँच पटकको विश्वविजेता ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ भने सह–आयोजक क्यानडा, मेक्सिको र अमेरिका सबै अन्तिम १६ बाटै बाहिरिए । फिफा विश्व वरीयतामा पनि युरोपको दबदबा स्पष्ट देखिन्छ । शीर्ष आठमध्ये पाँच टोली युरोपका छन् र तीमध्ये चार टोली क्वार्टरफाइनलमा पुगेका छन् । सातौँ वरीयतामा रहेको पोर्चुगल भने अन्तिम १६ मा स्पेनसँग पराजित भयो ।
प्रतियोगिता सुरु हुनुअघि फ्रान्सलाई धेरैले उपाधिको प्रमुख दाबेदार मानेका थिए र अहिलेसम्म उसले त्यसलाई प्रमाणित पनि गरिरहेको छ । स्ट्राइकर किलियन एमबाप्पे सात गोलसहित गोल्डेन बुटको प्रमुख प्रतिस्पर्धीमध्ये एक छन् । पूर्व इंग्लिस मिडफिल्डर ड्यानी मर्फी ले भने, ‘फ्रान्सको आक्रमण पङ्क्ति हेर्दा उनीहरूलाई बेवास्ता गर्न गाह्रो छ । अतिरिक्त समयमा थाकेका विपक्षीविरुद्ध रियान चेर्की, उस्मान डेम्बेले वा देजिरे डुएजस्ता खेलाडी बेन्चबाट आएर खेलको नतिजा बदल्न सक्छन् ।’
पूर्व फ्रान्सेली डिफेन्डर गाएल क्लिसी ले भने, ‘मेरो विचारमा फ्रान्स, स्पेन र इंग्ल्यान्ड सबैभन्दा बलिया टोली हुन् । स्पेनले हरेक उमेर समूहमा उपाधि जितिरहन्छ, त्यसैले उनीहरू पनि दाबेदार हुन् । तर म फ्रान्सेली भएकाले फ्रान्सलाई नै रोज्छु ।’
अप्रत्याशित टोलीहरूले पनि सबैलाई चकित पारे
फ्रान्स, स्पेन र इंग्ल्यान्ड जस्ता टोलीहरू क्वार्टरफाइनलमा पुग्नु धेरैका लागि आश्चर्यको विषय थिएन । तर केही युरोपेली टोलीले अपेक्षाभन्दा निकै राम्रो प्रदर्शन गरेका छन् ।
नर्वेको शानदार पुनरागमन

सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलिरहेको नर्वे ले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । त्यसको प्रमुख कारण एर्लिङ हालान्डको विस्फोटक खेल हो ।
म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डले प्रतियोगितामा हालसम्म सात गोल गरिसकेका छन् र शनिबार इंग्ल्यान्डविरुद्ध पनि गोल संख्या बढाउने लक्ष्यमा हुनेछन् ।
स्विट्जरल्यान्डले रच्यो इतिहास
स्विट्जरल्यान्डले पनि उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान खिचेको छ । अन्तिम १६ मा कोलम्बियाविरुद्ध पेनाल्टी सुटआउटको तीव्र दबाबलाई सफलतापूर्वक सामना गर्दै टोली क्वार्टरफाइनलमा पुगेको हो ।

यस जितसँगै मुरात याकिनको टोली सन् १९५४ पछि पहिलो पटक विश्वकपको अन्तिम आठ मा पुगेको छ । यद्यपि अब उनीहरूको अगाडि कठिन चुनौती छ । क्वार्टरफाइनलमा उनीहरूले साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछन् ।
याकिनले भने, ‘यो स्विट्जरल्यान्डका लागि ऐतिहासिक क्षण हो । हामीले विश्वकपमा आफ्नो अहिलेसम्मकै उत्कृष्ट उपलब्धि हासिल गरेका छौँ । तर हाम्रो यात्रा अझै समाप्त भएको छैन ।’
वास्तवमै, यात्रा अझै बाँकी छ । युरोपेली टोलीहरू अब पनि आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै युरोपबाहिर आयोजित विश्वकपमा दुर्लभ रूपमा देखिने अर्को युरोपेली च्याम्पियन बनाउने लक्ष्यमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण