आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
जेनजी अभियन्ता भावना राउत

'सय दिनमै युवाले आत्मदाह गर्नुपर्ने सरकारको कस्तो उपलब्धि हो ?'

आइतबार, २८ असार २०८३, २० : २६
आइतबार, २८ असार २०८३

काठमाडौँ । पठाओ राइडर गणेश नेपालीले महानगर प्रहरीको दुर्व्यवहार र अपमान सहन नसकी गरेको आत्मदाहको घटनाप्रति जेनजी अभियन्ता भावना राउतले गहिरो दुःख र कडा आक्रोश व्यक्त गरेकी छिन् ।

देशमा परिवर्तन र सुशासनको आशा गर्दै अगाडि बढेका युवाले नै राज्यको दमन र चरम निराशाका कारण आत्मदाहको बाटो रोज्न बाध्य हुनुपर्ने अवस्था आउनु वर्तमान सरकारको सय दिनको कार्यशैलीमाथिको प्रश्न उठाइन् । 

‘देशमा सुशासन आउँछ, जनताले राहत पाउँछन्, युवाहरूले देशमै बस्ने वातावरण हुन्छ भन्ने ठुलो आशा गरेका थियौँ,’ अभियन्ता राउतले भनिन्, ‘तर, सरकारको सय दिनको अवधिमा २५ वर्षे युवाले राज्यको दमन र निराशा सहन नसकेर सडकमा आत्मदाह गर्नुपर्ने स्थिति आयो ।’

उनले यो सरकारको सय सबैभन्दा ठुलो असफलता भएको बताइन् । हिजोका दिनमा नागरिकको पक्षमा ठुला कुरा गर्ने र आज सत्तामा पुगेकाहरूले यो घटनाबाट गम्भीर आत्मसमीक्षा गर्नुपर्ने राउतको भनाइ छ ।

महानगर प्रहरीको कार्यशैलीप्रति राउतले असुन्तष्टि व्यक्त गरेकी छन् ।

‘बिच सडकमा मान्छे जलिरहेको छ, पेट्रोल छर्केर आगो लागेको सबैले देखिरहेका छन्,’ उनले भनिन्, ‘तर, उनीहरूले मानवीयता देखाएर उद्धार गर्नु सट्टा उल्टै अपराधीलाई झैँ घोक्रेर लगेको देखियो । के यही हो नयाँ व्यवस्था र प्रहरी प्रशासनको कार्यशैली ?’ 

स्थानीय निकाय वा सुरक्षा संयन्त्रको नाममा नागरिकमाथि भएको दमनकारी रवैया कुनै पनि हालतमा सह्य नहुने राउतले चेतावनी दिइन् ।

घटनालाई लिएर सरकार र सम्बन्धित निकायले हाम्रो लापरबाही होइन भन्दै पन्छिन खोजेकोप्रति उनले आपत्ति जनाइन् । सरकारमा बस्नेहरुले यस्ता घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने उनले बताइन् । ‘जनतालाई सुरक्षा दिन नसक्ने र युवाहरूमा आशा जगाउनको सट्टा निराशा मात्रै बाँड्ने हो भने यस्तो सरकारको औचित्य के ?’ राउतले भनिन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप