आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

भारतबाट कारमा लुकाएर ल्याइएको ३२९ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ

आइतबार, २८ असार २०८३, १४ : ५४
आइतबार, २८ असार २०८३

सारांश

  • लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले भारतबाट कारमा लुकाएर ल्याइएको ३२९ ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
  • विशेष सूचनाका आधारमा ललितपुरको हरिसिद्धिबाट सुरुमा अनिल श्रेष्ठलाई २९ ग्राम हेरोइनसहित पक्राउ गरिएपछि अनुसन्धानका क्रममा जाबेद आलम र बिकास भगतलाई थप ३०० ग्राम हेरोइनसहित पक्राउ गरिएको हो।
  • पक्राउ परेका तीन जनाबाट कुल ३२९ ग्राम खैरो हेरोइन, डिजिटल तराजु, नगद र मोबाइल सेट बरामद गरिएको छ।

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले भारतको सीमावर्ती बजार जोकवनीबाट निजी कारमा लुकाएर काठमाडौँ ल्याइएको ठूलो परिमाणको खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

 ब्युरोले विशेष सूचनाका आधारमा चलाएको अपरेसनका क्रममा ललितपुरको हरिसिद्धिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, सुरुमा असार २५ गते ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धिबाट धादिङ धुनिवेशीका ३८ वर्षीय अनिल श्रेष्ठलाई २९ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको थियो। 

श्रेष्ठमाथि गरिएको थप अनुसन्धान र सोधपुछका क्रममा यो गिरोहले भारतको जोकवनीबाट विराटनगर हुँदै काठमाडौँसम्म निजी गाडीमा लागुऔषध ओसारपसार गर्ने गरेको खुलेको हो।

सोही अनुसन्धानको सिलसिलामा ब्युरोको टोलीले असार २७ गते पुन: हरिसिद्धिबाटै मोरङका ३५ वर्षीय जाबेद आलम र सप्तरीका ३४ वर्षीय बिकास भगतलाई पक्राउ गर्न सफल भयो। उनीहरूको साथबाट थप ३०० ग्राम खैरो हेरोइन बरामद गरिएको छ। लागुऔषध ओसारपसारमा उनीहरूले बा.१७.च.८३७ नम्बरको डी प्रयोग गर्ने गरेको पाइएको छ।

प्रहरीले अभियुक्तहरूको साथबाट कुल ३२९ ग्राम खैरो हेरोइन, लागुऔषध तौलन प्रयोग गरिने एक थान डिजिटल तराजु, ३० हजार रुपैयाँ नगद र ४ थान मोबाइल सेट समेत बरामद गरेको छ। 

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले पक्राउ परेका तीनै जना विरुद्ध लागुऔषध मुद्दामा थप कानुनी कारबाही र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप