सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
महिला चालक

पुरुषले धान्दै आएको पेसामा पौरख बढाउँदै सन्ध्या

सोमबार, २९ असार २०८३, १२ : ३०
सोमबार, २९ असार २०८३

सारांश

  • कञ्चनपुरकी ३३ वर्षीया सन्ध्या जोशी सार्वजनिक यातायात चलाउने सुदूरपश्चिमकी एकमात्र महिला हुन् ।
  • श्रीमान् भारतमा रहेका बेला परिवारको सल्लाहमा उनले सार्वजनिक इभी हायस चलाउन थालेकी हुन् ।
  • उनले महिलाले चाहे जुनसुकै काम गर्न सक्छन् भन्ने सन्देश दिनुका साथै थप गाडी किन्ने योजना रहेको बताएकी छन् ।

धनगढी । केही वर्ष अघिसम्म सवारी चालक पेसा पुरुषमात्र देखा पर्थे । निजी सवारी साधन चालकका रूपमा महिला उल्लेख्य देखिए पनि सार्वजनिक सवारी साधन चालकको भूमिकामा भने पुरुष नै हाबी छन् ।

'जाऊँ न हो ड्राइभर दाइ स्टेयरिङ घुमाउँदै' बोलकाे गीत निर्माण हुँदा महिला पनि चालक हुन्छन् भन्ने सायद कल्पना पनि गरिएको थिएन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ की  ३३ वर्षीय सन्ध्या जाेशीका लागि यो गीत काम लाग्दैन । किनकि महिला भएर पनि उनी सार्वजनिक यातायात चलाउँछिन् ।

सन्ध्यालाई दैनिक बिहान ६ बज्न नपाउँदै धनगढीको ६ लेन सडकमा यात्रु चढाउने चटारो सुरु हुन्छ । धनगढी–महेन्द्रनगर रुटमा सेतो इभी हायसको स्टेयरिङ सम्हालेर यात्रुलाई स्वागत गरिरहेकी हुन्छिन् उनी ।

सार्वजनिक इभी हायस चलाउने उनी सुदूरपश्चिमकै एकमात्र महिला हुन् । बैतडीकी रविना चन्द भने  बोलेरो जीप हाँक्छिन् ।

सबेरै घरबाट हायस लिएर निस्कने सन्ध्या साँझ अबेर फर्किन्छिन् । उनले सार्वजनिक सवारी चलाउन थालेको एक वर्ष भयो । त्यसो त उनी रहरले चालक बनेकी हैनन् । सुरुमा उनले होटल सञ्चालन गरेकी थिइन् । 'परिवारको सल्लाह अनुसार केही बचत र केही ऋण गरेर करिब अढाई वर्ष अघि इभी हायस किनियो । श्रीमान् धनगढी–महेन्द्रनगर रुटमै गाडी चलाउनु हुन्थ्यो । अचानक परिस्थिति फेरियो,' सन्ध्याले  भनिन् ।

sandhay joshi (4)

भारतको बैंगलोरमा रहेका उनका ससुरा बिरामी परेपछि श्रीमान् भारत जानुपर्‍यो । गाडी थन्क्याउने कि चालक राख्ने भन्ने अवस्था आयो । चालक राख्दा आम्दानी नबुझाउने र गाडीमा सामान्य क्षति हुँदा पनि ठुलो खर्च व्यहोर्नुपर्ने समस्या थियो ।

‘अरूलाई चलाउन दिँदा धेरै दुःख पाइने हुँदा आफैँ सिकेर गाडी चलाउने निर्णय गरेँ,’ उनले भनिन् ।

 १७ दिन अभ्यास गरेर चालक अनुमति प्रमाणपत्रका लागि उनले ट्रायल दिइन् । पहिलो प्रयास सफल भएन । दोस्रो पटक भने उनले नाम निकालिन् । अनि आफैँ स्टेयरिङ समातिन् ।

‘डर त लागेको थियो, तर कसैले त सुरु गर्नै पर्थ्यो,’ सन्ध्याले भनिन् । उनको बाल्यकाल कञ्चनपुरको भीमदत्त नगरपालिका–७, हल्दुखालमा बित्यो । उनका बुबाआमाले पसल चलाउँथे । सानोदेखि नै उनी पुलिस बन्ने सपना देख्थिन् । कक्षा ८ मा पढ्दादेखि नै त्यसको तयारी गर्न थालेकी थिइन् । उनका परिवारले छोरी मान्छेलाई पुलिस उपयुक्त हुँदैन भनेपछि त्यो सपना त्यत्तिकै रोकियो ।

सन्ध्याले कक्षा १२ सम्म अध्ययन गरिन् । १७ वर्षको उमेरमा प्रेम विवाह गरिन् । विवाहको चार वर्षपछि सासूको निधन भयो । त्यसपछि घरको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा आयो । श्रीमान् रोजगारीका लागि विदेश जान थाले । खेतीपातीदेखि घरपरिवार सबै उनले नै सम्हाल्नुपर्‍यो ।

सार्वजनिक सवारी साधन चलाउनु अघि सन्ध्याले खेत जोत्न प्रयोग हुने हाते ट्याक्टर चलाएकी थिइन् । ससुराले उनलाई ‘चलाउन सक्छौ ?’ भनेर सोध्दा उनले निर्धक्कसँग ‘सक्छु’ भनिन् ।

त्यतिबेला गाउँमा महिलाले ट्याक्टर चलाउनु असामान्य मानिन्थ्यो, तर उनले सिकिन् । खेत जोतिन् । खेती गरिन् । अहिले पनि खेती लगाउने काम उनी आफैँ गर्छिन् । ‘त्यो बेला निकै खुसी लागेको थियो, महिलाले पनि गर्न सक्छ भन्ने महसुस भयो,’ उनले भनिन् ।

sandhay joshi (3)sandhay joshi (4)

त्यही आत्मविश्वासले पछि उनलाई सार्वजनिक सवारी चलाउने आँट दियो । धनगढी-महेन्द्रनगर रुटमा उनी दिनमा दुईदेखि तीन ट्रिपसम्म हायस चलाउँछिन् ।

दिनभरि सडकमै हुने भएकाले खाना खाने निश्चित समय छैन । बाटोमै होटलमा खाना खानुपर्छ । श्रीमान् भारतमै छन् । छोराछोरीको हेरचाह उनकी दिदीले गरिरहेकी छन् । उनको १४ वर्षीय छोरा कक्षा ८ मा पढ्छ भने ९ वर्षीया छोरी ३ कक्षमा पढ्छिन् ।  

‘बच्चासँग धेरै समय बिताउन पाइँदैन, उनीहरू बुझ्ने भएका छन्,’ सन्ध्याले भनिन् ।

धनगढी–महेन्द्रनगर रुटमा सयौं सार्वजनिक सवारी गुड्छन् । तीमध्ये महिला चालक भने उनीमात्रै हुन् । सुरुमा उनलाई देखेर अन्य चालक-सहचालक र यात्रु अचम्म मान्थे । अहिले  भने अवस्था बदलिँदै गएको छ । नियमित यात्रुहरू उनलाई चिन्छन् । सहचालक र अन्य चालकहरूले पनि सम्मानपूर्वक व्यवहार गर्ने गरेको उनी बताउँछिन् ।

सन्ध्याको काम देखेर गाउँका महिलाहरू खुसी छन् । उनीहरूलाई धनगढी वा महेन्द्रनगर आउनुपरे धेरैले सन्ध्याकै गाडी रोज्छन् । ‘महिला घरभित्र मात्रै सीमित हुनुपर्छ भन्ने सोच बदलिएको छ । उहाँले गाडी चलाएको देख्दा गर्व लाग्छ,’ उनकी छिमेकी रेखा शाहीले भनिन् ।

शुक्लाफाँटाकै भागरथीदेवी सिंह पनि महिलाले चुलोचौकोमा मात्र सीमित हुन नहुने बताउँछिन् । सन्ध्याको साहसले गाउँका धेरै महिलालाई नयाँ सोच दिएको उनीहरूको भनाइ छ ।

सन्ध्या आफैँ पनि महिलाहरूलाई एउटै सन्देश दिन्छिन् । ‘महिलाले चाहे जुनसुकै काम गर्न सक्छन् । आफूले सक्छु भन्नुपर्छ, परिवारले पनि अवसर दिनुपर्छ,’ उनले भनिन् ।

सार्वजनिक सवारी चलाउनु सजिलो काम होइन । कहिले यात्रु कम हुन्छन् । कहिले पालो कुर्न दुई–तीन घण्टा लाग्छ । कहिले यात्रुसँग सामान्य विवाद पनि हुन्छ।  उनी  भने यी सबैलाई कामको हिस्सा मान्छिन् । दैनिक करिब पाँच हजार रुपैयाँसम्म आम्दानी हुने उनी बताउँछिन् । त्यसबाट घरखर्च चलाउने, ऋण तिर्ने र परिवारको भविष्य सुरक्षित बनाउने प्रयास गरिरहेकी छन् उनी । अब श्रीमान् नेपाल फर्किएपछि अर्को गाडी थप्ने योजना रहेको उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप