बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साउनको आगमनसँगै सजियो इन्द्रचोक

बिहीबार, ३२ असार २०८३, २१ : ०७
बिहीबार, ३२ असार २०८३

काठमाडौँ । नेपाली हिन्दु महिलाहरूको विशेष सांस्कृतिक पर्व मानिने साउन महिनाको पूर्वसन्ध्यामा काठमाडौँको ऐतिहासिक बजार इन्द्रचोक हरियो, पहेँलो र रातो रङ्गले सजिएको छ ।

साउन महिना, महिलाहरू र चुरापोतेको सम्बन्ध निकै पुरानो र गहिरो मानिन्छ । विशेषगरी साउन महिनामा हरियो रातो चुरा र पोते पहिरिने परम्पराले अहिले इन्द्रचोकको पोते बजारमा ग्राहक र व्यवसायी दुवैको ध्यान खिचेको छ । 

साउन महिना धार्मिक र सांस्कृतिक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । यस महिनामा हरियो, पहेँलो र रातो रङ्गको पहिरन, चुरा र पोते लगाउनाले सुख, समृद्धि र सौभाग्य प्राप्ति हुने विश्वास रहिआएको छ ।

व्यापारिक केन्द्र इन्द्रचोकमा हरियो, पहेँलो र रातो चुरा९पोतेको चहलपहल भएतापनी  वर्षभरिको मुख्य सिजन मानिने साउन महिना सुरु हुनै लाग्दा यहाँका स्थानीय व्यवसायीहरू भने चिन्तित देखिएका छन् । महँगी, आर्थिक मन्दी र सुनको मूल्यमा भएको निरन्तर वृद्धिका कारण यस वर्ष सोचे अनुरूपको व्यापार हुन नसकेको व्यवसायीहरूको गुनासो छ । 

पुर्ख्यौली पेसा र पोते बुन्ने परम्परा

इन्द्रचोकको पोते बजारको इतिहास निकै पुरानो छ । यहाँ पुस्ताौँदेखि पोते उन्ने र बुन्ने काम हुँदै आएको छ । 

विगत ५६ वर्षदेखि पोते व्यवसायमा सक्रिय रहनुभएका ज्येष्ठ व्यवसायी खालिद मियाका अनुसार, यो व्यवसाय उनको हजुरबुबा, बुबा हुँदै अहिले छोराहरूसम्म हस्तान्तरण भइसकेको छ । व्यवसायीहरूका अनुसार, पोते तयार पार्न कच्चा पदार्थहरू बाहिरबाट आयात गरिन्छ र यहाँ हातैले बुनेर विभिन्न डिजाइनका पोतेहरू तयार पारिन्छ । पहिले पहिले परम्परागत र ठूला डिजाइनका पोतेहरूको माग बढी हुने गर्थ्यो, जसले गर्दा धेरै परिमाणमा पोते बिक्री हुन्थ्यो । तर, अहिलेको नयाँ पुस्ताले हलुका, साधारण र साना पोतेहरू बढी रुचाउने भएकाले पोतेको खपत घटेको छ । 

indrachowk-byapari (1)

मियाका  अनुसार अहिले त ग्राहकहरू साना र एउटा मात्र सियो भएको पोते खोज्छन् । फेरिँदो फेसनका कारण पनि पुरानो शैलीका पोतेको व्यापारमा कमी आएको छ । 

पोते खरिदका लागि इन्द्रचोक आइपुग्नुभएकी ग्राहक जुनुका अनुसार, साउन महिनाको आगमनसँगै महिलाहरूमा हरियो र रातो पोते लगाउने उत्साह बेग्लै हुन्छ । धेरैजसो महिलाहरू साउन महिनाभरि सोमबारे व्रत बस्ने र विशेष पूजाआजा गर्ने गर्दछन्, जसमा यी शृङ्गारका सामग्रीहरूको प्रयोग अनिवार्य जस्तै मानिन्छ । 

बजारको अवस्था आशा र आर्थिक चुनौती

साउन र भदौ महिनालाई चुरा तथा पोते व्यवसायको मुख्य सिजन मानिन्छ । यद्यपि, यस वर्ष बजारमा चहलपहल देखिए पनि विगतका वर्षहरू जस्तो उत्साहजनक व्यापार हुन नसकेको व्यवसायीहरूको भनाइ छ ।

पोते व्यवसायी अम्जा मियाका अनुसार यस वर्षको व्यापार विगतका राम्रा वर्षहरूको तुलनामा ६० देखि ७० प्रतिशतले गिरावट आएको अनुमान छ । सुनको मूल्यमा भएको लगातारको वृद्धिले पोते व्यवसायलाई प्रत्यक्ष असर गरेको उनको विश्लेषण छ । ग्राहकहरूले सुन खरिद गर्न कम गरेसँगै पोतेको मागमा पनि कमी आएको छ । 

पोते बजारमा जस्तै चुरा व्यवसायीहरूको भोगाइ पनि फरक छैन । साउन महिनामा हरियो चुराको माग उच्च हुने भए पनि व्यापार भने सन्तोषजनक नरहेको व्यवसायीहरूको अनुभव छ । चुरा व्यवसायी बन्दनाका अनुसार बजारमा पसलहरूको सङ्ख्या बढेकाले ग्राहकहरू बाँडिने र व्यापारमा मन्दी आउने समस्या थपिएको छ ।

indrachowk-byapari (2)

उनका लागि चुरा किन्न ग्राहकहरू त आइरहेका छन्, तर पहिलाको जस्तो बिक्री छैन । बजारमा धेरै पसलहरू भएर पनि व्यापार बाँडिएको हो । नेपालमा बिक्री हुने अधिकांश काँचका चुराहरू भारतबाट आयात हुने गरेको उनी बताउँछिन् ।

हाल नेपाली बजारमा उपलब्ध अधिकांश चुराहरू छिमेकी मुलुक भारतबाट आयात हुने गरेका छन् ।

नेपाली समाजमा साउन महिनाले सांस्कृतिक निरन्तरता र परम्परालाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको छ । इन्द्रचोकका व्यवसायीहरू वर्तमान आर्थिक शिथिलताका बाबजुद साउन महिनाको सुरुवाती दिनहरूमा व्यापारमा केही सुधार हुने आशामा देखिन्छन् । परम्परा र जीविकोपार्जनको यो संगमले इन्द्रचोकको ऐतिहासिक गरिमालाई अझै पनि कायम राखेको छ । 

indrachowk-byapari (3)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप