सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

कांग्रेसले ‘जरा अभियान’ साउन ६ गते समापन गर्ने

आइतबार, २८ असार २०८३, १५ : १९
आइतबार, २८ असार २०८३

सारांश

  • नेपाली कांग्रेसले आफ्नो संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ साउन ६ गते समापन गर्ने भएको छ।
  • अभियान अन्तर्गत क्रियाशील सदस्यता फारम वितरण र नयाँ क्रियाशील सदस्यहरूको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि साउन ३ गतेसम्मको समयावधि थप गरिएको छ।
  • यस अभियान मार्फत कांग्रेसले डिजिटल ‘कांग्रेस आईडी’ अनिवार्य गर्ने, क्रियाशील सदस्यता वडामै अद्यावधिक गर्ने र नयाँ सदस्यता वितरण गर्ने बताएको थियो, जसको इतर समूहले विरोध गरिरहेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो सङ्गठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ साउन ६ गते समापन गर्ने भएको छ। यो अभियानमा समेटिएका प्रावधानले कांग्रेसमा विवाद देखिएको थियो भने जसका कारण पार्टी फुटको संघारमा पुगेको नेताहरू बताउँछन् । 

पार्टीको केन्द्रीय कार्यालयले मातहतका प्रदेश, जिल्ला तथा पालिका कार्यसमितिलाई परिपत्र जारी गर्दै अभियान समापन गर्ने जानकारी गराएको हो।

पार्टी महामन्त्री प्रदीप पौडेलद्वारा जारी परिपत्र अनुसार, १५ औँ महाधिवेशनको कार्यतालिका अन्तर्गत क्रियाशील सदस्यता फारम वितरण र नयाँ क्रियाशील सदस्यहरूको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि साउन ३ गतेसम्मको समयावधि थप गरिएको छ। 

साउन ३ गतेसम्म युवा केन्द्रित विशेष अभियान अन्तर्गत जिल्ला र पालिकामा खटिएका केन्द्रीय प्रतिनिधिहरूको कार्यावधि साउन ३ गतेसम्म रहनेछ। यस अवधिभित्र क्रियाशील सदस्यता वितरण लगायतका कार्यहरू सम्पन्न गर्नुपर्ने परिपत्रमा उल्लेख छ । 
साउन ४ गते पालिकामा खटिएका प्रतिनिधिहरूले जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिसमक्ष आफ्नो प्रतिवेदन बुझाउनु पर्नेछ। र साउन ६ गते जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४४ औँ स्मृति दिवसको अवसर पारेर जिल्ला कार्यसमितिहरूको आयोजनामा व्यापक सहभागितासहित ‘जरा अभियान’ को औपचारिक समापन कार्यक्रम गर्ने महामन्त्री पौडेलले परिपत्रमा उल्लेख गरेका छन् । 

परिपत्रमा केन्द्रीय कार्यालयले ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधि, जिल्ला कार्यसमिति, ७५३ पालिकाका प्रतिनिधि र पालिका कार्यसमितिलाई यस अभियानका बाँकी कार्यहरू समयमै सम्पन्न गरी समापन कार्यक्रम सफलतापूर्वक आयोजन गर्न निर्देशन दिएको छ।

सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिकका लागि देशभरि जरा अभियान बैशाख १ गते सुरुवात गरेका थिए । सभापति थापाले बैशाख १ गते काठमाडौं महानगरपालिका–३० को वडा इकाई कार्यालयमा उपस्थित भएर क्रियाशील सदस्यता अध्यावधिक गरेसँगै अभियानको सुरु भएको थियो । 

अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको थियो । 
त्यो जरा अभियान मार्फत कांग्रेसले डिजिटल ‘कांग्रेस आईडी’ अनिवार्य गर्ने, क्रियाशील सदस्यता वडामै अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने बताएको थियो । 

त्यो विषयमा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले विरोध गरिरहेका छन् । 

पुराना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिकका लागि फारम भर्नुपर्ने, फोटो खिच्नु पर्ने प्रावधान लागु गरेकोमा इतर समूहले विरोध गरेको थियो । सबै क्रियाशील सदस्यहरूको वयक्तिक विवरण संकलनका लागि कांग्रेसले सदस्यता अद्यावधिकका क्रममा फारम भर्ने, फोटो खिच्ने अनिवार्य प्रावधान राखेकोमा देउवा र शेखर समूहले विरोध गरेका हुन् । 

उनीहरूले १५ औँ महाधिवेशनका लागि भन्दै गत पुस मसान्तसम्म नै क्रियाशील सदस्यता नवीकरण भइसकेको भन्दै उनीहरूलाई सदस्यता अध्यावधिक गर्न अनिवार्य गर्न नहुने बताइरहेको छन् । त्यही अडान राख्दै निवर्तमान सभापति देउवा, निवर्तमाका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. शशांक कोइराला, पूर्वसहमहामन्त्रीहरू डा.प्रकाशशरण महत, बद्री पाण्डे, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय डिनासहितका नेता तथा देउवा र डा. शखेर समूहका केन्द्रीय सदस्य, प्रदेश, जिल्ला, क्षेत्र र पालिकाका पदाधिकारी सदस्यता तथा कार्यकर्ताले सदस्यता अध्यावधिक गरेका छैनन् । 

यही विषयमा कुरा नमिल्दा पार्टी फुटको संघारमा पुगेको छ । देउवा समूहले वीपी स्मृति दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा छुट्टै कार्यक्रम गर्ने निर्णय गरिसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप