मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ
सारांश
- मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मार्कीचोक–भरतपुर खण्डको पहिलो सर्किट सफलतापूर्वक सञ्चालनमा आएको छ।
- हाल यस लाइनबाट करिब ८० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको छ।
- आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि करिब १,६०० मेगावाट विद्युत् प्रसारण गर्न सक्ने क्षमता रहनेछ।
काठमाडौँ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मार्कीचोक–भरतपुर खण्डको पहिलो सर्किट सफलतापूर्वक सञ्चालनमा आएको छ।
असार २५ गते राति १०:३५ बजे नो–लोडमा २२० केभी चार्ज गरी परीक्षण सम्पन्न गरिएको उक्त प्रसारण लाइनमार्फत असार २७ गतेदेखि नियमित रूपमा विद्युत् प्रवाह सुरु भएको छ। हाल यस लाइनबाट करिब ८० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
मर्स्याङ्दी करिडोर आयोजना मनाङ, लमजुङ तथा दोर्दी नदी बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने उद्देश्यले निर्माण गरिएको राष्ट्रिय गौरवको प्रसारण आयोजना हो। आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि करिब १,६०० मेगावाट विद्युत् प्रसारण गर्न सक्ने क्षमता रहनेछ।
मार्कीचोक–भरतपुर प्रसारण लाइन निर्माण स्थानीय अवरोध, जटिल भौगोलिक अवस्था, वन क्षेत्रभित्र रूख कटान स्वीकृतिमा भएको ढिलाइ तथा अन्य प्राविधिक चुनौतीका कारण लामो समय प्रभावित भएको थियो। लमजुङ क्षेत्रमा करिब १२ वर्षदेखिको स्थानीय समस्या समाधान भएपछि निर्माण कार्यले गति लिएको थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनालाई उच्च प्राथमिकतामा राख्दै निर्माणमा देखिएका अवरोध हटाउन निरन्तर पहल गरेको जनाएको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आयोजना स्थलको निरीक्षण गर्दै निर्माण कार्य तीव्र बनाउन निर्देशन दिएका थिए। मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा स्थानीय समुदायबिचको समन्वयले आयोजना सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नियमित अनुगमन तथा आयोजना प्रमुख नारायण रेग्मीको नेतृत्वमा निर्माण व्यवस्थापन प्रभावकारी रूपमा अघि बढाइएकाले पहिलो सर्किट सञ्चालनमा ल्याउन सफलता मिलेको प्राधिकरणले जनाएको छ।
पहिलो सर्किट सञ्चालनमा आएसँगै न्यू मर्स्याङ्दी (मार्कीचोक) २२० केभी सबस्टेशन राष्ट्रिय २२० केभी प्रसारण सञ्जालसँग जोडिएको छ। अब मर्स्याङ्दी तथा दोर्दी नदी बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् न्यू भरतपुर सबस्टेशन हुँदै हेटौंडा, ढल्केबरलगायत राष्ट्रिय २२० केभी तथा ४०० केभी प्रसारण सञ्जालमा सहज रूपमा प्रवाह गर्न सकिने भएको छ।
यसले पूर्व–पश्चिम राष्ट्रिय प्रसारण सञ्जाललाई थप सुदृढ बनाउनुका साथै विद्युत् प्रणालीको विश्वसनीयता, प्रसारण क्षमता र सञ्चालन लचकतामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ। साथै, दोर्दी नदी बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर जान नदिई राष्ट्रिय प्रणालीमा समाहित गर्न महत्त्वपूर्ण योगदान पुग्नेछ।
आयोजनाअन्तर्गत दोस्रो सर्किट तथा बाँकी संरचना निर्माण सम्पन्न भएपछि मर्स्याङ्दी करिडोरको पूर्ण क्षमता उपयोग गर्दै ठुलो परिमाणमा विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न सकिनेछ। यसलाई नेपालको प्रसारण पूर्वाधार विकास, ऊर्जा आत्मनिर्भरता र भविष्यमा क्षेत्रीय विद्युत् व्यापार विस्तारतर्फको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण