बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
सारांश
- बेलायतकी पूर्व मन्त्री तथा राजनीतिज्ञ ७८ वर्षीया एन विडिकोम्ब आफ्नै घरमा मृत फेला परेकी छन्।
- उनको हत्या भएको आशंकामा प्रहरीले एक २६ वर्षीय युवकलाई पक्राउ गरेको छ।
- प्रहरीले घटना आतंकवाद वा राजनीतिक रूपमा प्रेरित नभएको जनाउँदै थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । बेलायतकी पूर्व मन्त्री तथा प्रभावशाली राजनीतिज्ञ ७८ वर्षीया एन विडिकोम्ब आफ्नै घरमा मृत फेला परेकी छन्। उनको हत्या भएको आशंकामा प्रहरीले एक २६ वर्षीय एक युवकलाई पक्राउ गरेको छ ।
डेभोन र कर्नवाल प्रहरीका अनुसार विडिकोम्ब बिहीबार डार्टमुरस्थित आफ्नै घरमा गम्भीर चोट लागेको अवस्थामा फेला परेकी थिइन्। सो घटनाको अनुसन्धानका क्रममा प्रहरीले शुक्रबार दिउँसो न्यूटन एबोटबाट एक २६ वर्षीय बेलायती युवकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले हालसम्मको अनुसन्धानबाट यो घटना आतंकवादसँग सम्बन्धित नरहेको र राजनीतिक रूपमा प्रेरित भएको कुनै जानकारी वा प्रमाण फेला नपरेको जनाएको छ। यद्यपि, घटनाबारे थप अनुसन्धान जारी रहेको र पक्राउ परेका व्यक्ति विडिकोम्बसँग पहिलेदेखि नै परिचित थिए वा थिएनन् भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।
एन विडिकोम्ब बेलायती राजनीतिमा एक चर्चित नाम हो। उनी २३ वर्षसम्म मेडस्टोनबाट कन्जरभेटिभ पार्टीको सांसद रहेकी थिइन् भने पूर्व मन्त्रीका रूपमा पनि सेवा गरेकी थिइन्। पछिल्लो समय उनी ‘रिफर्म यूके’ पार्टीको प्रवक्ताको रूपमा सक्रिय थिइन्। राजनीति बाहेक सन् २०१० मा चर्चित डान्सिङ शो ‘स्ट्रिक्ली कम डान्सिङ’ मा सहभागी भएपछि उनी सर्वसाधारणमाझ झनै लोकप्रिय बनेकी थिइन्।
विडिकोम्बको मृत्युको खबरले बेलायती राजनीति स्तब्ध बनेको छ। हालै राजीनामा दिएका प्रधानमन्त्री कीर स्टार्मरले यसलाई स्तब्धकारी समाचार भन्दै दुःख व्यक्त गरेका छन्। यस्तै, कन्जरभेटिभ पार्टीकी नेता केमी बाडेनोकले विडिकोम्बको हत्यालाई भयावह भन्दै उनी एक साहसी र स्पष्ट वक्ता महिला भएको स्मरण गरेकी छन्।
लिबरल डेमोक्र्याट र ग्रीन पार्टीका नेताहरूका साथै विडिकोम्बका पूर्व सहकर्मीहरूले पनि उनको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण