बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

सर्भिस लेन कि पार्किङ स्पट ?

बुधबार, २४ असार २०८३, १५ : २२
बुधबार, २४ असार २०८३

सारांश

  • चक्रपथको सामाखुशी–कलंकी सहायक लेनमा सवारीसाधनको अव्यवस्थित पार्किङले आवतजावतमा समस्या भएको छ ।
  • चक्रपथको दोस्रो खण्ड विस्तारमा ढिलाइ भइरहेका बेला पसल तथा व्यवसायले सहायक लेनलाई पार्किङ र सामान लोड–अनलोड गर्ने स्थानका रूपमा प्रयोग गरिरहेका छन् ।
  • चक्रपथको दोस्रो खण्ड विस्तारका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने सम्झौता भएको छ र विस्तार कार्य कलंकीदेखि बसुन्धरासम्म ८.२ किलोमिटर सडक खण्डमा हुनेछ ।

काठमाडौँ ।अहिले चक्रपथको सामाखुशी–कलंकी सहायक लेन (सर्भिस लेन) हुँदै यात्रा गर्ने जो–कोहीलाई आफू सडकमा होइन, पार्किङ क्षेत्रमा पुगेको जस्तो अनुभव हुन्छ । काठमाडौंको कोर क्षेत्रलाई घेरिएको २७ किलोमिटर लामो चक्रपथको दोस्रो खण्डअन्तर्गत सामाखुशी–कलंकी सडकमा सवारीसाधनको अव्यवस्थित पार्किङका कारण सहायक लेनमै आवतजावत गर्न समस्या भइरहेको छ ।

चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलंकी) विस्तार सम्पन्न भएको आठ वर्ष बितिसक्दा पनि दोस्रो खण्ड कलंकीदेखि बसुन्धरासम्म चीन सरकारको सहयोगमा विस्तार गर्ने योजना अझै कार्यान्वयनमा आउन सकेको छैन । बसुन्धरादेखि नारायणगोपाल चोकसम्म करिब ६ सय मिटर सडक खण्डमा पर्ने घर–टहरा हटाउने विषयमा देखिएको समस्या समाधान हुन नसक्दा विस्तारको काम अघि बढ्न सकेको छैन ।

ringroad parking (3)

सडक विस्तारमा ढिलाइ भइरहेका बेला चक्रपथको बाहिरी क्षेत्रमा सञ्चालित पसल तथा व्यवसायले सहायक लेनलाई पार्किङ र सामान लोड–अनलोड गर्ने स्थानका रूपमा प्रयोग गरिरहेका छन् । यसका कारण सवारी आवागमन प्रभावित हुँदै आएको छ ।

ringroad parking (1)

विशेषगरी हलचोक–स्वयम्भू क्षेत्रमा रहेका ट्रान्सपोर्ट कम्पनी, ग्यारेज तथा गोदामले ठूला मालवाहक सवारी पार्किङका लागि सहायक लेन नै प्रयोग गरिरहेका छन् । कतिपय स्थानमा पुराना तथा बिग्रिएका सवारीसाधन र विभिन्न सामग्री थुपारिँदा सहायक लेन झन् साँघुरिएको छ ।

ringroad parking (6)

दोस्रो खण्डको सडक विस्तारलाई लक्षित गरी सरकारले केही वर्षअघि चक्रपथ क्षेत्रमा तारबार समेत गरेको थियो । तर अहिले धेरै स्थानमा त्यसको नामोनिसान छैन । तारबार हटाइएका ठाउँमा सवारीसाधन पार्किङ गरिँदा पनि सम्बन्धित निकाय र ट्राफिक प्रहरीको प्रभावकारी निगरानी देखिएको छैन ।

चक्रपथको दोस्रो खण्ड विस्तारका लागि पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच आयोजना कार्यान्वयन सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । त्यसबेला निर्माण कार्य छिट्टै सुरु गर्ने घोषणा गरिए पनि हालसम्म उल्लेखनीय प्रगति हुन सकेको छैन ।

ringroad parking (9)

यस आयोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने सम्झौता भएको छ । २०८२ फागुन १२ गते मन्त्रिपरिषद्ले निर्माण सामग्री तथा भन्सार छुटसम्बन्धी निर्णय गरेपछि आयोजना अघि बढाउने बाटो खुलेको थियो । विस्तारको काम कलंकीदेखि बसुन्धरा चोकनजिकसम्मको ८.२ किलोमिटर सडक खण्डमा हुनेछ ।

ringroad parking (11)

स्वीकृत डिजाइनअनुसार ढुंगेधारामा एउटा पक्की पुल निर्माण गरिनेछ । साथै तीनवटा अपाङ्गमैत्री आकाशे पुल निर्माण हुनेछन् । ती पुल सीतापाइला, बालाजु–माछापोखरीबीच तथा सामाखुशी–बसुन्धरा प्रहरी चौकीबीच निर्माण गरिने योजना छ । कलंकीदेखि बसुन्धरासम्म सडक बत्ती पनि सडक विस्तारकै क्रममा चीन सरकारले जडान गर्नेछ ।

ringroad parking (13)

चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलंकी सडक विस्तारको काम २०६९ मा सुरु भएर २०७५ मा सम्पन्न भएको थियो । कलंकीदेखि बसुन्धरासम्म विस्तारका लागि नेपाल र चीनबीच सन् २०१८ मा सरकार–सरकार (जीटुजी) सम्झौता भएको थियो । हाल कलंकीदेखि सीतापाइलासम्म चार लेन र सीतापाइलादेखि बसुन्धरासम्म दुई लेन सडक सञ्चालनमा छ । विस्तार सम्पन्न भएपछि सर्भिस लेनबाहेक मुख्य सडक आठ लेनको हुनेछ ।

चक्रपथको तेस्रो खण्डअन्तर्गत नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको करिब ७ सय मिटर सडक नेपाल सरकारले आफ्नै लगानीमा निर्माण गरिसकेको छ । चप्पल कारखानादेखि धोबीखोला पुलसम्मको करिब १.२ किलोमिटर सडक विस्तारको तयारी भइरहेको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ।

ringroad parking (2)ringroad parking (4)ringroad parking (5)ringroad parking (7)ringroad parking (8)ringroad parking (10)ringroad parking (12)ringroad parking (14)ringroad parking (15)ringroad parking (16)ringroad parking (17)ringroad parking (18)ringroad parking (19)ringroad parking (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप