आँसु पुछ्न औँला छैनन्...
सारांश
- गोङ्गबुस्थित होल्डिङ सेन्टरमा उर्मिला तामाङ आफ्नै आँसु पुछ्न नसक्ने अवस्थामा छिन् किनकि उनका हातका औँला छैनन्।
- सुकुमबासी बस्ती हटाएर होल्डिङ सेन्टरमा राखिएका उर्मिलाजस्ता धेरैको जीवन कष्टकर बनेको छ, जहाँ उनीहरूलाई खाना र औषधिको समेत अभाव छ।
- सरकारले सुकुमबासीको व्यवस्थापनका लागि २५ हजार रुपैयाँ दिने र तीन महिनासम्म १५ हजार रुपैयाँ दिने घोषणा गरे पनि धेरै परिवार अझै होल्डिङ सेन्टरमै संघर्ष गरिरहेका छन्।
मुटु बाउँडिने एउटा दृश्य ! गोङ्गबुस्थित होल्डिङ सेन्टरमा उर्मिला तामाङ भक्कानिइरहेकी थिइन् । उनका आँखाबाट बरबरी आँसु खसिरहेको थियो । तर तपाईँलाई थाहा छ ? आफ्नै आँसु पुछ्नका लागि उनको दाहिने हात छैन, औँला नै छैनन् ।
मनोहरा किनारको सुकुमबासी बस्तीबाट हटाएर उनलाई गोङ्गबुको होल्डिङ सेन्टरमा राखिएको थियो । त्यहाँबाट पनि हट्न भनिएपछि उनी भयानक पीडाको आँधीहुरीमा छिन् ।
६ महिनाको उमेरमा आगोले जलेर हात र औँला काटिएकी उर्मिलाको जीवनकथा क्रूर क्रूसले घोचेर प्वालैप्वाल पारिएको मुटुजस्तै छ । रोगी छिन् । वरपर औषधिका रित्ता पोका मात्र छन् । सरकारले दिएको २५ हजार औषधि किन्दा सकिइसकेको छ । खानेकुरा त के, अब औषधि किन्नसमेत रुपैयाँ छैन रे ।
पहिलेदेखि उर्मिलाका धेरै आँसु बगे । अहिले झन् बगिरहेका छन् । हो, आफ्ना आँसु पुछ्न उनका आफ्नै औँला छैनन् । आँसु पुछिदिने कोही छैन । बरु बलिन्द्रधारा बगाउन बल लगाइदिनेहरू छन् ।
सरकारले होल्डिङ सेन्टरबाट हट्न भने पनि उनी त्यहीँ नै छिन् । किनभने उनका खास आफ्नो कोही छैनन्, जाने ठाउँ कहीँ छैन । धन्न अहिलेसम्म होल्डिङ सेन्टर बनाइएको त्रिपुरासुन्दरी होटलले उनलाई राखिराखेको छ । तर होटलले मात्रै कति दिन यसो गर्न सक्ला ?
उर्मिलाको हालत ठ्याक्कै यस्तै छ, नारायणगोपालले गाएको गीतको यो अंशजस्तै :
‘भोलि उठी कहाँ जाने केही थाहा छैन
फर्की आउने हो कि होइन केही थाहा छैन...।’
उर्मिला एक पात्र हुन् । उनीजस्ता धेरै सुकुमबासीको जीवन होल्डिङ सेन्टरमा ‘होल्ड’ भएको छ । न यता न उता । छाड्नेले त छाडे सेल्टर, तर बाँकी कहाँ जाने ?
उनीजस्तै होल्डिङमा ‘होल्ड’ भएकाहरूको बेचैन दिनचर्या कहालीलाग्दो छ । जस्तो कि, नागार्जुनको इचङ्गुनारायण अपार्टमेन्ट होल्डिङ सेन्टरमा बाँकी रहेकाहरूको बेहाल अवस्था । सेन्टर छाड्न भनिएपछि उनीहरूलाई खाना त के, पानी पनि रोकियो ।
सेन्टरमा समस्या झेलिरहेका पात्र रविना बर्देवाहरूका यी प्रश्नको जवाफ दिनुपर्दैन कसैले ? ‘सुकुमबासी मान्छे हैनन् र ? यही देशका नागरिक हैनन् र... ?’
...........
सम्झौँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को त्यो स्ट्याटस, जुन स्ट्याटसप्रति अपार आशा, भरोसा र प्रतिक्रियाहरू थिए ।
११ वैशाखमा प्रधानमन्त्री शाहले अघिल्ला वर्ष डुबानमा परेका बस्तीका तस्बिरहरू सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै खोलाकिनारका असुरक्षित सुकुमबासीहरूको सुरक्षाका लागि बस्ती खाली गर्नुपरेको लामो स्ट्याटस लेखेका थिए । उनले लेखेका थिए, ‘बिर्सनुभयो कि सम्झनुहुन्छ ? हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको, अनि सरकारले उद्धार गर्नुपरेको दृश्य ! यो वर्षौँदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि । यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु ।’
शाहले यो स्ट्याटसमार्फत वर्षौँ पुरानो यो समस्याको समाधान सरकारले गर्ने दृढतासहित ढुक्क हुन आग्रह गरेका थिए ।
२७ हजार जनाले सेयर गरेको यो स्ट्याटसमा ५६ हजार २ सयले कमेन्ट गरेका थिए, जसमा आशा, विश्वास र प्रतीक्षाका कमेन्ट धेरै थिए ।
यसको भोलिपल्टबाट सुकुमबासी बस्तीहरूमा डोजर चल्न थाले । बस्तीहरू खाली भए । त्यहाँका बासिन्दाहरूलाई विभिन्न होल्डिङ सेन्टरहरूमा सारियो ।
तर २६ असारमा भइदियो अर्कै । तावाबाट खसालेर भुङ्ग्रोमा पारेजस्तै भयो सुकुमबासीहरूलाई । त्यो मध्यरात कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमै पस्यो बाढी । जोगाउन भन्दै बनाइएको होल्डिङ सेन्टर नै डुब्यो चुर्लुम्म । डुबे खानेकुरा, लत्ताकपडा । डुबे नानीहरूका कापीकिताबहरू र डुबे बचेखुचेका सपनाहरू पनि ।
अहिले उनीहरू (३१ परिवारका ८९ जना)लाई त्यहाँबाट पनि सारेर भक्तपुर खरिपाटीस्थित होल्डिङ सेन्टरमा राखिएको छ ।
- कसले पुछिदिने आँसु ?
त्यसो त सरकारले उनीहरूको व्यवस्थापनका लागि पहल भइरहेको जनाएको छ । प्रारम्भिक पुनर्स्थापना खर्चस्वरूप २५ हजार रुपैयाँ दिएको छ, उनीहरूलाई आफ्नो व्यवस्था गर्न भनेको छ । त्यस्तै वास्तविक सुकुमबासी पहिचान गरी उनीहरूलाई अर्को विकल्प नहुँदासम्म कम्तीमा तीन महिनासम्म १५ हजार रुपैयाँ दिने भनिएको छ ।
शाहले वैशाख २१ गते अर्को स्ट्याटस सार्वजनिक गर्दै कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन नदिइने स्पष्ट पारेका थिए ।
उनले लेखेका थिए, ‘...सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ । कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन ।’
रकम बुझेर आफ्नो व्यवस्था गर्न भनिएपछि केही व्यक्तिहरूले सेन्टर छाडेर लाखापाखा लागिसकेका छन् । तर ६ वटा होल्डिङ सेन्टरमा रहेका ३ सय ८० परिवारमध्ये कयौँ परिवार अझै सेन्टरमै सङ्घर्ष गरिरहेका छन् ।
भलै, रकम बुझेर लाभ लिने केही टाठाबाठाहरू पनि छन् भन्ने गुनासा छन् । तिनबारे तत्काल छानबिन गर्नु जरुरी छ । तर मूल कुरा, होल्डिङभित्र पिउने पानीका लागि समेत सङ्घर्ष गरिरहनुपरेका वास्तविक सुकुमबासीहरूको व्यवस्थापन गर्न ढिलो भइसकेको छ ।
उनीहरूका आँखाभरि आँसु र आक्रोश छ । माथि भनिएजस्तो उर्मिलाका लागि आफ्नै आँसु पुछ्न आफ्नै औँला छैनन् । औँला भएकाहरूका लागि पनि निर्धक्क आँसु पुछ्ने वातावरण छैन ।
खासमा उनीहरू राज्यले नै आँसु पुछिदिओस् भन्ने चाहन्छन् । राज्यबाट उनीहरूलाई सधैँका लागि संरक्षण चाहिएको छ । अभिभावकत्व चाहिएको छ । विश्वास गरौँ, सरकारले भनेजस्तै उनीहरूको व्यवस्थापन हुनेछ । तर त्यस्तो व्यवस्थापन ठुलो दुर्घटनाअघि नै होस् । धैर्यको बाँध फुटेपछिको व्यवस्थापनले अर्थ राख्ने छैन, पछुतो मात्र हुनेछ ।
नागरिकका मन कतिबेला भाँचिन्छन् र जोडिन्छन् भन्ने कुरा यसअघिका शक्तिशाली सत्ता सञ्चालकहरूबाट सिक्नुपर्छ । असाधारण लोकप्रिय मत र मन प्राप्त गरेको सरकारले कसैलाई रुवाउनु हुँदैन । बरु असाध्यै जिम्मेवार अभिभावक बन्नुपर्छ । सोच्नुपर्छ, जनताका आँखा नरसाऊन् । कदाचित रसाइहाले भने पुछिदिनु विनम्र भएर ।
आँसु खतरनाक हुन्छ, विद्रोह जन्माउँछ । होल्डिङभित्र थुनिएका उकुसमुकुस मनहरूलाई सम्हाल्न, सम्झाउन र सम्बोधन गर्न ढिलाइ भएमा आँसुले अर्कै आकार लिन सक्छ । सम्झिनुपर्छ इतिहासका पानाहरू । जीवन शर्माको गीतको यो अंशजस्तै :
‘खरानीमा आगोजस्तै भित्रभित्र पुरिएर
आक्रोशको ज्वाला मनमा भित्र गुम्सिएर
भोक र वेदनाको मसाल जहाँ दन्केको हुन्छ
त्यहाँ फुट्छ ज्वालामुखी...’
हो, कसैले कुनै जमिन अनधिकृत कब्जा गर्नु हुँदैन, अतिक्रमण गर्नु हुँदैन । ठिकै छ, सरकारको कदमपछि जमिन अतिक्रमण हट्यो होला तर आफ्नै देशका नागरिकको मन अतिक्रमण भयो भने के हुन्छ ? ठिकै छ, अतिक्रमित जग्गा जोगियो होला, तर आफ्नै मतदाताका मन जोगिएनन् भने के हुन्छ ? अनि के हुन्छ, उनीहरूको आँसुको बाढीले अरू बस्तीहरू डुबाए भने ? यसका लागि सरकार त गम्भीर बन्नुपर्छ नै । अनि नागरिकको सेवाका लागि खोलिएका जिम्मेवार दलहरू, तिनका सङ्गठनहरू पनि बोल्नुपर्दैन ?
यी सब घटनाक्रम देख्दा लेखक खगेन्द्र सङ्ग्रौलाले सामाजिक सञ्जालमार्फत सोधेको यो प्रश्नको याद आउँछ, ‘...सधैँ भुइँमान्छेका हकहितको डङ्का पिट्ने लाल र नीला राजनीतिक दलहरू, अखिल, नेविसङ्घ, वाईसीएल, युथफोर्स आदि के हेरेर बसिराखेका होलान् ? ती सबै एकमुष्ट स्वर्गे भएका त होइनन् होलान् ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता
-
राष्ट्रिय गौरवका आयोजना घटाउन आयोगको प्रस्ताव : कुन आयोजनाको प्रगति कति?
-
केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित
-
नयाँ सार्वजनिक खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्ने निर्देशन
-
प्रख्यात अभिनेता साम निलको निधन
-
स्वर्णिम वाग्लेको भूमिकालाई लिएर बालेन असन्तुष्ट, यी मन्त्रीको कार्यसम्पादनमा रविको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण