आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा

साम्पाङको अपिल– ‘यो बालकलाई जोगाऊ नेपाली हो’
आइतबार, २८ असार २०८३, ११ : ३८
आइतबार, २८ असार २०८३

सारांश

  • कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीले विपत्ति थपिदिएपछि जेब्रा झोला बोकेर हिँडिरहेको बालकको तस्बिर रातोपाटीले सार्वजनिक गरेको छ ।
  • श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सोही तस्बिर साझा गर्दै ती बालकलाई व्यक्तिगत तर्फबाट रु. ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
  • साम्पाङले सुकुम्बासीको विषयलाई राजनीतिक बहससँग जोड्दै वर्तमान सरकारको आलोचना गरेका छन् र बालबालिकाको भविष्य जोगाउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँ । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका काठमाडौँका सुकुम्बासी परिवारमाथि शनिबार मध्यराति आएको बाढीले विपत्ति थपिदियो । बाढी होल्डिङ सेन्टरमा परेसँगै त्यहाँबाट सुरिक्षत स्थानतिर लाग्ने क्रममा एउटा सानो बालकले काँधमा जेब्रा झोला बोकेर हिँडिरहेको दृश्य रातोपाटीले सार्वजनिक गरेपछि त्यो तस्बिरले धेरैको ध्यान खिचेको छ।

सोही तस्बिर फेसबुकमा साझा गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले ती बालकलाई आफ्नो व्यक्तिगत तर्फबाट रु. ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
साम्पाङले लेखेका छन्, ‘यो बालकलाई मैले मेरो व्यक्तिगत तर्फबाट रु. ५० हजार सहयोग गर्ने भएँ। तिमीलाई यो सरकारले दिएको चोटमा मेरो तर्फबाट सानो मलमपट्टी।’

उनले बालकको अवस्थाप्रति दुःख व्यक्त गर्दै आफूले पीडामा साथ दिन नसके पनि सानो सहयोगमार्फत साथ दिन चाहेको उल्लेख गरेका छन्।

अर्को लामो फेसबुक स्टाटसमा साम्पाङले सुकुम्बासी र अव्यवस्थित बसोबासीको विषयलाई राजनीतिक बहससँग जोड्दै वर्तमान सरकारको आलोचना गरेका छन्। आफू धरानको मेयर हुँदा सुकुम्बासी बस्तीमा घर नम्बर वितरण, नाली निर्माण, घर मर्मतका लागि बजेट तथा आर्थिक सहयोगजस्ता काम गरेको दाबी गर्दै उनले अहिलेको सरकारले भने सुकुम्बासीलाई बेघर बनाएको आरोप लगाए।

उनले लेखेका छन्, ‘यो बालक र यस्ता हजारौँ लाखौँ बालकका भविष्य नै यो देशको भविष्य हो । देश जोगाउने हो भने यस्ता बालबालिकाका भविष्य जोगाउनु पर्छ।’

साम्पाङले तस्बिरमा देखिएको बालकले बोकेको झोलातर्फ संकेत गर्दै भावुक शैलीमा लेखेका छन्, ‘यो बालकले त्यो जेब्रा झोलामा जे बोकेका होलान् ? किताब ? कि चामल ? कि लुगा ? भविष्यको सपना त बोकेको छैन कतै ? मलाई लाग्छ, त्यो जेब्रा झोलामा यो देश बनाउने सपना नै होला।’

उनले  सबैलाई आग्रह गर्दै लेखेका छन्, ‘यो बालकलाई जोगाऊ नेपाली हो...यो बालकलाई बचाऊ। त्यो झोलामा देश बनाउने र बचाउने सपना होला।’

तस्बिर कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि आश्रित परिवार विस्थापित हुने क्रममा रातोपाटीले शनिबार खिचेर सार्वजनिक गरेको थियो। त्यसपछि सो तस्बिरलाई साम्पाङले पनि सेयर गर्दै आर्थिक सहयोगको घोषणा गरेका हुन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप