कम्युनिस्टहरूलाई किन गाली गर्दैछन् ट्रम्प ?
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यकालीन निर्वाचन नजिकिँदै गर्दा 'कम्युनिस्ट खतरा' को नारालाई आफ्नो राजनीतिक हतियार बनाएका छन्।
- ट्रम्पले डेमोक्र्याटहरूलाई कम्युनिस्ट भएको आरोप लगाइरहेका छन्, तर यसले खासै प्रभाव पारेको छैन किनकि अधिकांश अमेरिकीहरू डेमोक्र्याटहरूको सामाजिक मुद्दामा समर्थन गर्छन्।
- विगतमा 'कम्युनिस्ट' शब्दको प्रयोगले त्रास सिर्जना गरेर राजनीतिक लाभ लिने चलन थियो, तर वर्तमान पुस्तामा समाजवादप्रति सकारात्मक भावना बढ्दै गएकाले ट्रम्पको यो रणनीति असफल हुने देखिन्छ।
अमेरिका अहिले ‘मिडटर्म’ अर्थात् मध्यकालीन निर्वाचनको सँघारमा छ । यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जनमतलाई आफ्नो पक्षमा पार्नका लागि आवश्यक पर्ने विकल्प र भाष्य सकिँदै गएका छन् । त्यसैले अहिले उनी ‘कम्युनिस्ट खतरा’बारे कुरा गर्न थालेका छन् ।
उनी आजका दिन अर्थतन्त्रबारे ठुलो कुरा गर्न सक्दैनन् किनभने ज्यालाभन्दा छिटो मूल्य बढिरहेको छ । अर्थात् अधिकांश अमेरिकीहरू दिन प्रतिदिन गरिब हुँदै गएका छन् । उनी विदेश नीतिबारे पनि कुरा गर्न सक्दैनन् किनभने उनले थालेको इरान युद्ध पराजयको बाटोमा छ ।
उनले लगाएका भन्सार महसुलहरू नराम्रोसँग असफल भएका छन् । कार्यकाल सम्हालेको पहिलो दिन नै युक्रेन युद्ध अन्त्य गर्ने घोषणा अझै पनि लागु हुन सकेको छैन । आप्रवासीहरूबारे पनि उनले अब केही भन्न सक्ने अवस्था छैन । उनले ठुलो सङ्ख्यामा आप्रवासीहरूलाई लक्षित गरेर छापा मार्ने तथा उनीहरूलाई आफ्नो मुलुक फर्काउने कदम पनि असाध्यै अलोकप्रिय बनेको छ ।
ट्रम्प असमञ्जसमा छन् । अब मध्यकालीन निर्वाचन के भनेर सामना गर्ने ? कुन मुद्दा बाँकी रह्यो त ?
अब उनी दक्षिणपन्थीहरूको पुरानो चलनमा फर्किएका छन् । अर्थात् ‘डेमोक्र्याट’हरू अझ विशेषगरी उदाउँदो नवयुवा पुस्ता तथा सशक्त डेमोक्र्याटिक राजनीतिज्ञहरूको पङ्क्तिलाई कम्युनिस्ट भएको आरोप लगाउन थालेका छन् ।
केही दिन अघि अमेरिकाको २५०औँ स्थापना दिवस सम्पन्न भयो । माउन्ट रसमोरमा चलेको कार्यक्रमको सुरुवातमै ट्रम्पले अमेरिकी संस्कृतिको बखान गर्नुका साथै अमेरिकामा ‘कम्युनिस्ट खतरा’को पुनरोदयबारे सजग गराउने प्रयास गरे ।
चार जना पूर्वराष्ट्रपतिको शालिक अगाडि उनले आफूले ‘चरमपन्थी’ तथा ‘उग्रवादी’ भनेकाहरूलाई निशाना बनाए ।
आफ्नो मन्तव्यको क्रममा उनले भनेका थिए, ‘हाम्रो भूमिमा अहिले कम्युनिस्ट खतरा पुनः बढ्न थालेको छ । त्यस्तो खतरा हाम्रो देशमा आएका नवआगन्तुकहरूबाट पनि छ, जसको विचार हाम्रो जीवनशैली र हामीले हासिल गरेको महान् सफलतासँग पूर्णतः विपरीत छ । तपाईं कम्युनिस्ट हुन सक्नुहुन्छ वा देशभक्त हुन सक्नुहुन्छ । तर दुवै एकै पटक हुन सक्नुहुन्न ।’
हैट !
ट्रम्प वर्षौँदेखि अमेरिकीहरूलाई डेमोक्र्याटबाट त्रसित बनाउने प्रयासमा छन् । धेरै डेमोक्र्याट सबैलाई स्वास्थ्य सेवा पुर्याउनेगरी ‘मेडिकेयर फर अल’को कुरा गर्छन् । सबै बालबालिकाको हेरचाहका लागि ‘युनिभर्सल चाइल्डकेयर’को कुरा गर्छन् । उच्च माध्यमिक तहसम्मको शिक्षा सबैलाई निःशुल्क बनाउनुपर्ने कुरा गर्छन् । अति धनाढ्यहरूलाई भारी मात्रामा कर लगाउनुपर्ने कुरा गर्छन् । यी सबै मुद्दा अहिलेका उदाउँदा युवा डेमोक्र्याटहरूले जोडतोड साथ उठाइरहेका छन् ।
ट्रम्पले डेम्क्र्याटहरूलाई गाली गर्दैमा केही फरक पार्न भने सकेका छैनन् । किनभने त्यस्ता मुद्दामा अधिकांश अमेरिकीको प्रस्ट समर्थन देखिन्छ । त्यसैले ट्रम्प अहिले जताततै गाली गलौज गर्ने, आरोप लगाउने तथा आक्रामक भएर बदनाम गर्न लाग्दा पो केही भइहाल्छ कि भन्ने ध्याउन्नमा छन् ।
पहिलो र दोस्रो विश्व युद्धपछि उदार र खुला सोच भएकाहरूलाई बदनाम गराउनु प¥यो भने ‘कम्युनिस्ट’को ठप्पा लगाइदिने चलन थियो । अमेरिकामा कसैलाई ‘कम्युनिस्ट’ शब्द प्रयोग गरेपछि उनीहरूमाथि खानतलास गर्न वा उनीहरूको व्यवसायिक जीवन नै समाप्त पार्ने बाटो खुल्थ्यो ।
यही शब्द र त्यसले सिर्जना गर्ने आतङ्कको सहारामा सन् १९५०को दशकमा तत्कालीन सिनेटर जोए म्याक्कार्थी शक्तिशाली एवं डरलाग्दो व्यक्तित्व बनेका थिए । उनको डरलाग्दो शासनकाललाई म्यार्थिजम भन्ने गरिन्थ्यो ।
उनले धेरै अमेरिकीहरूलाई ‘संदिग्ध’ कम्युनिस्टहरूको नाम सार्वजनिक गर्न दबाब दिएका थिए । साथै कम्युनिस्टको आशङ्का गरिएका व्यक्तिहरूको प्रतिरक्षा गर्न खोज्ने उदारवादीहरूलाई सार्वजनिक रूपमा घोचपेचसमेत गरेका थिए ।
कम्युनिस्ट र समलिङ्गीहरूलाई आलोचनाभन्दा पर राख्ने गरेको भन्दै उनीहरूलाई नक्कली उदारवादी भनेर उडाउने गरेका थिए ।
दोस्रो विश्वयुद्धपछि रिपब्लिकन पार्टीले ‘न्यू डिल’ खारेज गर्ने प्रयत्न थाल्यो । यही प्रयत्नकै परिणामस्वरुप म्याक्कार्थीवाद उदाएको थियो । रिपब्लिकन पार्टीले सन् १९४६को मध्यकालीन निर्वाचनलाई ‘रिपब्लिकन र कम्युनिस्टहरूबिचको लडाइँ’का रूपमा अर्थ्याएको थियो । रिपब्लिकन पार्टीको राष्ट्रिय समितिका अध्यक्षले त संघीय कर्मचारीतन्त्रमा ‘पिंक पपेटहरू’ भरिएको समेत भनेका थिए ।
वामपन्थीहरूलाई गालीगलौज गर्ने त्यो अभियानमा अमेरिकाको दक्षिणी प्रान्तहरूका नश्लभेद समर्थक डेमोक्र्याटहरू पनि मिसिन पुगे । मिसिसिपी राज्यका सिनेटर तथा श्वेत सर्वोच्चतावादी समूहमा आवद्ध थियोडोर बिल्बोले भिडले गर्ने आक्रमणविरुद्ध बनाइएको कानुनको विरोधमा लामो समय सदनमा बोलेर (फिलबिस्टरिङ गरेर) अस्वीकृत गराउन सघाए ।
बहुजातीय श्रमिक संगठनहरूले नागरिक अधिकारहरूबारे गरेको पैरवीलाई ‘उत्तरी कम्युनिस्ट’हरूको काम भनेर कठोर आलोचना गर्ने गरेका थिए । त्यसैगरी मिसिसिपी राज्यकै डेमोक्र्याटिक पार्टी आबद्ध अर्का सांसद तथा जातिवादी एवं यहुदी निन्दकले संसदमा ‘गैर–अमेरिकी गतिविधि’ नियन्त्रण गर्ने समिति निर्माणमा सघाए । श्रमिक संगठनहरूका अभियानलाई ‘कम्युनिस्ट षड्यन्त्र’को आरोप लगाए ।
त्यस्तो अभियानले ‘काला जातिका जनतालाई मतदान अधिकार दिन सक्ने’ भन्दै खबरदारीसमेत गराए । उनले भनेका थिए, ‘हामी स्विचमाथि निदाएका छौँ । कम्युनिस्टहरूले हाम्रो मुलुक कब्जा गर्दैछन् । यदि आफ्नो मुलुक बचाउने हो भने हामीले उनीहरूलाई रोक्नै पर्छ ।’
कम्युनिस्टहरूको डर देखाउने काम केही समयका लागि सफल नै भएको थियो । सन् १९४६को मध्यकालीन निर्वाचनमा डेमोक्र्याटहरूले अमेरिकी संसद् (कंग्रेस) को दुवै तहमा आफ्नो नियन्त्रण गुमाउन पुगे । जोए म्याक्कार्थी विस्कन्सिन प्रान्तबाट सिनेटमा आए ।
क्यालिफोर्नियाले एक जना युवा रिपब्लिकनलाई प्रतिनिधिको रूपमा चुन्यो । उनी युवा वामपन्थीहरूलाई घृणा गर्न र गालीलाई राजनीतिक हतियार बनाउन माहिर थिए । तिनको नाम रिचर्ड निक्सन हो । लगत्तै चार वर्षपछि उनी सिनेटको सदस्य चुनिए ।
ट्रम्पको सुरुवाती राजनीतिक सम्झनामा जोए म्याकार्थीको वामपन्थीप्रतिको आक्रामक रवैयाको झलक देख्न सकिन्छ । ट्रम्प र म एउटै उमेरका हौँ । मेरो वाल्यकालीन सम्झनामा त्यही वामपन्थ विरोधी आतङ्क छ ।
सन् १९४५को जुन ९ मा म र मेरो बुवा हाम्रो घरको बैठक कोठामा बसेर सेना र म्याक्कार्थीबिचको सुनुवाइ हेरेका थियौँ । म्याक्कार्थीले अमेरिकी सेनालाई अति गोप्य र संवेदनशील क्षेत्रको सुरक्षा गर्न नसकेको आरोप लगाइरहेका थिए । उनको निशाना कम्युनिस्टहरूप्रति लक्षित देखिन्थ्यो ।
सेनाको प्रतिनिधित्व गरिरहेका जोसेफ वेल्चको स्टाफ टोलीका सदस्य रहेका एक जना युवा न्यायाधिवक्तालाई त उनले सोझै ‘कम्युनिस्ट’ भनिदिए । तिनताका कम्युनिस्ट हुनु भनेको अहिलेको आतंकवादी हुनु जस्तै अवस्था थियो । त्यस्तो आरोपले ती युवाको पूरै व्यावसायिक जीवन नै ध्वस्त हुन सक्थ्यो ।
टेलिभिजनमा म्याक्कार्थीको व्यवहार हेरिरहनु भएको मेरो बुवा एक्कासि असाध्यै अश्लिल शब्दमा (...) चिच्याउनु भयो । मलाई असहज भएर म अर्कोतिर फर्कें ।
म्याक्कार्थीको आक्रमण निरन्तर चलिरहेपछि ती युवा न्यायाधिवक्तालाई असैह्य भएर बोले ‘सिनेटर महोदय, तपाईंको निर्दयी तथा जथाभावी व्यवहार यो हदसम्म पुग्छ भन्ने सोचेको समेत थिइनँ ।’
म त्यसबेला जम्मा ८ वर्षको थिएँ । यो सबै दृश्य देख्दा म अवाक भएँ । म्याक्कार्थी भने रोकिएकै थिएनन् ।
बुवा फेरि चिच्याउनु भयो । यसपटक उहाँको स्वर झनै चर्को थियो ।
वेल्चले अब भने म्याक्कार्थीले पनि उनको कुरा सुन्नुपर्ने माग गर्न थाले । ‘सिनेटर महोदय, यो युवाको करियर नै खत्तम पार्ने काम नगरौँ ।’ उनले थपे, ‘तपाईंले त अति नै गर्नु भयो । तपाईंमा विनम्रताको लेशमात्र अंश पनि छ कि छैन ?’
करिब रातभरि नै म्याक्कार्थी आक्रामक बनिरहे । वेल्चले अमेरिकी जनताको विनम्रताको विषय उठाएका थिए । त्यो सुनुवाइको घटनापछि म्याक्कार्थीको राष्ट्रिय लोकप्रियता खत्तम भयो । त्यसको तीन वर्षपछि सिनेटका समकक्षीहरूले उनका गतिविधिमा सेन्सर गर्न थाले ।
उनको आफ्नै पार्टीले पनि धकेलेर निकाल्न लाग्यो । साथै मिडियाले पनि भाउ दिन छोडेपछि उनी अत्यधिक मदिरा सेवनतर्फ लागे । अन्ततः ४८ वर्षको अल्पायुमै उनी बिते ।
मैले बाल्यकालमा हेरेका त्यस्ता खाले सुनुवाइहरूमा म्याक्कार्थीका मुख्य सल्लाहकार रोय कोन हुन्थे । उनले न्याय मन्त्रालयको न्याधिवक्ताका रूपमा ख्याति कमाएका थिए । उनले त्यहाँ रहँदा जुलियस एवं एथेल रोसेनवर्गले जासुसी गरेको मामलामा मुद्दा चलाएका थिए । जसका कारण उनीहरूलाई सन् १९५३मा मृत्युदण्डको सजाय दिइएको थियो ।
म्याक्कार्थीको पतन पश्चात कोनले आफूलाई न्यूयोर्कको पावर ब्रोकरका रूपमा अघि बढाए । त्यसक्रममा उनलाई विभिन्न आरोप लागे । कर छली, घुसखोरी, चोरी लगायत अनेक आरोपबाट गुज्रदै उनी अन्तिममा ट्रम्पको गुरु बन्न आइपुगे ।
ट्रम्पले आफूसँग कुनै विकल्प नहुँदाको अवस्थामा ‘कम्युनिस्ट खतरा’ को कुरा गर्न थाल्नुका पछाडिको कारण पनि उनको यही सम्बन्ध हो ।
अहिले ट्रम्पको समस्या के हो भने उनले कमजोर बनाउन खोजेका डेमोक्र्याटिक पार्टीका चर्चित हस्तीहरूको कम्युनिस्ट विचारधारसँग कुनै लेना–देना छैन । अहिले नाम चलेकाहरूको पनि समाजवादसँग खासै सम्बन्ध छैन ।
जोहरान ममदानी, अलेक्जेन्ड्रिया ओकासियो कोर्टेज, केटी विल्सन, मेलाट काइरोस लगायत दर्जनौँ अन्य नेता अचेल लोकप्रिय छन् । उनीहरू अमेरिकाभित्रको कर्पोरेट जगत तथा धनको आडमा हुने राजनीतिक भ्रष्टाचारविरुद्ध बोल्छन् । अमेरिकी आम जनताको दैनन्दिन समस्या समाधानमा लाग्छन् । त्यसैले उनीहरूप्रति अमेरिकी युवामा आकर्षण बढेको देखिन्छ ।
अब कम्युनिस्ट भनेर लगाइने आरोपको सन्दर्भिकता पनि सकिएको छ । ‘एक्सियस–जेनेरेसन ल्याब’ले गरेको सर्भेक्षण अनुसार अहिले ६७ प्रतिशत अमेरिकी ‘समाजवाद’ शब्दप्रति सकरात्मक वा तटस्थ भावना राख्छन् । उता ‘पुँजीवाद’बारे भने केवल ४० प्रतिशतले मात्रै सकरात्मक वा तटस्थ भावना राख्ने गरेको तथ्य सार्वजनिक भएको छ ।
काटो इन्स्टिच्युटले गरेको राष्ट्रिय सर्वेक्षण अनुसार जेनजी पुस्ताका ५३ प्रतिशत अमेरिकी समाजवादप्रति सकारात्मक छन् भने पुँजीवादप्रति समर्थन गर्नेको संख्या जम्मा ४५ प्रतिशतमात्रै छ ।
पुँजीवादप्रति जेनजी पुस्ता भ्रममुक्त भएकाबारे म पनि केही बुझ्न सक्छु । उनीहरू अहिले आफ्नै घर खरिद गर्न सक्ने अवस्थामा छैनन् । स्वास्थ्य बीमा खरिद गर्न उनीहरूलाई धौ–धौ छ । रोजगारीको क्षेत्र कहालीलाग्दो छ । बिहे गरेर परिवार सुरु गर्न पनि धेरै ठुलो सकस छ । पुँजीवाद वा हामीले जुनसुकै नाम दिएता पनि विद्यमान व्यवस्थाले उनीहरूलाई निरन्तर असफल बनाइरहेको छ । अमेरिकाको भविष्य भनेको यिनै दुःखी, असफल र चिन्तित नौजवानहरू हुन् ।
यस्तो अवस्थामा ट्रम्पको वामपन्थविरोधी हल्लाखल्लाले आउँदो मध्यकालीन निर्वाचनमा रिपब्लिकन पार्टीलाई सघाउला भन्नेमा मलाई शंका छ ।
अमेरिकी शासन प्रणालीबारे सोचिरहेका अमेरिकीहरूलाई पक्कै पनि समाजवाद वा साम्यवाद भन्दा पनि ट्रम्पको नवफाँसीवादप्रति धेरै सरोकार भएको देखिन्छ । माथि उल्लेख गरिएकै काटो इन्स्टिच्युटले गरेको सर्भेक्षणले ५६ प्रतिशत अमेरिकी ‘आगामी ५० वर्षमा उच्च सरकारी अधिकारीहरूको भ्रष्टाचार एवं शक्ति दुरुपयोगले देशको उदार र स्वतन्त्र समाज’ नै नामेट हुने हो कि भन्ने ठान्छन् ।
पक्कै पनि ट्रम्प आफैँसँग कुनै विचारधारा छैन । उनलाई पुँजीवाद, समाजवाद वा साम्यवादसँग खासै सरोकार छैन । उनको दृढ विश्वास अर्कै सिद्धान्तमा छ । त्यो एउटा प्राचीन सिद्धान्त हो । त्यो हो– अतिशय आत्ममुग्धतवाद अर्थात ‘नार्सिसिजम’ । त्यो पनि असाध्यै विकृत स्वरूपको नार्सिसिजम । अर्थात ट्रम्पलाई केवल आफ्नैमात्रै चिन्ता छ ।
(रोबर्ट राइख/द गार्जियनबाट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट र शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, ६ बुँदे माग सम्बोधन गर्न सरकारलाई दबाब
-
सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड बजेट खर्च हुन सकेन, असारमै २७ प्रतिशत खर्च
-
इन्फा अवार्ड २०२६ : मदनकृष्णलाई लाइफ टाइम अवार्ड, उत्कृष्ट ५ मा को–को परे ?
-
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाद्वारा सरकारविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
स्ट्रेट अफ होर्मुज नजिक आगलागी भएको कन्टेनर जहाजका चालकदलको उद्धार
-
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्यो आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण