ढोरपाटन–तकसेरा सिधा सडक सञ्चालनमा
बागलुङ । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत जोडिएपछि दुई जिल्ला बिचको आवतजावत सहज भएको छ ।
गत फागुन १६ गते बागलुङको निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको मनिमर्फेस क्षेत्रमा सडकको ‘ट्रयाक’ जोडिएसँगै ढोरपाटन–तकसेरा सडक सञ्चालनमा आएको हो ।
नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा लामो समयदेखि रोकिएको सडक निर्माण कार्य ढोरपाटन सिकार आरक्ष कार्यालयबाट अनुमति प्राप्त भएपछि सम्पन्न भएको हो । सडक सञ्चालनमा आएपछि बागलुङको निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका तथा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका स्थानीयलाई आवतजावत र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ ।
ढोरपाटनका स्थानीय खुमबहादुर विश्वकर्माले सडक सञ्चालनसँगै वर्षौँदेखिको यात्राको कठिनाइ अन्त्य भएको बताए । उनका अनुसार यसअघि ढोरपाटनबाट तकसेरा पुग्न दिनभर पैदल हिँड्नुपर्थ्याे भने अहिले सवारी साधनमार्फत छोटो समयमै यात्रा गर्न सकिने भएको छ ।
उनले भने, “पुथा उत्तरगङ्गा र ढोरपाटनवासीबीच रोटीबेटीको सम्बन्ध छ । यो सडकले दुई जिल्लाका स्थानीयबीचको सम्बन्धलाई अझ बलियो बनाएको छ । व्यापारदेखि दैनिक आवत जावतसम्म सबै क्षेत्रमा सहजता आएको छ ।”
सडक सञ्चालनसँगै पश्चिम बागलुङ र पूर्वी रुकुमबीचको यात्रा दूरीसमेत छोटिएको छ । यसअघि बुर्तिवाङ बजारदेखि निसेलढोरसम्म सडक पुगे पनि त्यसभन्दा माथिको खण्ड निर्माण हुन नसक्दा सिधा सडक सम्पर्क स्थापित हुन सकेको थिएन । बुर्तिवाङदेखि ढोरपाटनसम्म ३१ किलोमिटर र ढोरपाटनदेखि तकसेरासम्म ३७ किलोमिटर दूरी रहेको छ ।
पुथा उत्तरगङ्गा गाउँपालिका–१ का थमबहादुर पुनका अनुसार यसअघि तकसेराका बासिन्दाले मध्यपहाडी लोकमार्ग हुँदै रुकुमको काँक्री भएर लामो दूरी पार गर्नुपर्ने बाध्यता थियो । अहिले ढोरपाटन–तकसेरा सडक सञ्चालनमा आएपछि तकसेरासहित आसपासका गाउँ सिधैँ बुर्तिवाङ बजारसँग जोडिएका छन् ।
ढोरपाटनदेखि सडकको ‘ट्रयाक’ खोल्न चालु आर्थिक वर्षमा ढोरपाटन नगरपालिकाले रु १२ लाख ५० हजार विनियोजन गरेको थियो । सोही बजेटबाट सडक निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ । सडक सञ्चालनसँगै तकसेराका स्थानीयलाई बागलुङ हुँदै पोखरा र काठमाडौँ पुग्न दूरी छोटिएको छ भने स्थानीय कृषि तथा पशुजन्य उत्पादनको बजारीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
---
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण