ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
सारांश
- सभापति रहबर अन्सारीले खाना पकाउने एलपी ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन्।
- उनले प्रत्येक घरधुरीमा कुन कम्पनीका कतिवटा सिलिण्डर छन् भन्ने यकिन तथ्याङ्क राख्न 'हाउसहोल्ड म्यापिङ्ग' र एकीकृत सूचना प्रणालीको आवश्यकतामा जोड दिए।
- उनले पाइपलाइन विस्तार, भण्डारण क्षमता वृद्धि र हाउजिङ कोलोनीमा सामूहिक वितरण प्रणालीको अवधारणा कार्यान्वयन गर्न सम्बन्धित मन्त्रीसँग स्पष्ट कार्ययोजना र समयसीमा सहितको प्रतिवद्धता मागेका छन्।
काठमाडौँ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खाना पकाउने एलपी ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन्।
बुधबार आयोजित समितिको बैठकमा बोल्दै सभापति अन्सारीले ग्यास आपूर्ति श्रृङ्खलामा देखिएका समस्या समाधानका लागि ठोस कदम चाल्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन्।
सभापति अन्सारीले प्रत्येक घरधुरीमा कुन कम्पनीका कतिवटा सिलिण्डर छन् भन्ने यकिन तथ्याङ्क राख्न ‘हाउसहोल्ड म्यापिङ्ग’ र एकीकृत सूचना प्रणाली (इन्टिग्रेटेड सिस्टम) को आवश्यकता रहेको बताए। वडा तहबाटै उपभोक्ताको विवरण सङ्कलन गरी नेपाल आयल निगम, ग्यास उत्पादक र वितरकले हेर्न मिल्ने गरी प्रणाली विकास गरेमा अनुगमन प्रभावकारी हुने र दुरुपयोग रोकिने उनको भनाइ छ।
उनले आधा सिलिण्डरको प्रयोगबाट प्राप्त भएका उपलब्धि र समस्याहरूको समीक्षा गर्दै आगामी दिनमा परिमार्जित नीति ल्याउनुपर्नेमा जोड दिए। साथै, ढुवानीमा सहज हुने र सुरक्षित मानिने ‘लाइट वेट’ (कार्बन फाइबर) सिलिन्डरको प्रयोग व्यापक हुन नसकेकोमा चासो व्यक्त गर्दै त्यसको गुणस्तर र सुरक्षाबारे स्पष्ट पार्न आग्रह गरे। पाइपलाइन विस्तार र भण्डारण क्षमता वृद्धिका सम्बन्धमा सभापति अन्सारीले सम्बन्धित मन्त्रीसँग स्पष्ट कार्ययोजना र समयसीमा सहितको प्रतिवद्धता माग गरेका छन्।
बैठकमा सभापति अन्सारीले कुन घरमा कुन कम्पनीको कति सिलिण्डर पुगेको छ भन्ने कुराको जानकारी सम्बन्धित कम्पनी र नियामक निकायलाई हुनुपर्ने धारणा राखे। उनले भने, ‘यसका लागि स्थानीय तहसँगको समन्वयमा एकीकृत प्रणाली लागू गर्न ढिलाइ गर्नु हुँदैन। हामीलाई गम्भीर छौँ भन्ने जस्ता परम्परागत आश्वासन मात्र चाहिएको होइन।’
पाइपलाइन निर्माण र भण्डारण क्षमता विस्तारका लागि कति दिनभित्र काम सम्पन्न हुन्छ, त्यसको स्पष्ट कार्यतालिका मन्त्रीले सार्वजनिक गर्नुपर्ने उनको माग छ। उनले थपे, ‘लक्ष्यसहितको प्रतिवद्धता नभएसम्म सुधार सम्भव छैन।’
सभापति अन्सारीले सहरी क्षेत्रका हाउजिङ कोलोनी र अपार्टमेन्टहरूमा ग्यास आपूर्तिलाई व्यवस्थित गर्न सामूहिक वितरण प्रणालीको अवधारणा समेत अघि सारेका छन्। अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याउँदै ठूला हाउजिङमा आफ्नै भण्डारण र पाइपलाइन प्रणाली जडान गर्न ग्यास उद्योगीहरूलाई पहल गर्न उनले आग्रह गरे। यस्तो प्रणालीले वितरणलाई थप व्यवस्थित, सुरक्षित र आधुनिक बनाउने उनको विश्वास छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण