अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
नयाँ दिल्ली । नयाँ दिल्लीको एक अदालतले भारतको परीक्षा प्रणालीविरुद्ध अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न सरकारी चिकित्सकहरूलाई आदेश दिएको छ । तीन हप्तादेखि जारी अनशनका कारण समर्थकहरूले उनको स्वास्थ्यबारे चिन्ता व्यक्त गरेपछि अदालतले बिहीबार यस्तो आदेश दिएको हो ।
गत जुन २८ देखि अनशन सुरु गरेका ५९ वर्षीय वाङचुकले चिकित्सा प्रवेश परीक्षामा कथित अनियमितता र अन्य सुधारका माग गर्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन् । ‘सोनम वाङचुकको ज्यान बचाउन जुनसुकै चिकित्सकीय हस्तक्षेप आवश्यक परे पनि गर्नुपर्छ,’ एक याचिकामाथि सुनुवाइ गर्दै दिल्ली उच्च अदालतले भनेको छ, ‘कुनै पनि नागरिकको ज्यान अमूल्य हुन्छ ।’
यस साता अभियन्ताका वकिल राकेश कुमार सैनीले दायर गरेको याचिकामा वाङचुकले अनशन नतोडे उनको जीवन निकै जोखिममा पर्ने चेतावनी दिइएको थियो । वाङचुकका केही समर्थक र आन्दोलनका सदस्यहरूले पनि उनलाई अनशन तोड्न आग्रह गरिरहेका छन् । नयाँदिल्लीको प्रसिद्ध प्रदर्शन स्थल जन्तर मन्तरको स्टेजमा अनशनरत वाङचुक बिहीबार निकै कमजोर र बिरामीजस्तो देखिए पनि उनले सहयोगका लागि अनशनस्थलमा पुगेका समर्थकहरूलाई हात हल्लाउँदै हौसला दिएका थिए ।
पेशाले इन्जिनियर वाङचुक हिमालयमा पानी संरक्षण परियोजनाहरूको अग्रणीका रूपमा प्रसिद्ध छन् । उनले सन् २०१८ मा हिमालय क्षेत्र लद्दाखमा पर्यावरण संरक्षण र स्थानीय विद्यालय प्रणाली सुधारमा योगदान पुर्याएबापत प्रतिष्ठित रामोन म्याग्सेसे पुरस्कार प्राप्त गरेका थिए ।
वाङचुकसँगै उत्तर प्रदेशका २९ वर्षीय बहादुर सिंहसहित करिब एक दर्जन विद्यार्थीहरू पनि अनशनमा बसेका छन् । सिंहले एएफपीसँग कुरा गर्दै भने, ‘म आफ्नो लागि अनशन बसेको होइन, यो प्रणालीप्रति आशा गुमाएका हरेक विद्यार्थीका लागि हो ।’
भारतभरिका आन्दोलित विद्यार्थीहरूले हालैका साताहरूमा ‘ककरोच जनता पार्टी’ नामक व्यङ्ग्यात्मक अनलाइन आन्दोलनद्वारा आयोजित प्रदर्शनमा सहभागिता जनाएका छन् । धेरै विद्यार्थीले बारम्बार प्रश्नपत्र बाहिरिँदा परीक्षार्थीहरूले परीक्षा प्रणालीप्रति नै विश्वास गुमाएको बताएका छन् ।
अघिल्लो परीक्षाको प्रश्नपत्र बाहिरिएपछि व्यापक आक्रोश उत्पन्न भएर परीक्षा रद्द गरिएकाले गत महिना करिब २२ लाख आकाङ्क्षी चिकित्सा विद्यार्थीहरूले कडा सुरक्षाका बीच पुनः परीक्षा दिएका थिए । अत्यधिक प्रतिस्पर्धात्मक यो परीक्षाको असफलता र उच्च विद्यालय परीक्षामा अलग्गै मार्किङ घोटालाले ठूलो आक्रोश उत्पन्न गरेको छ र युवा आन्दोलनलाई बल पुर्याएको छ ।
विपक्षी दलका केही सदस्यहरूले पनि वाङचुक र विद्यार्थी कार्यकर्ताहरूलाई समर्थन जनाएका छन् । वाङचुकको अभियानमा समर्थन जनाउँदै भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टीका शशि थरुरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो देशले तपाईंलाई सुन्छ । तपाईंको रिस अनुशासनहीनता होइन, यो एउटा पुस्ताको पीडा हो जसले सबै ठीक गर्यो तर पनि धोका पायो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण