आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

‘प्लेयर अफ द म्याच’ छनोट प्रक्रिया, विवाद र हालसम्मका विजेता

शनिबार, २७ असार २०८३, १४ : ३०
शनिबार, २७ असार २०८३

सारांश

  • सन् २०२६ को फिफा विश्वकपमा 'प्लेयर अफ द म्याच' अवार्डको छनोट प्रक्रिया समर्थकको लोकप्रिय मतमा आधारित भएकाले विवादित बनेको छ।
  • यो अवार्ड सन् २०१० देखि समर्थकले मतदान गरी छनोट गरिन्छ, तर यसले गर्दा वास्तविक उत्कृष्ट खेलाडीभन्दा लोकप्रिय खेलाडीले अवार्ड जित्ने गरेको टिप्पणी छ।
  • यस विश्वकपमा हालसम्म लियोनेल मेस्सी सर्वाधिक पटक 'प्लेयर अफ द म्याच' घोषित भएका छन्।

सन् २०२६ को फिफा विश्वकपमा ‘प्लेयर अफ द म्याच’ अवार्डलाई लिएर निकै बहस भइरहेको छ।

स्पेनले बेल्जियमलाई २–१ ले हराएको क्वार्टरफाइनलपछि लामिन यामालले यो अवार्ड जिते पनि धेरै फुटबल विश्लेषक र समर्थकले उनको प्रदर्शन त्यो खेलको उत्कृष्ट नभएको टिप्पणी गरेका छन्। यस विश्वकपमा यस्तो विवाद पहिलो पटक भने होइन।

  • अवार्ड कसरी छनोट गरिन्छ ?

सन् २०१० को विश्वकपदेखि ‘प्लेयर अफ द म्याच’ छनोट गर्ने अधिकार समर्थकहरूलाई दिइएको छ। खेलको हाफटाइमदेखि खेल समाप्त नहुन्जेलसम्म विश्वभरका समर्थकले फिफाको वेबसाइटमार्फत आफूलाई उत्कृष्ट लागेको खेलाडीलाई मतदान गर्न सक्छन्। यदि खेलको अन्त्यतिर कुनै खेलाडीले निर्णायक गोल गरेमा, उत्कृष्ट बचाउ गरेमा वा खेलको दिशा बदल्ने प्रदर्शन गरेमा समर्थकले आफ्नो मत परिवर्तन गर्न पनि सक्छन्।

यसअघि सन् २०१० भन्दा अगाडि भने यो अवार्ड फिफाका प्राविधिक विशेषज्ञहरूले छनोट गर्थे। त्यसपछि मोबाइल एसएमएस, सामाजिक सञ्जाल र अहिले फिफाको वेबसाइटमार्फत खुला मतदानको व्यवस्था गरिएको छ।

  • किन विवादमा पर्छ ?

समर्थकको खुला मतदान हुने भएकाले यो अवार्ड धेरैजसो लोकप्रिय खेलाडीहरूको पक्षमा जाने गरेको भन्दै आलोचना हुने गरेको छ। खेलमा वास्तविक रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीभन्दा विश्वप्रसिद्ध स्टारहरूलाई धेरै मत प्राप्त हुने सम्भावना रहन्छ।

यसको उदाहरण सन् २०२२ को विश्वकपमै देखिएको थियो। बेल्जियमका केभिन डी ब्रुइनेले क्यानडाविरुद्ध १–० को जितपछि अवार्ड जित्दा आफू नै आश्चर्यचकित भएका थिए। उनले त्यसबेला भनेका थिए, ‘सायद मेरो नामका कारण मैले ट्रफी पाएँ।’

यस विश्वकपमा पनि यस्तै विवाद दोहोरिएको छ। पोर्चुगलले क्रोएसियालाई २–१ ले हराउँदा क्रिस्टियानो रोनाल्डो ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले पेनाल्टीबाट बराबरी गोल गरे पनि समग्र खेलमा उनको प्रभाव सीमित थियो भन्ने धेरैको धारणा थियो।

त्यस्तै स्पेनले अस्ट्रियालाई ३–० ले हराउँदा लामिन यामालले अवार्ड जिते पनि दुई गोल गरेका मिकेल ओयारजाबाल नै वास्तविक हकदार रहेको धेरै विश्लेषकहरूको मत थियो।

अर्जेन्टिनाले केप भर्डेलाई ३–२ ले हराउँदा लियोनेल मेस्सीले अवार्ड पाए। उनले एक गोल गरे पनि डिफेन्डर लिसान्द्रो मार्टिनेजको गोल र असिस्ट तथा केप भर्डेका सिड्नी काब्रालको उत्कृष्ट प्रदर्शनलाई बेवास्ता गरिएको भन्दै आलोचना भयो।

  • समर्थकको मत निर्णायक

फिफाको वेबसाइटमा मतदान गर्न कुनै दर्ता आवश्यक नपर्ने भएकाले संसारभरका जोसुकैले मतदान गर्न सक्छन्। यसले लोकप्रिय खेलाडीहरूलाई ठूलो फाइदा पुग्ने गरेको विश्लेषकहरू बताउँछन्। विशेषगरी मेस्सी, रोनाल्डो, एमबाप्पे, यामाल वा हालान्डजस्ता विश्वप्रसिद्ध खेलाडीहरूका धेरै समर्थक भएकाले उनीहरूलाई बढी मत आउने सम्भावना हुन्छ।

  • यस विश्वकपका सर्वाधिक ‘प्लेयर अफ द म्याच’ विजेता

विश्वकप २०२६ मा हालसम्म लियोनेल मेस्सी सबैभन्दा धेरै पटक ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन्। उनले पहिलो पाँच खेलमध्ये चार खेलमा यो सम्मान जितेका छन्।

त्यसपछि, जुड बेलिङ्घम (इङ्ग्ल्यान्ड), भिनिसियस जुनियर (ब्राजिल) तथा एर्लिङ हालान्ड (नर्वे) ले ३–३ पटक यो अवार्ड पाइसकेका छन्। दुई–दुई पटक अवार्ड जित्ने खेलाडीहरूमा ह्यारी केन, जुलियन किन्योनेस, फोलारिन बालोगुन, क्रिस्टियानो रोनाल्डो, किलियन एमबाप्पे, लुइस डियाज र मोहम्मद सलाह छन्।

‘प्लेयर अफ द म्याच’ अवार्डको उद्देश्य खेलको उत्कृष्ट खेलाडीलाई सम्मान गर्नु भए पनि यसको छनोट प्रक्रिया पूर्ण रूपमा समर्थकको मतदानमा आधारित भएकाले धेरै अवस्थामा लोकप्रियता नै निर्णायक बन्ने गरेको देखिन्छ। त्यसैले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र अवार्ड जित्ने खेलाडी एउटै नहुने अवस्था पटक–पटक देखिएको छ। यही कारणले विश्वकपको यो सम्मान अहिले पनि प्रशंसा र विवाद दुवैको विषय बनेको छ।

विश्वकप २०२६ मा ‘प्लेयर अफ द म्याच’ अवार्ड जित्ने खेलाडीको सूची यसप्रकार छ:

समूह चरण:

  • मेक्सिको २–० दक्षिण अफ्रिका — जुलियन किन्योनेस (मेक्सिको)
  • दक्षिण कोरिया २–१ चेक गणतन्त्र — ह्वाङ इन–बोम (दक्षिण कोरिया)
  • क्यानडा १–१ बोस्निया र हर्जेगोभिना — इस्माएल कोने (क्यानडा)
  • अमेरिका ४–१ पाराग्वे — फोलारिन बालोगुन (अमेरिका)
  • हैटी ०–१ स्कटल्यान्ड — जोन म्याकगिन (स्कटल्यान्ड)
  • अस्ट्रेलिया २–० टर्की — नेस्टोरी इरानकुन्डा (अस्ट्रेलिया)
  • ब्राजिल १–१ मोरक्को — भिनिसियस जुनियर (ब्राजिल)
  • कतार १–१ स्विट्जरल्यान्ड — महमुद अबुनाडा (कतार)
  • आइभरी कोस्ट १–० इक्वेडर — यान डियोमान्डे (आइभरी कोस्ट)
  • जर्मनी ७–१ कुरासाओ — काइ हाभर्ट्स (जर्मनी)
  • नेदरल्यान्ड्स २–२ जापान — भर्जिल भान डाइक (नेदरल्यान्ड्स)
  • स्विडेन ५–१ ट्युनिसिया — अलेक्जान्डर इसाक (स्विडेन)
  • साउदी अरेबिया १–१ उरुग्वे — फेडेरिको भाल्भेर्डे (उरुग्वे)
  • स्पेन ०–० केप भर्डे — भोजिन्हा (केप भर्डे)
  • इरान २–२ न्युजिल्यान्ड — रामिन रेजाएयान (इरान)
  • बेल्जियम १–१ इजिप्ट — इमाम आशुर (इजिप्ट)
  • फ्रान्स ३–१ सेनेगल — माइकल ओलिसे (फ्रान्स)
  • इराक १–४ नर्वे — एर्लिङ हालान्ड (नर्वे)
  • अर्जेन्टिना ३–० अल्जेरिया — लियोनेल मेस्सी (अर्जेन्टिना)
  • अस्ट्रिया ३–१ जोर्डन — अली ओल्वान (जोर्डन)
  • घाना १–० पानामा — एन्टोइन सेमेन्यो (घाना)
  • इङ्ग्ल्यान्ड ४–२ क्रोएसिया — ह्यारी केन (इङ्ग्ल्यान्ड)
  • पोर्चुगल १–१ डीआर कङ्गो — जोआओ नेभेस (पोर्चुगल)
  • उज्बेकिस्तान १–३ कोलम्बिया — लुइस डियाज (कोलम्बिया)
  • चेक गणतन्त्र १–१ दक्षिण अफ्रिका — लाडिस्लाभ क्रेइची (चेक गणतन्त्र)
  • स्विट्जरल्यान्ड ४–१ बोस्निया र हर्जेगोभिना — जोहान मानजाम्बी (स्विट्जरल्यान्ड)
  • क्यानडा ६–० कतार — जोनाथन डेभिड (क्यानडा)
  • मेक्सिको १–० दक्षिण कोरिया — लुइस रोमो (मेक्सिको)
  • ब्राजिल ३–० हैटी — भिनिसियस जुनियर (ब्राजिल)
  • स्कटल्यान्ड ०–१ मोरक्को — इस्माइल साइबारी (मोरक्को)
  • टर्की ०–१ पाराग्वे — माटियास गालार्सा (पाराग्वे)
  • अमेरिका २–० अस्ट्रेलिया — फोलारिन बालोगुन (अमेरिका)
  • जर्मनी २–१ आइभरी कोस्ट — डेनिज उन्डाभ (जर्मनी)
  • इक्वेडर ०–० कुरासाओ — एलोय रुम (कुरासाओ)
  • नेदरल्यान्ड्स ५–१ स्विडेन — कोडी गाक्पो (नेदरल्यान्ड्स)
  • ट्युनिसिया ०–४ जापान — आयासे उएदा (जापान)
  • उरुग्वे २–२ केप भर्डे — केभिन पिना (केप भर्डे)
  • स्पेन ४–० साउदी अरेबिया — मिकेल ओयारजाबाल (स्पेन)
  • बेल्जियम ०–० इरान — अलिरेजा बेरानभान्द (इरान)
  • न्युजिल्यान्ड १–३ इजिप्ट — मोहम्मद सलाह (इजिप्ट)
  • नर्वे ३–२ सेनेगल — एर्लिङ हालान्ड (नर्वे)
  • फ्रान्स ३–० इराक — किलियन एमबाप्पे (फ्रान्स)
  • अर्जेन्टिना २–० अस्ट्रिया — लियोनेल मेस्सी (अर्जेन्टिना)
  • जोर्डन १–२ अल्जेरिया — इब्राहिम माजा (अल्जेरिया)
  • इङ्ग्ल्यान्ड ०–० घाना — जुड बेलिङ्घम (इङ्ग्ल्यान्ड)
  • पानामा ०–१ क्रोएसिया — क्रिस्टियन मार्टिनेज (पानामा)
  • पोर्चुगल ५–० उज्बेकिस्तान — क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
  • कोलम्बिया १–० डीआर कङ्गो — डानियल मुन्योस (कोलम्बिया)
  • स्कटल्यान्ड ०–३ ब्राजिल — भिनिसियस जुनियर (ब्राजिल)
  • मोरक्को ४–२ हैटी — अश्राफ हाकिमी (मोरक्को)
  • स्विट्जरल्यान्ड २–१ क्यानडा — जोहान मानजाम्बी (स्विट्जरल्यान्ड)
  • बोस्निया र हर्जेगोभिना ३–१ कतार — केरिम अलाजबेगोभिच (बोस्निया र हर्जेगोभिना)
  • चेक गणतन्त्र ०–३ मेक्सिको — माटेओ चाभेज (मेक्सिको)
  • दक्षिण अफ्रिका १–० दक्षिण कोरिया — थापेलो मासेको (दक्षिण अफ्रिका)
  • कुरासाओ ०–२ आइभरी कोस्ट — निकोलस पेपे (आइभरी कोस्ट)
  • इक्वेडर २–१ जर्मनी — निल्सन आङ्गुलो (इक्वेडर)
  • जापान १–१ स्विडेन — एन्थोनी एलाङ्गा (स्विडेन)
  • ट्युनिसिया १–३ नेदरल्यान्ड्स — ब्रायन ब्रोबे (नेदरल्यान्ड्स)
  • टर्की ३–२ अमेरिका — अर्दा गुलर (टर्की)
  • पाराग्वे ०–० अस्ट्रेलिया — एडेन ओ’निल (अस्ट्रेलिया)
  • नर्वे १–४ फ्रान्स — उस्मान डेम्बेले (फ्रान्स)
  • सेनेगल ५–० इराक — पापे गेये (सेनेगल)
  • इजिप्ट १–१ इरान — रामिन रेजाएयान (इरान)
  • न्युजिल्यान्ड १–५ बेल्जियम — लिएन्ड्रो ट्रोसार्ड (बेल्जियम)
  • केप भर्डे ०–० साउदी अरेबिया — डेरोय डुआर्टे (केप भर्डे)
  • उरुग्वे ०–१ स्पेन — एलेक्स बाएना (स्पेन)
  • पानामा ०–२ इङ्ग्ल्यान्ड — जुड बेलिङ्घम (इङ्ग्ल्यान्ड)
  • क्रोएसिया २–१ घाना — पेटार सुचिच (क्रोएसिया)
  • अल्जेरिया ३–३ अस्ट्रिया — रियाद महरेज (अल्जेरिया)
  • जोर्डन १–३ अर्जेन्टिना — जियोभानी लो सेल्सो (अर्जेन्टिना)
  • कोलम्बिया ०–० पोर्चुगल — डियोगो कोस्टा (पोर्चुगल)
  • डीआर कङ्गो ३–१ उज्बेकिस्तान — योआने विस्सा (डीआर कङ्गो)

अन्तिम ३२:

  • दक्षिण अफ्रिका ०–१ क्यानडा — स्टेफेन युस्टाकियो (क्यानडा)
  • जर्मनी १–१ पाराग्वे (पेनाल्टी ३–४) — ओरलान्डो गिल (पाराग्वे)
  • नेदरल्यान्ड्स १–१ मोरक्को (पेनाल्टी २–३) — इस्सा डियोप (मोरक्को)
  • ब्राजिल २–१ जापान — कासेमिरो (ब्राजिल)
  • फ्रान्स ३–० स्विडेन — किलियन एमबाप्पे (फ्रान्स)
  • आइभरी कोस्ट १–२ नर्वे — एन्टोनियो नुसा (नर्वे)
  • मेक्सिको २–० इक्वेडर — जुलियन किन्योनेस (मेक्सिको)
  • इङ्ग्ल्यान्ड २–१ डीआर कङ्गो — ह्यारी केन (इङ्ग्ल्यान्ड)
  • अमेरिका २–० बोस्निया र हर्जेगोभिना — मालिक टिलम्यान (अमेरिका)
  • बेल्जियम ३–२ सेनेगल (अतिरिक्त समय) — युरी टिलेमान्स (बेल्जियम)
  • पोर्चुगल २–१ क्रोएसिया — क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
  • स्पेन ३–० अस्ट्रिया — लामिन यामाल (स्पेन)
  • स्विट्जरल्यान्ड २–० अल्जेरिया — ब्रिल एम्बोलो (स्विट्जरल्यान्ड)
  • अर्जेन्टिना ३–२ केप भर्डे (अतिरिक्त समय) — लियोनेल मेस्सी (अर्जेन्टिना)
  • कोलम्बिया १–० घाना — लुइस डियाज (कोलम्बिया)
  • अस्ट्रेलिया १–१ इजिप्ट (पेनाल्टी २–४) — मोहम्मद सलाह (इजिप्ट)

अन्तिम १६:

  • क्यानडा ०–३ मोरक्को — अज्जेदिन उनाही (मोरक्को)
  • पाराग्वे ०–१ फ्रान्स — ओरलान्डो गिल (पाराग्वे)
  • ब्राजिल ०–२ नर्वे — एर्लिङ हालान्ड (नर्वे)
  • मेक्सिको २–३ इङ्ग्ल्यान्ड — जुड बेलिङ्घम (इङ्ग्ल्यान्ड)
  • पोर्चुगल ०–१ स्पेन — रोड्री (स्पेन)
  • अमेरिका १–४ बेल्जियम — चार्ल्स डे केटेलाएर (बेल्जियम)
  • अर्जेन्टिना ३–२ इजिप्ट — लियोनेल मेस्सी (अर्जेन्टिना)
  • स्विट्जरल्यान्ड ०–० कोलम्बिया (पेनाल्टी ४–३) — ग्रेगोर कोबेल (स्विट्जरल्यान्ड)

क्वार्टरफाइनल:

  • फ्रान्स २–० मोरक्को — किलियन एमबाप्पे (फ्रान्स)
  • स्पेन २–१ बेल्जियम — लामिन यामाल (स्पेन)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप