मौद्रिक नीति लचिलो र उद्यममैत्री बनाउन प्रधानमन्त्रीको सुझाव, गभर्नरद्वारा सहजीकरणको प्रतिबद्धता
काठमाडौँ । राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन प्रधानमन्त्री वालेन्द्र शाहले अग्रसरता देखाएका छन् ।
प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल राष्ट्र बैङ्कका गभर्नर विश्वनाथ पौडेलसँग छलफल गर्दै मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवद्र्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन सुझावहरू दिएका हुन् ।
करिब एक घण्टासम्म चलेको उक्त छलफलमा प्रधानमन्त्री शाहले सरकार र केन्द्रीय बैङ्क दुवैको सहकार्यबाट मात्र मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास व्यक्त गरे । भेटका क्रममा शाहले पुँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरूको मनोबल उच्च राख्न राष्ट्र बैङ्कले अभिभावकीय भूमिका खेल्नुपर्नेमा विशेष जोड दिए ।
मौद्रिक नीतिमा रहेका कतिपय सीमा वा अप्ठ्यारा प्रावधानहरूलाई खुकुलो पार्दै सेयर बजारमा लगानी गर्ने वातावरणलाई थप सहज र उत्साहजनक बनाउन सुझाव दिँदै प्रधानमन्त्री शाहले उद्यम क्षेत्रमा सकारात्मक सुधारको खाँचो औँल्याए । मुलुकभित्रै उद्योग, व्यवसाय र रोजगारी सिर्जना गर्न चाहने साना तथा ठूला उद्यमीहरूलाई बिनाकुनै त्रास सहज रूपमा लगानी गर्ने वातावरण सुनिश्चित गर्न र बैङ्कहरूको ब्याजदर एवं कर्जा प्रवाहका सर्तहरूलाई उद्यममैत्री बनाउन शाहले आग्रह गरे ।
यसका साथै, नेपालको जगैदेखिको आर्थिक विकासका लागि महिला उद्यमीहरू र आर्थिक–सामाजिक रूपमा पछाडि परेका क्षेत्रका व्यवसायीहरूलाई कर्जा सहुलियतमा विशेष प्राथमिकता दिई उनीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने गरी मौद्रिक उपकरणहरू परिचालन गर्नुपर्ने प्रधानमन्त्री शाहको भनाइ थियो ।
छलफलमा गभर्नर पौडेलले राष्ट्र बैङ्क आगामी मौद्रिक नीति र आफ्ना कार्यदिशालाई अत्यन्त व्यावसायिक, लचिलो र समयसापेक्ष बनाउन प्रतिबद्ध रहेको प्रष्ट पारे । उनले सरकार र राष्ट्र बैङ्क दुवैको साझा लक्ष्य अर्थतन्त्रलाई गति दिनु नै भएको स्पष्ट पार्दै राष्ट्र बैङ्कले कसैलाई पनि अप्ठ्यारो पार्ने वा त्रसित बनाउने नीति नलिने दृढता व्यक्त गरे ।
सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई राष्ट्र बैङ्कले नीतिगत रूपमा पूर्ण रूपमा सहजीकरण गर्ने र मुलुकको समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गभर्नर पौडेलको प्रतिबद्धता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण