मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न

मङ्गलबार, ३० असार २०८३, १७ : ४३
मङ्गलबार, ३० असार २०८३

काठमाडौँ। एशियन पेन्ट्स नेपालले राष्ट्रियस्तरको वास्तुकला तथा आन्तरिक सजावट डिजाइन प्रतियोगिताको १३औँ संस्करणको पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ। युवा डिजाइन प्रतिभाको सिर्जनशीलता, नवप्रवर्तन र व्यावसायिक क्षमताको सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रम २६ असारमा काठमाडौंको ठमेलस्थित एक होटलमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इन्जिनियर गोपालप्रसाद सिग्देल रहेका थिए। कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभाग, सोसाइटी अफ नेपाली आर्किटेक्ट्स, नेपाल इञ्जिनियर्स एसोसिएसन, इन्टेरियर डिजाइनर्स एसोसिएसन नेपाल, फेडेरेशन अफ कन्ट्र्याक्टर्स एसोसिएसन अफ नेपाल, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फर्म्सका प्रतिनिधि, विभिन्न शैक्षिक संस्थाका प्राध्यापक, आर्किटेक्ट, आन्तरिक डिजाइनर तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

एशियन पेन्ट्स नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता भावी वास्तुकार तथा आन्तरिक डिजाइनरलाई वास्तविक परियोजनामार्फत व्यावहारिक अनुभव प्रदान गर्ने राष्ट्रिय मञ्चका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ। प्रतियोगितामार्फत विद्यार्थीलाई उद्योगको वास्तविक कार्यपरिवेशसँग परिचित गराउँदै सिर्जनात्मक क्षमता, व्यावहारिक ज्ञान र व्यावसायिक तयारी अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

यस वर्षको प्रतियोगितामा देशभरका प्राविधिक शिक्षण संस्थाका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। बहुचरणीय मूल्याङ्कन प्रक्रियापछि वरिष्ठ आर्किटेक्ट, सोसाइटी अफ नेपाली आर्किटेक्ट्स तथा शहरी विकास तथा भवन निर्माण विभागका प्रतिनिधि सम्मिलित निर्णायक मण्डलले उत्कृष्ट डिजाइनहरूको छनोट गरेको थियो।

प्रतियोगितामा उत्कृष्ट १२ प्रतिस्पर्धीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसमध्ये शीर्ष तीन विजेतालाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।

प्रतियोगितामा इन्स्टिच्युट अफ इन्जिनियरिङको थापाथली क्याम्पसका पुरुषोत्तम घिमिरे प्रथम भएका छन्। इन्स्टिच्युट अफ इन्जिनियरिङकै पूर्वाञ्चल क्याम्पसका सुमन विक दोस्रो तथा हिमालय कलेज अफ इन्जिनियरिङकी अदिति रिजाल तेस्रो भएकी छन्। उनीहरूको सिर्जनात्मक सोच, नवीन डिजाइन अवधारणा र प्राविधिक दक्षताले नेपालका भावी वास्तुकार तथा डिजाइनरको सम्भावनालाई उजागर गरेको कम्पनीको भनाइ छ।

समारोहमा विजेता डिजाइनको त्रि–आयामिक नमुना पनि सार्वजनिक गरिएको थियो। साथै उक्त अवधारणात्मक डिजाइन शहरी विकास तथा भवन निर्माण विभागलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। यसले शैक्षिक सिर्जनशीलतालाई व्यवहारिक विकाससँग जोड्ने उदाहरण प्रस्तुत गरेको कम्पनीले जनाएको छ।

एशियन पेन्ट्स नेपालले शैक्षिक संस्था र उद्योगबीचको सहकार्यलाई थप मजबुत बनाउँदै युवा प्रतिभालाई सिर्जनात्मक अवसर उपलब्ध गराउन निरन्तर प्रतिबद्ध रहेको जनाएको छ। प्रतियोगिताको १३औँ संस्करणले नवप्रवर्तन, सिर्जनशीलता र उत्कृष्टतालाई प्रोत्साहन गर्ने अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको कम्पनीको विश्वास छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप