बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
अन्तरवार्ता

‘कलेजो प्रत्यारोपणपछि ९५ प्रतिशतसम्म बिरामी सजिलै एक वर्ष बाँच्छन्’

बिहीबार, ३२ असार २०८३, ०७ : ५५
बिहीबार, ३२ असार २०८३

सारांश

  • कलेजो प्रत्यारोपण नेपालमा न्यून मात्रामा हुने गरेको छ, जसका मुख्य कारण खर्चिलो उपचार, विशेषज्ञको अभाव, पूर्वाधारको कमी र सरकारी सहुलियत नहुनु हो ।
  • कलेजो प्रत्यारोपण सर्जन डा. प्रदेज सापकोटाका अनुसार, जीवित दाता वा मस्तिष्क मृत्यु भएका व्यक्तिको कलेजोबाट प्रत्यारोपण गर्न सकिन्छ, तर नेपालमा मस्तिष्क मृत्युपश्चात् अंगदान गर्नेको संख्या कम छ ।
  • प्रत्यारोपणपछि बिरामीको एक वर्षसम्म बाँच्ने दर ९०-९५% छ, तर नेपालमा यो सेवा अझै पूर्ण रूपमा स्थापित हुन सकेको छैन र यसलाई सहज बनाउन जनचेतना र सरकारी सहयोग आवश्यक छ ।

नेपालमा कलेजो प्रत्यारोपण न्यून मात्रामा हुने गरेको छ । खर्चिलो उपचार पद्यती,  विशेषज्ञ चिकित्सकको अभाव, पर्याप्त पूर्वाधारको कमि र सरकारले कलेजो प्रत्यारोपणमा सहुलीयत नदिँदा प्रत्यारोपण दर न्यून छ ।

विशेषज्ञहरुका अनुसार विभिन्न कारणले कलेजो खराब भई काम नगर्ने (सिरोसिस) भएपछि नयाँ कलेजो राख्ने चिकित्सा प्रक्रिया कलेजो प्रत्यारोपण हो । कलेजो प्रत्यारोपणका विषयमा कलेजो प्रत्यारोपण सर्जन डा. प्रदेज सापकोटासँग गरिएको कुराकानीको सारसंक्षेपः

कलेजो प्रत्यारोपणवारे बताइदिनुहोस् न ।
विभिन्न कारणले कलेजो खराब भएर अन्तिम अवस्थामा पुगेपछि त्यसको ठाउँमा नयाँ कलेजो राख्ने चिकित्सा प्रक्रिया नै कलेजो प्रत्यारोपण हो । अत्यधिक मदिरा सेवन, हेपाटाइटिस ’बी’ वा ’सी’ को संक्रमण, अथवा अत्यधिक मोटोपनाका कारण कलेजो सुकेर कामै नगर्ने (सिरोसिस) भएपछि यसको एकमात्र विकल्प प्रत्यारोपण नै हुन्छ । संसारभर कलेजो प्राप्त गर्ने दुईवटा मुख्य तरिकाहरू छन् ।

  • पहिलो जीवित दाताः स्वस्थ जीवित व्यक्तिले आफ्नो कलेजोको एक हिस्सा दान गर्ने ।
  • दोस्रो मस्तिष्क मृत्युः दुर्घटना वा अन्य कारणले मस्तिष्क मृत्यु भएका व्यक्तिको परिवारको सहमतिमा कलेजो निकाल्ने ।

नेपालको कानुनमा यी दुवै व्यवस्था छन् र अभ्यास पनि भइरहेको छ । यद्यपि, नेपालमा मस्तिष्क मृत्युपश्चात् अंगदान गर्नेहरूको संख्या अझै पनि एकदमै न्यून छ ।

कस्तो अवस्था वा रोग लाग्दा कलेजो प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ ?

कलेजो प्रत्यारोपण गर्नुपर्ने मुख्य अवस्थाहरू अत्यधिक मदिरा सेवनले कलेजोमा ‘सिरोसिस’ (कलेजो कडा हुने रोग) भएमा हो । यस्तै, हेपाटाइटिस ‘बी’ र ‘सी’को संक्रमणका कारण सिरोसिस भएमा पनि प्रत्यारोपण गर्नुपर्ने हुन्छ । अत्यधिक मोटोपनाले कलेजो बिगारेमा, कलेजोको क्यान्सर भएमा प्रत्यारोपण गर्नुपर्ने हुन्छ । तर, सबै प्रकारका क्यान्सरमा प्रत्यारोपण सम्भव हुँदैन ।

क्यान्सरको आकार, संख्या र फिँजिएको अवस्था हेरेर निश्चित मापदण्ड पुगेका बिरामीको मात्र प्रत्यारोपण गरिन्छ । ध्यान दिनुपर्ने कुरा के हो भने सिरोसिस हुँदैमा तुरुन्तै प्रत्यारोपण गर्नुपर्छ भन्ने छैन । सुरुवाती चरणमा शरीरले कलेजोको कार्यभार धानिरहेको हुन्छ ।

तर, जब पेटमा अत्यधिक पानी जम्ने, जन्डिस निकै बढ्ने, खुट्टाहरू सुन्निने, तथा मुख वा दिसाबाट रगत बग्ने जस्ता गम्भीर लक्षणहरू देखिन थाल्छन्, तब प्रत्यारोपण नै अन्तिम उपाय बन्न पुग्छ । र, बच्चाहरूमा जन्मजात रूपमै कलेजोको बनावट बिग्रेमा वा मेटाबोलीक डिजीज देखिएमा कलेजो प्रत्यारोपण गर्नुपर्छ ।

कलेजो दान गर्ने दाताका लागि के–कस्ता मापदण्डहरू तोकिएका छन् ?

जीवित दाताको हकमा नेपालको कानुनले निश्चित दायरा तोकेको छ । बिरामीको नजिकका नातागोता (जस्तैः बुबा, आमा, दाजु, भाइ, दिदी, बहिनी, मामा, माइजू, काका, काकी आदि) गरी करिब ५० देखि ५५ वटा पारिवारिक सम्बन्ध भित्रका व्यक्तिले मात्र कलेजोको एक हिस्सा दान गर्न पाउँछन् । अर्कातर्फ, मस्तिष्क मृत्युपश्चात् गरिने अंगदानमा भने कानुनी प्रक्रिया पुर्‍याएर जो–कसैको कलेजो पनि लिन सकिन्छ । यसरी प्राप्त हुने कलेजो कसले पाउने भन्ने कुराको एउटा निश्चित मापदण्ड हुन्छ, जसमा गम्भीर अवस्थामा रहेका र तुरुन्तै प्रत्यारोपण आवश्यक भएका बिरामीहरूले प्राथमिकता सूचीका आधारमा कलेजो छिटो पाउँछन् ।

कलेजो दान गर्दा दाताको शरीरमा के–कस्तो असर वा जोखिम हुन्छ ?

अंगदान गर्न चाहने वा गर्नुपर्ने मानिसहरूमा यो जिज्ञासा हुनु स्वाभाविक हो । हाम्रो शरीरमा कलेजो एउटा यस्तो अद्भुत अंग हो, जसमा पुनः पलाउने क्षमता हुन्छ । दाताले आफ्नो कलेजोको आधा हिस्सा दान गरे पनि ६ देखि ८ हप्ताभित्रै उनको शरीरमा ९० देखि ९५ प्रतिशत कलेजो स्वतः पलाएर साविककै अवस्थामा पुग्छ ।

कलेजो लिने बिरामीको शरीरमा पनि त्यो टुक्रा पलाएर आवश्यक आकारमा विकसित हुन्छ । जोखिमको कुरा गर्दा यो कलेजो काटेर निकाल्ने निकै ठुलो र चुनौतीपूर्ण शल्यक्रिया हो । त्यसैले रगत जम्ने, शल्यक्रिया गरेको ठाउँमा हर्निया हुन सक्ने, वा पित्त नली काट्दा केही जटिलता आएमा आन्द्रासँग जोड्नुपर्ने जस्ता केही जोखिमहरू रहन्छन् ।

यद्यपि, आधुनिक चिकित्सा प्रविधिले यी सबै जटिलताहरूलाई सजिलै व्यवस्थापन गर्न सक्छ । दाताको ज्यानमा दीर्घकालीन रूपमा खासै असर पर्दैन ।

प्रत्यारोपणपछि बिरामीको औसत आयु कति वर्ष थपिन्छ ? नेपालको अवस्था कस्तो छ ?

अन्तर्राष्ट्रिय तथ्याङ्क अनुसार कलेजो प्रत्यारोपणको नतिजा निकै राम्रो छ । प्रत्यारोपण गरेको एक वर्षसम्म जीवित रहने दर ९० देखि ९५ प्रतिशत र ५ वर्षसम्म जीवित रहने दर ७५ देखि ८० प्रतिशत सम्म हुन्छ । धेरै बिरामीहरू प्रत्यारोपणपछि लामो र गुणस्तरीय जीवन बाँचिरहेका छन् ।

नेपालको सन्दर्भमा कलेजो प्रत्यारोपण अझै पूर्ण रूपमा स्थापित भइसकेको छैन । हाल नेपालका ४–५ वटा अस्पतालहरूले यो सेवा दिइरहेका छन् । तर, यो अत्यन्तै जटिल, महँगो र ठुलो जनशक्ति चाहिने शल्यक्रिया भएकाले यो सेवा अझै पनि पूर्ण रूपमा आत्मनिर्भर  मोडेलमा आइसकेको छैन ।

हामी अझै पनि संघर्षकै चरणमा छौ । तर, चिकित्सा टोलीको निरन्तर प्रयासले गर्दा आगामी एक–दुई वर्षभित्र नेपालमै यो सेवा अझ सहज र उत्कृष्ट नतिजासहित उपलब्ध हुनेमा हामी पूर्ण विश्वस्त छौ ।

यदि बिरामी र दाताको रक्त समूह मिलेन भने प्रत्यारोपण गर्न मिल्छ कि मिल्दैन ? विकल्प के हुन्छ ?

बिल्कुल मिल्छ । रक्त समूह नमिले पनि जीवित दाताबाट कलेजो प्रत्यारोपण गर्न सम्भव छ। चिकित्सा विज्ञानमा यसलाई ‘एबीओ इन्कम्प्याटिबल लिभर ट्रान्सप्लान्ट’ भनिन्छ ।

यस्तो अवस्थामा विशेष प्रकारका औषधिहरू प्रयोग गरेर शरीरले अर्को रक्त समूहको कलेजोलाई अस्वीकार नगरोस् भन्ने सुनिश्चित गरिन्छ । नेपालमा यो प्रविधि अझै सुरु भइसकेको त छैन, तर भारत, जापान, दक्षिण कोरिया, अमेरिका र युरोप जस्ता देशहरूमा यो निकै प्रचलित छ ।

कतिपय परिवारमा रक्त समूह मिल्ने सदस्य नहुँदा यो प्रविधि बरदान साबित भएको छ र यसको सफलताको दर पनि निकै राम्रो छ ।

सफल प्रत्यारोपणपछि पनि बिरामीले जीवनभर औषधि खानुपर्छ ? कलेजो स्वस्थ राख्न के गर्ने ?

हो, कलेजो मात्र होइन, जुनसुकै अंग प्रत्यारोपण गरेपछि पनि सुरुका महिनाहरूमा ४–५ थरी औषधिहरू खानुपर्छ । बिस्तारै औषधिको मात्रा घटाउँदै लगेर कम्तीमा एउटा औषधि भने जीवनभर सेवन गर्नुपर्छ । कलेजो स्वस्थ राख्ने उपायहरूमा पहिलो मदिरा सेवनमा नियन्त्रण हो ।

नेपालमा मदिरा सजिलै पाइने र चाडपर्वमा अत्यधिक प्रयोग हुने चलन छ । कलेजो जोगाउन मदिरापान पूर्ण रूपमा बन्द गर्ने वा एकदमै संयमित हुनुपर्छ । बालबालिकालाई जन्मजात नै हेपाटाइटिसको खोप लगाउने, जसले कलेजोको संक्रमणबाट जोगाउँछ ।

DR 2

आजकल रक्सी नै नखाने मानिसहरूमा पनि मोटोपनाका कारण कलेजो बिग्रेर प्रत्यारोपण गर्नुपर्ने अवस्था देखिएको छ । त्यसैले स्वस्थ जीवनशैली अपनाएर तौल नियन्त्रणमा राख्नुपर्छ ।  जथाभाबी सिटामोल खाने, विषालु च्याउ खाने, तथा प्रमाणित नभएका आयुर्वेदिक वा जडीबुटीजन्य औषधिहरू जथाभाबी खाँदा कलेजो फेल हुन सक्छ ।

कलेजोलाई तन्दुरुस्त राख्न दैनिक कम्तीमा आधादेखि एक घण्टा हिँड्ने वा व्यायाम गर्ने बानी बसाल्नुपर्छ । पछिल्ला अनुसन्धानहरूले दैनिक १–२ कप कालो कफी पिउनाले कलेजोलाई स्वस्थ राख्न मद्दत गर्ने देखाएका छन् । नेपालीहरूमा ढिलो र टन्न खाएर तुरुन्तै सुत्ने खराब बानी छ। यसलाई सुधारेर सुत्नुभन्दा कम्तीमा २ देखि ३ घण्टा अगाडि नै खाना खाने बानी बसाल्नु कलेजोका लागि निकै फाइदाजनक हुन्छ ।

नेपालमा कलेजो प्रत्यारोपण मुख्य चुनौतीहरू के–के हुन् ?

नेपालमा कलेजो प्रत्यारोपण कम हुनु पछाडी आवश्यक अत्याधुनिक पूर्वाधार र विशेषज्ञ जनशक्ति अझै पर्याप्त मात्रामा विकास हुन सकेको छैन । यो निकै महँगो उपचार हो । विडम्बना, यति ठुलो र खर्चिलो उपचारमा राज्यको तर्फबाट गरिब बिरामीहरूका लागि अहिलेसम्म कुनै पनि प्रकारको आर्थिक सहुलियत वा अनुदानको व्यवस्था छैन । यहाँ सेवा पूर्ण रूपमा स्थापित नभएकाले आर्थिक रूपमा सक्षम बिरामीहरू प्रत्यारोपणका लागि ठुलो संख्यामा भारत जाने गरेका छन् ।

यस सेवालाई नेपालमै सहज र सुलभ बनाउन अंगदानसम्बन्धी व्यापक जनचेतना जगाउनु आवश्यक छ । मेडिकल विधाका चिकित्सक, नर्सहरूले अध्ययन गर्ने पाठ्यक्रममा यसलाई अनिवार्य रूपमा समावेश गर्नुपर्छ । सर्वसाधारणमा सचेतना फैलाउन राष्ट्रिय परिचयपत्र वा सवारी चालक अनुमति पत्रमा नै ‘मस्तिष्क मृत्युपछि अंगदान गर्न मन्जुर छु’ भन्ने विवरण उल्लेख गर्ने प्रणाली सुरु गर्नुपर्छ ।

यदि मस्तिष्क मृत्युपछिको अंगदान सहज भयो भने प्रत्यारोपणको संख्या स्वतः बढ्नेछ । आशा गरौँ, वर्तमान सरकारले स्वास्थ्य क्षेत्रका यी गम्भीर विषयमा ठोस कदम चाल्नेछ र नेपालीहरूले नेपालमै सुपथ मूल्यमा गुणस्तरीय कलेजो प्रत्यारोपण सेवा पाउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप