शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया

शुक्रबार, ०१ साउन २०८३, १० : ५४
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • हलिउड अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीका थप दुई सन्तान, २१ वर्षीया जाहारा र २४ वर्षीय म्याडक्सले आफ्नो कानुनी नामबाट 'पिट' थर हटाउन अदालतमा निवेदन दिएका छन् ।
  • यो घटनालाई ब्राड पिट र एन्जेलिना जोलीबीचको लामो समयदेखिको पारिवारिक विवादको पछिल्लो घटनाक्रमका रूपमा हेरिएको छ ।
  • क्यालिफोर्नियाको कानुनअनुसार नाम परिवर्तन गर्नुअघि सम्भावित आपत्ति जनाउने अवसर दिन उनीहरूले लगातार चार सातासम्म स्थानीय पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरेका छन् ।

लस एञ्जलस । काठमाडौँ, हलिउड अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीका थप दुई सन्तानले आफ्नो कानुनी नामबाट ‘पिट’ थर हटाउन अदालतमा निवेदन दिएका छन् । क्यालिफोर्नियाको अदालतमा दर्ता गरिएका कागजातअनुसार २१ वर्षीया जाहारा र २४ वर्षीय म्याडक्सले व्यक्तिगत कारण देखाउँदै आफ्नो नामबाट ‘पिट’ हटाएर ‘जोली’ मात्रै राख्न अनुमति मागेका हुन् ।

यो घटनालाई ब्राड पिट र एन्जेलिना जोलीबीचको लामो समयदेखिको पारिवारिक विवादको पछिल्लो घटनाक्रमका रूपमा हेरिएको छ । सन् २०१६ मा अलग भएपछि उनीहरूबिच सम्बन्ध विच्छेद र फ्रान्सस्थित शातो मिराभाल वाइनरीको स्वामित्वलाई लिएर कानुनी विवाद जारी छ । यद्यपि उनीहरूको सम्बन्ध विच्छेद औपचारिक रूपमा सन् २०२४ को अन्त्यमा टुंगिसक्यो ।

अदालतमा दर्ता गरिएका निवेदनअनुसार जाहाराले आफ्नो नाम ‘जाहारा मार्ले जोली–पिट’ बाट ‘‘जाहारा मार्ले जोली’ बनाउन चाहेकी छन् भने म्याडक्सले पनि आफ्नो नामबाट ‘पिट’ हटाउन अनुमति मागेका छन् ।

क्यालिफोर्नियाको कानुनअनुसार नाम परिवर्तन गर्नुअघि सम्भावित आपत्ति जनाउने अवसर दिन उनीहरूले लगातार चार सातासम्म स्थानीय पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरेका छन् । कुनै आपत्ति नआएमा अदालतले सेप्टेम्बरमा उनीहरूको नाम परिवर्तनबारे निर्णय गर्ने अपेक्षा गरिएको छ ।

ब्राड पिट र एन्जेलिना जोलीका छ सन्तान छन्– म्याडक्स, प्याक्स, जाहारा, शाइलो तथा जुम्ल्याहा नक्स र भिभियन । सन् २०१६ मा निजी विमान यात्राका क्रममा भएको एक घटनापछि जोलीले पिटमाथि आफूलाई शारीरिक रूपमा दुर्व्यवहार गरेको र सन्तानहरूमाथि मौखिक दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । त्यस घटनाको अनुसन्धान भए पनि पिटमाथि कुनै आपराधिक अभियोग दर्ता गरिएको थिएन ।

यसअघि पनि जोलीले सन् २०१९ मा आफ्नो नामबाट ‘‘पिट’ हटाएकी थिइन् । त्यस्तै, उनकी छोरी शाइलोले सन् २०२४ मा कानुनी रूपमा  ‘पिट’ थर हटाउन निवेदन दिएकी थिइन् भने भिभियनले पनि सार्वजनिक कार्यक्रममा ‘भिभियन जोली’ नाम प्रयोग गरेकी थिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप