एप्पल र ओपनएआईबिच कानुनी युद्ध : गोप्य सूचना र प्रविधि चोरी गरेको आरोपमा मुद्दा दर्ता
सारांश
- एप्पलले आफ्ना पूर्वकर्मचारीहरूलाई काममा राखेर ओपनएआईले बहुमूल्य आन्तरिक सूचनाहरूमा पहुँच बनाएको आरोप लगाएको छ।
- एप्पलले गोप्य उत्पादन विकास र कार्यहरूमा ओपनएआईले 'चोरीको शैली' अपनाएको दाबी गर्दै दुई पूर्वकर्मचारी र आईओ प्रोडक्ट्स विरुद्ध मुद्दा हालेको छ।
- ओपनएआईले आरोपको समीक्षा गरिरहेको र नवीन प्रविधिको निर्माणमा केन्द्रित रहेको बताएको छ।
न्युयोर्क । एप्पलले आफ्ना पूर्वकर्मचारीहरूलाई काममा राखेर ओपनएआईले बहुमूल्य आन्तरिक सूचनाहरूमा पहुँच बनाएको आरोप लगाएको छ।
शुक्रबार दर्ता गरिएको एक संघीय मुद्दामा एप्पलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआई, त्यसका दुई कर्मचारी र ‘आईओ प्रोडक्ट्स’ विरुद्ध मुद्दा हालेको हो।
एप्पलले आफ्नो गोप्य उत्पादन विकास र त्यससँग सम्बन्धित कार्यहरूमा ओपनएआईले ‘चोरीको शैली’ अपनाएको दाबी गरेको छ। एप्पल छाडेर ओपनएआईमा आबद्ध भएका कम्तीमा दुई जना पुराना कर्मचारीले एप्पलका आन्तरिक सूचनाहरू आफ्नै इमेलमा पठाएर यस किसिमको चोरीमा सहयोग गरेको आरोप लगाइएको छ।
ओपनएआईका प्रवक्ता ड्रिउ पुसातेरीले बीबीसीसँग कुरा गर्दै आफूहरूलाई अन्य कम्पनीका व्यापारिक गोपनीयतामा कुनै चासो नरहेको बताएका छन्। उनले ओपनएआईले एप्पलको उजुरीको समीक्षा गरिरहेको र कम्पनी विश्वभरका मानिसहरूलाई सशक्त बनाउने नवीन प्रविधिको निर्माणमा केन्द्रित रहेको थपेका छन्। अर्कातर्फ, एप्पलका प्रवक्ताले भने पर्याप्त प्रमाण फेला परेपछि मात्र यो मुद्दा दर्ता गरिएको स्पष्ट पारेका छन्।
यस कानुनी लडाइँले लोकप्रिय एआई च्याटबोट च्याटजिपिटीको निर्माता ओपनएआई र एप्पलबिचको सम्बन्धमा ठुलो बदलाव ल्याएको छ। एप्पलका निवर्तमान सीईओ टिम कुकले आफ्नो उपकरणहरूमा बढी एआई सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ च्याटजिपिटीलाई एप्पलका डिभाइसमा एकीकृत गरेका थिए।
तर, यसै वर्ष एप्पलले आफ्ना धेरैजसो एआई सुविधाहरू गुगलको जेमिनी मोडल र टुल्समा स्थानान्तरण गरेको छ। गत अप्रिलमा कुकले पदत्याग गर्ने घोषणा गर्दा ओपनएआईका सह–संस्थापक एवं सीईओ साम अल्टम्यानले उनलाई ‘एउटा लिजेन्ड’ भन्दै सार्वजनिक रूपमा प्रशंसा गरेका थिए।
अहिले एप्पलले ओपनएआईमाथि आफ्नो गोप्य जानकारी निकाल्ने रणनीति बनाएको आरोप लगाएको छ। ओपनएआईका साथै एप्पलले आफ्ना पुराना कार्यकारी जोनी इभद्वारा स्थापित डिजाइन स्टार्टअप ‘आईओ प्रोडक्ट्स’ विरुद्ध पनि मुद्दा हालेको छ, जसलाई ओपनएआईले गत वर्ष मात्र किनेको थियो।
त्यस्तै, एप्पलमा आठ वर्ष काम गरेका वरिष्ठ इलेक्ट्रिकल इन्जिनियर चाङ लिउ र आईफोन तथा एप्पल वाचको डिजाइन उपाध्यक्षका रूपमा २४ वर्ष बिताएका ट्याङ येउ ट्यानविरुद्ध पनि मुद्दा दायर गरिएको छ। ट्यान अहिले ओपनएआईका प्रमुख हार्डवेयर अधिकारी हुन्।
एप्पलका अनुसार यी पूर्वकर्मचारीहरूको संवेदनशील परियोजना, विश्वासिला साझेदारसँगको सम्बन्ध, उत्पादन प्रविधि र सार्वजनिक नभएका उत्पादनहरूमा पहुँच थियो। सोही माध्यमबाट ओपनएआईले एप्पलको उत्पादन योजना र सञ्चालनका विवरणहरू सङ्कलन गरेको आरोप छ।
एप्पलले ओपनएआईमा अन्तर्वार्ता दिने क्रममा आफ्ना वर्तमान कर्मचारीहरूबाट समेत थप जानकारी निकाल्ने प्रयास गरिएको दाबी गरेको छ। अन्तर्वार्ताका क्रममा आवेदकहरूलाई एप्पलका ‘वास्तविक पार्टपुर्जाहरू’ प्रदर्शनका लागि लिएर आउन भनिएको आरोप समेत लगाइएको छ।
एप्पलले विपक्षीहरूले उपभोक्ता हार्डवेयर बजारमा प्रवेश गर्ने ओपनएआईको प्रयासलाई अगाडि बढाउन संगठित रूपमा एप्पलको गोप्य जानकारीको दुरुपयोग गरेको आरोप लगाएको छ। ओपनएआईले यसै महिना आफ्नो एआई औजारहरूसँग प्रयोग हुने एक प्रकारको किबोर्ड बजारमा ल्याएर हार्डवेयर क्षेत्रमा पाइला टेक्ने तयारी गरिरहेको छ। साथै कम्पनीले आफूलाई पब्लिक लिमिटेड बनाउने योजना पनि बनाएको छ।
एप्पलले आफ्नो मुद्दामा ओपनएआईको नेतृत्वबाटै यस्तो गलत आचरणलाई सामान्यीकरण गरिएकाले उसको नयाँ हार्डवेयर व्यवसाय अवैध रूपमा प्राप्त व्यापारिक गोपनीयतामा टिकेको र यो भित्रैदेखि मक्किएको दाबी गरेको छ। गत फेब्रुअरीमा यस विषयमा ओपनएआईसँग कुरा गर्ने प्रयास गरे पनि त्यसलाई पूर्ण रूपमा बेवास्ता गरिएको एप्पलको भनाइ छ।
एप्पलले अदालतसँग ओपनएआईलाई आफ्ना गोप्य जानकारीहरू प्राप्त गर्न वा प्रयोग गर्न तत्काल रोक लगाउन माग गर्दै क्षतिपूर्तिको दाबी समेत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण