खाली पेटले बदलिएको भारतको राजनीति : वाङचुकको अनशनले दोहोर्याउला इतिहास ?
सारांश
- वातावरण अभियन्ता तथा शिक्षा सुधार अभियानका अगुवा सोनम वाङचुकले दिल्लीमा आमरण अनशन गरिरहेका छन् ।
- सन् १९५२ मा पोट्टि श्रीरामुलुको अनशनले भाषाका आधारमा भारतको राज्य पुनर्संरचनामा महत्वपूर्ण भूमिका खेलेको थियो ।
- महात्मा गान्धीले अनशनलाई आत्मबलिदानमार्फत समाज र सरकारको नैतिक चेतना जगाउने प्रभावकारी माध्यम बनाएका थिए ।
नयाँदिल्ली । दिल्लीमा वातावरण अभियन्ता तथा शिक्षा सुधार अभियानका अगुवा सोनम वाङचुकले दिनदेखि आमरण अनशन गरिरहेका छन् ।
उनको स्वास्थ्य तीव्र रूपमा बिग्रँदै गएपछि देशभर चिन्ता बढेको छ । तर भारतको इतिहास हेर्दा आमरण अनशनले केवल सरकारलाई दबाबमा पार्ने माध्यम मात्र होइन, देशको राजनीतिक र प्रशासनिक संरचना नै परिवर्तन गराउने शक्तिशाली अस्त्र पनि बनेको छ ।
सन् १९५२ मा पोट्टि श्रीरामुलुले तेलुगुभाषी समुदायका लागि छुट्टै राज्यको माग गर्दै आमरण अनशन सुरु गरेका थिए । तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू यस मागका पक्षमा थिएनन् । तर श्रीरामुलु ५८ दिनको अनशनपछि निधन भएपछि तेलुगुभाषी क्षेत्रमा व्यापक आन्दोलन चर्कियो । सरकारी भवनमा आक्रमण भए, रेलमार्ग अवरुद्ध भए र हिंसामा धेरै मानिसको ज्यान गयो ।
त्यसको केही दिनमै सरकारले आन्ध्र राज्य गठन गर्ने घोषणा गर्यो । त्यसपछि राज्य पुनर्गठन आयोग गठन भयो र भाषाका आधारमा भारतका राज्यहरूको पुनर्संरचना सुरु भयो ।
इतिहासकार रामचन्द्र गुहाका अनुसार पोट्टि श्रीरामुलुको योगदान आज धेरैले बिर्सिए पनि उनले भारतको इतिहास मात्र होइन, भूगोलसमेत परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
यही इतिहासले गर्दा आज पनि भारतमा अनशन आन्दोलनलाई शक्तिशाली राजनीतिक हतियारका रूपमा हेरिन्छ । पछिल्लो उदाहरण हुन् ५९ वर्षीय सोनम वाङचुक । उनले ‘ककरोच जनता पार्टी (सिजेपी)’ नामक व्यंग्यात्मक अनलाइन अभियानले उठाएको शिक्षा सुधारको मागलाई समर्थन गर्दै आमरण अनशन गरेका हुन् । १९ दिनसम्म नुनपानी मात्र सेवन गरेका वाङचुकको तौल ९ किलोग्रामभन्दा बढी घटिसकेको छ ।
उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै दिल्ली उच्च अदालतले सरकारलाई नियमित स्वास्थ्य परीक्षण गर्न र आवश्यक परे उपचार उपलब्ध गराउन आदेश दिएको छ ।
भारतमा अनशन आन्दोलनको परम्परा निकै पुरानो छ । हिन्दू, बौद्ध र जैन धर्मले आत्मसंयम र उपवासलाई नैतिक अभ्यासका रूपमा हेर्छन् । स्वतन्त्रता आन्दोलनका नेता महात्मा गान्धीले यही परम्परालाई आधुनिक राजनीतिक आन्दोलनको प्रभावकारी माध्यम बनाए । उनका अनुसार अनशन कुनै प्रकारको राजनीतिक ब्ल्याकमेल होइन, बरु आत्मबलिदानमार्फत समाज र सरकारको नैतिक चेतना जगाउने उपाय हो ।
सन् १९१८ देखि १९४८ सम्म गान्धीले धार्मिक हिंसा, जातीय विभेद र राजनीतिक विवादका विषयमा कम्तीमा १५ पटक आमरण अनशन गरेका थिए । उनको सबैभन्दा लामो अनशन २१ दिन चलेको थियो भने अन्तिम पाँच दिने अनशनले दिल्लीमा साम्प्रदायिक शान्ति पुनःस्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ ।
स्वतन्त्र भारतमा पनि किसान अधिकार, आरक्षण, वातावरण संरक्षण, भ्रष्टाचारविरुद्धको आन्दोलन तथा विवादास्पद कानुन खारेज गर्न अनशनको सहारा लिने क्रम जारी रह्यो । अन्ना हजारेको १३ दिने अनशनले २०११ मा भ्रष्टाचारविरुद्धको आन्दोलनलाई राष्ट्रिय बहसको केन्द्रमा ल्यायो । इरोम शर्मिलाले सशस्त्र बल विशेष अधिकार ऐन –एएफयसपिए) विरुद्ध १६ वर्षसम्म भोजन त्यागिन् । उनलाई सरकारले नाकबाट नली हालेर जबर्जस्ती खाना खुवाएर जीवित राखेको थियो । त्यस्तै, समाजसेवी मेधा पाटकरले पनि विस्थापितहरूको अधिकारका लागि पटक–पटक लामो अनशन गरेकी छन् ।
यद्यपि अनशन सधैं सफल हुन्छ भन्ने छैन । कनेक्टिकट विश्वविद्यालयका मानवशास्त्री सायन्तन साहा रोयका अनुसार अनशन प्रभावकारी हुन जनसमर्थन अत्यन्त आवश्यक हुन्छ । ‘अनशन सरकारलाई मात्र होइन, आमजनतालाई पनि लक्षित हुन्छ । जब जनताको आक्रोश बढ्छ, तब सरकारमाथि दबाब सिर्जना हुन्छ,’ उनी भन्छन् ।
यद्यपि भारतका संविधान निर्माता भीमराव अम्बेडकरले भने स्वतन्त्र भारतमा आमरण अनशनप्रति गम्भीर असहमति जनाएका थिए । सन् १९४९ मा उनले लोकतान्त्रिक संविधान लागू भइसकेपछि अनशन र सविनय अवज्ञाजस्ता आन्दोलनलाई निरन्तर प्रयोग गर्नु ‘अराजकताको व्याकरण’ बन्न सक्ने चेतावनी दिएका थिए ।
आज सामाजिक सञ्जालको युगमा धेरै मानिस यस्ता अनशनप्रति शंकालु पनि बनेका छन् । कतिपय नेताहरू गोप्य रूपमा भोजन गर्ने वा अनशनलाई केवल प्रचारको माध्यम बनाउने आरोपसमेत लाग्ने गरेको छ । त्यसैले सबै अनशनको राजनीतिक प्रभाव समान हुँदैन ।
अनशन लामो समयसम्म चल्दा शरीरमा गम्भीर स्वास्थ्य समस्या देखिन थाल्छ । दुई सातापछि शरीरले बोसोसँगै मांसपेशी पनि नष्ट गर्न थाल्छ । इलेक्ट्रोलाइट असन्तुलनले मुटुको धड्कन असामान्य भई ज्यानसमेत जान सक्छ । त्यसैले यस्तो आन्दोलन राजनीतिक संघर्षसँगै चिकित्सकीय आपतकालीन अवस्था पनि बन्ने गर्छ ।
सोनम वाङचुकको अनशन पनि अहिले त्यही मोडमा पुगेको देखिन्छ । उनको स्वास्थ्य निरन्तर कमजोर हुँदै जाँदा विपक्षी दलका नेता, सामाजिक अभियन्ता, कलाकार र संगीतकर्मीहरूले अनशन अन्त्य गर्न आग्रह गरिरहेका छन् ।
तर इतिहासले देखाएको छ । भारतमा कहिलेकाहीँ एउटा खाली पेटले भाषण, आन्दोलन वा चुनावले गर्न नसकेको राजनीतिक परिवर्तन सम्भव बनाएको छ । अब हेर्न बाँकी छ, वाङचुकको यो आमरण अनशनले पनि भारतको राजनीतिमा नयाँ मोड ल्याउँछ कि इतिहासका अन्य अधुरा बलिदानझैँ एउटा प्रतीकमा मात्र सीमित रहन्छ ।
बीबीसीबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् बागमती प्रदेशका ८ विभागीय मन्त्री
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
-
बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो तर घटेन मन्त्रीको सङ्ख्या
-
विद्युतीय पोल नसार्दा काकडभिट्टा–लौकही सडक विस्तार प्रभावित
-
बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा के हुन्छ ?
-
सरकारी गाडीमा रातो प्लेट : सुरक्षा ‘थ्रेट’ कि दुरुपयोग मोह ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण