‘राजेन्द्र लिङ्देनबाट अब राप्रपा चल्न सक्दैन, महाधिवेशनबाट परिवर्तन गर्छौं’
काठमाडौँ । समसामयिक नेपाली राजनीतिमा प्रखर वक्ता र निडर अभियन्ता हुन् ज्ञानेन्द्र शाही । जुम्लाबाट प्रतिनिधि सभामा निर्वाचित शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक्ला निर्वाचित सांसद हुन् । राप्रपा संसदीय दलका नेता शाही पार्टीका प्रवक्ता पनि हुन् ।
सत्ता र शक्तिको अगाडि सत्य बोल्न नहिच्किचाउने र जनताका दैनिक समस्यालाई संसद् र सडक दुवै ठाउँमा सशक्त ढंगले उठाउने सांसद शाहीसँग सरकारको एक सय दिनको कार्यसम्पादनको समीक्षा, सभामुखको भूमिका, राप्रपाभित्र चुलिँदै गएको आन्तरिक विवाद, सिद्धान्त र सत्ताको सौदाबाजी, धवलशमशेर राणाको कारबाही प्रकरण र आगामी महाधिवेशनलगायत विषयमा रातोपाटीको ‘वारपार’मा कुराकानी गरिएको छ । प्रस्तुत छ शाहीसँग गरिएको संवादको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
वर्तमान सरकार गठन भएको एक सय दिन पूरा भएको छ । यो अवधिलाई तपाईंले कसरी मूल्याङ्कन गर्नुभएको छ ? सरकारले सुशासन र समृद्धिको दिशामा कत्तिको काम गर्न सक्यो ?
सबै काम एक सय दिनमा खोज्नु हुँदैन । म त यो सरकारलाई अझै एक वर्ष हेर्नुपर्छ भन्नेमा छु । सुशासन भनेको कानुनको पालना सबैका लागि बराबर हुनु हो, तर यो सरकारले आफ्ना मान्छेलाई बचाउने र विरोधीहरूलाई मात्र तारो बनाउने काम गरिरहेको छ ।

म एउटा सानो उदाहरण दिन्छु- ट्राफिक नियमको कुरा गरौँ । गृह मन्त्रालयले ट्राफिक नियम पालनामा निकै कडाइ गरेको प्रचार गर्छ, तर स्वयं प्रधानमन्त्री र गृहमन्त्री सिटबेल्ट नलगाई गाडी चढ्छन्, उनीहरूका लागि कानुन लाग्दैन ।
सर्वसाधारण नागरिकले सामान्य गल्ती गर्दा पनि ठुलो जरिवाना तिर्नुपर्छ । यदि कसैले प्रधानमन्त्री वा गृहमन्त्रीले सिटबेल्ट नलगाएको भिडियो खिच्यो भने उसलाई प्रहरी लगाएर दुःख दिइन्छ, खोजी–खोजी कारबाही गरिन्छ । के यो सुशासन हो ? यो त केपी ओली प्रवृत्तिको निरन्तरता मात्र हो । आफ्ना मान्छेले जे गरे पनि छुट हुने र अरूलाई चाहिँ सानो कुरामा पनि फसाउने प्रवृत्ति सुशासन हुन सक्दैन । त्यसैले सरकारको सय दिन केवल सस्तो प्रचारबाजी र आफ्ना आसेपासे संरक्षण गर्नमै सीमित भएको छ ।
तपाईंहरू आफैँ पनि प्रतिनिधि सभामा हुनुहुन्छ । संसद्मा प्रतिपक्षी दलहरूले सरकारलाई रचनात्मक सुझाव दिनुपर्ने होइन र ? तपाईंहरूको भूमिका पनि खाली आलोचना गर्ने मात्र देखिन्छ त ?
काम संसद्ले गर्ने हो र ? त्यतिसम्म ज्ञान छैन सरकारका मान्छेसँग ? काम त सरकारको मन्त्रिपरिषद्ले गर्ने हो । संसदले नियम, ऐन, नीति बनाउने हो र जनताका सवालमा खबरदारी गर्ने हो ।
संसद् नै चल्न नदिने हुन्छ त ?
होइन, त्यसो भए नेपालले भारतको सिमाना मिचेको हुन्छ त ? त्यसको जवाफ देऊ न त ।
बहस गर्नु नि ?
जवाफ देऊ भनिरहेको छु त, जवाफ दिँदैनन् अनि आफैँ बन्द गर्छन् ।
त्यसको जवाफ प्रधानमन्त्रीले चितवनमा दिनुभयो त ?
संसद्मा दिने हो नि त, चितवनमा दिएर हुन्छ ?
तपाईंहरूले जति कुरा उठाएपनि प्रधानमन्त्री, सरकार आफ्नो गतिमा हिँडेको छ, तपाईंहरूको सुनुवाइ पनि भएको छैन भनेपछि अनावश्यक किन बोलिरहनु भन्ने लाग्दैन ?
होइन, त्यस्तो हुँदैन ।

बोल्न चाहिँ नछोड्ने ?
किन छोड्ने ? गलत कुराको विरोध गरिराख्ने हो, राम्रो कुराको समर्थन गर्ने हो ।
सभामुखको भूमिकामाथि पनि तपाईंले प्रश्न उठाउनुभएको छ । सभामुखको निष्पक्षतामा कुनै शंका छ र ?
सभामुखको म व्यक्तिगत रूपमा ठुलो शुभचिन्तक हो । उहाँसँग मेरो साह्रै राम्रो सम्बन्ध छ, अति आदर र सम्मान पनि गर्छु, तर सभामुख तटस्थ देखिनुभएको छैन ।
अहिलेको संसद् अमर्यादित हुँदै गएको, सांसदहरूको भाषा पनि संसदीय मर्यादा विपरीत हुँदै गएको हो ?
होइन, छैन । पहिलाभन्दा धेरै मर्यादित छ । विपक्षी दलहरू पहिलाभन्दा मर्यादित छन् । पहिला त प्रधानमन्त्री केपी ओलीलाई हातपात पनि भएको हो ।
भनेपछि सभामुखको भूमिका तटस्थ छैन ?
त्यो भन्न मिल्दैन । तर अहिले उहाँको केही गतिविधि चाहिँ त्यता–त्यता ढल्के जस्तो देखिन्छ, त्यो चाहिँ बेलैमा सुध्रिनुपर्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र त्यसले लिएको मुद्दाहरू जनताले पूर्णतः अस्वीकार गरे । तपाईं जत्तिको सत्य बोल्ने मान्छेले त यति स्विकार्नुहुन्छ होला नि ?
जनताले मुद्दाभन्दा पनि व्यक्तिलाई अस्वीकार गरेका हुन् । किनभने संसारमा मुद्दा बोक्नु मात्र ठुलो कुरा होइन । सिद्धान्त भन्ने कुरा प्राइम फ्याक्टर हो, तर सिद्धान्त कसले बोकेर हिँडिराख्या छ, त्यो प्राइम फ्याक्टर हो ।
भनेको तपाईंको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनजी असफल ?
पार्टी अध्यक्ष मात्र असफल भन्न मिल्दैन । हामी सबै असफल । यसको दोष मैले पनि लिनुपर्छ ।
जनताले विश्वास गरेनन् त ?
हामीले के गर्यौँ ? प्रदेश संरचना खारेज भन्यौँ, प्रदेशको सभामुख खान गयौँ । राजा र राजसंस्था ल्याउँछौँ भन्यौँ, राजालाई गाली नगरी बिहान बेलुकै दाँत कुल्ला नगर्ने केपी ओलीसँगै मिलेर चुनाव लड्यौँ । केपी ओलीले जे भन्यो त्यही मान्यौँ । केपी ओलीकै कारणले प्रदेशमा सभामुख खायौँ । केपी ओलीले भनेका कारणले खाएका हौँ हामीले । हिन्दु राष्ट्र ल्याउने भनेर भोट माग्यौँ अनि क्रिश्चियनलाई सांसद बनायौँ । अनि जनताले हामीलाई किन विश्वास गर्ने ?
राजेन्द्र लिङ्देनजीमा अध्यक्षको हैसियत नै थिएन ? सबै ओलीलाई सोधेर निर्णय गर्नुहुन्थ्यो ?
त्यो देखियो त स्पष्ट । अब चुनाव लड्दाखेरि पनि उनकै पासमा जानुपर्ने हामी । दुई–दुई वटा चुनाव केपी ओलीको निगाहमा जितेको होइन र हामीले ?
भनेपछि राप्रपा केपी ओलीजीले नै चलाएका रहेछन् ।
लक्षण त्यही देखियो ।
पार्टी अध्यक्षको यति धेरै आलोचना गर्न तपाईंलाई सुहाउँछ ?
यो आलोचना होइन, यो सत्य कुरा हो । यो कुरा मैले आज तपाईंलाई भन्या होइन । पार्टीभित्र पटक–पटक भन्या हो । एमालेसँग मिल्नु हुँदैन । प्रचण्डको सरकारमा जानु हुँदैन हजुर, विचार गरौँ भनेँ, तर अध्यक्षले कहिल्यै मान्नु भएन ।

धवलशमशेर बिरामी भएको बेला संगठन विभागबाट कारबाही गरेर बुद्धिमान तामाङलाई राख्नुभयो । धवलशमशेर केन्द्रीय कार्यसम्पादनको बैठकमा रुनुभएको छ के । त्यो त दुश्मनले पनि गर्दैन के त्यस्तो । अनि रवीन्द्र मिश्रलाई कसरी सकिदlनुभयो । विचरा रवीन्द्र मिश्रहरू कत्रो आश लिएर हाम्रो पार्टीमा आएका थिए होलान् ।
पार्टीको अनुशासन नमानेपछि कारबाही नगरेर पुरस्कार दिन्छन् त ?
हाम्रो पार्टीको विधानमा के छ ? एक कार्यकाल पदाधिकारी भयो भने मात्रै पार्टी अध्यक्षमा लड्न पाउँछ । रवीन्द्र मिश्र लडिहाल्छन् कि भनेर अध्यक्षले वरिष्ठ उपाध्यक्ष बनाए तर निर्वाचन आयोगमा नामै पठाएनन् । बिचरा आज पनि रवीन्द्र मिश्र हाम्रो पार्टीको आधिकारिक पदाधिकारी होइनन् ।
तपाईंको नेता अहिले धवलशमशेर कि राजेन्द्र लिङ्देन ?
मेरो नेता राजेन्द्र लिङ्देन हो, तर गलतलाई गलत भन्नु परेन त ?
अध्यक्ष राजेन्द्र लिङ्देनले के–के कमजोरी गर्नुभयो भनेर पनि भन्नुभयो । अनि फेरि मेरो अध्यक्ष राजेन्द्र लिङ्दन नै हो पनि भनिरहनुहुन्छ । तपाईंको दोहोरो चरित्र किन ?
अहिले मेरो अध्यक्ष उहाँ नै हो । अब महाधिवेशनबाट परिवर्तन गर्छौं ।
राजेन्द्र लिङ्देनजीले अध्यक्षमा जित्नुहुन्न ?
उहाँले जित्नुहुन्छ, के हुन्छ भन्नेभन्दा पनि राजेन्द्र दाइले बाटो प्रशस्त गरिदिनुपर्छ अब । पार्टीको संरक्षक बस्नुपर्छ । पार्टीको सर्वोच्च नेता भएर बस्नुपर्छ ।
अध्यक्ष चाहिँ तपाईं बन्ने ?
महाधिवेशनमा म अध्यक्षमा उठ्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण