शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित

शनिबार, ०२ साउन २०८३, ११ : ५७
शनिबार, ०२ साउन २०८३

सारांश

  • जनकपुरधाममा गुठी संस्थानले हनुमाननगरको ५ बिघा १० कठ्ठा जग्गा 'विदेह ओशो ध्यान केन्द्र' लाई २० वर्षका लागि वार्षिक १० लाख १५ हजार रुपैयाँमा भाडामा दिएपछि स्थानीय बासिन्दा र संस्थानबीच विवाद भएको छ ।
  • यसअघि स्थानीय हनुमान मन्दिरले उपभोग गरी विपन्न परिवारलाई खेतीका लागि दिएको जग्गा अर्कै संस्थालाई दिएपछि स्थानीय बासिन्दाको जीविकोपार्जनको माध्यम खोसिएको भन्दै आन्दोलित भएका छन् ।
  • स्थानीयले मन्दिरलाई जानकारी नदिई जग्गा लिजमा दिएको र यसले पुनः अतिक्रमणलाई बढावा दिएको आरोप लगाएका छन् भने ध्यान केन्द्रले कानूनी प्रक्रिया पूरा गरी जग्गा लिएको र यसलाई धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्ने जनाएको छ ।

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित हनुमाननगरमा रहेको गुठीको जग्गा गुठी संस्थानले निजी संस्थालाई भाडामा दिएपछि स्थानीय बासिन्दा र संस्थानबीच विवाद उत्पन्न भएको छ ।

सरकारले एकातिर अतिक्रमित गुठी जग्गा फिर्ता ल्याउन ९ सदस्यीय समिति गठन गरी अभियान चलाइरहेको बेला, अर्कोतर्फ संस्थानले नै मोटो रकम लिएर जग्गा लिजमा उपलब्ध गराएको भन्दै विरोध सुरु भएको हो ।

गुठी संस्थानले हनुमाननगरमा रहेको कित्ता नम्बर १ को ५ बिघा १० कठ्ठा १२ धुर जग्गा ‘विदेह ओशो ध्यान केन्द्र’ लाई २० वर्षका लागि लिजमा दिएको पाइएको छ । २०८२ जेठ ७ गतेदेखि लागू हुने गरी वार्षिक १० लाख १५ हजार रुपैयाँ भाडा बुझाउने शर्तमा धार्मिक क्रियाकलापका लागि सो जग्गा केन्द्रलाई दिइएको हो ।

यसअघि उक्त जग्गा स्थानीय हनुमान मन्दिरले उपभोग गर्दै आएको थियो । मन्दिरले स्थानीय गरिब तथा विपन्न परिवारलाई प्रतिव्यक्ति २ कठ्ठाका दरले खेतीपातीका लागि जग्गा उपलब्ध गराएको थियो, जसबापत उनीहरूले मन्दिरलाई ‘कुत’ (भाडा) बुझाउने गर्दथे । अहिले सोही जग्गा अर्कै संस्थालाई दिएपछि स्थानीय बासिन्दा आफ्नो जीविकोपार्जनको माध्यम खोसिएको भन्दै आन्दोलित भएका छन् ।

स्थानीय कलावती साहले वर्षौँदेखि आफूहरूले जोतभोग गर्दै आएको सहारा खोसिँदा ठूलो समस्या आइलागेको बताइन् । अर्का स्थानीय प्रितम राउत कुर्मीले अतिक्रमित अवस्थामा रहेको जग्गालाई आफूहरूले नै संरक्षण गरी खेतीयोग्य बनाएको दाबी गरे । ‘हामीले खेती गरेर गुजारा चलाउनुका साथै मन्दिरलाई पनि सहयोग गरिरहेका थियौँ,’ कुर्मीले भने, ‘अब हामीलाई बिचल्लीमा पार्न खोजिएको छ, यसका विरुद्ध हामी आन्दोलन गर्न तयार छौँ ।’

हनुमाननगर हनुमान मन्दिर संरक्षण समितिका महासचिव रोशनकुमार राउतले संस्थानले मन्दिर र स्थानीय कसैलाई पनि जानकारी नदिई जग्गा लिजमा दिएर अन्याय गरेको आरोप लगाए । उनका अनुसार मन्दिरको जीर्ण अवस्था सुधार गर्न र दैनिक भोगरागादिका लागि स्थानीयबाट प्राप्त हुने कुत नै मुख्य स्रोत रहेको थियो । सरकारले एकातिर अतिक्रमण हटाउने भन्ने र अर्कोतिर संरक्षण भइरहेको जग्गा अर्कैलाई सुम्पिएर पुनः अतिक्रमणलाई बढावा दिएको उनको तर्क छ ।

यता, विदेह ओशो ध्यान केन्द्रले भने आफूहरूले कानूनी प्रक्रिया पूरा गरेरै जग्गा लिजमा लिएको स्पष्ट पारेको छ । केन्द्रका सचिव स्वामी विवेक सागरले विवाद गर्ने आफ्नो उद्देश्य नभएको र नियमसंगत ढंगले नै जग्गा प्राप्त गरेको दाबी गरे । उनका अनुसार केन्द्रले उक्त स्थानमा अन्तर्राष्ट्रिय स्तरको योग तथा ध्यान केन्द्र निर्माण गर्ने लक्ष्य राखेको छ । साथै, त्यहाँ मिथिलाका विद्वान–विदुषीका प्रतिमा र विभिन्न देवी–देउताका मन्दिरहरू समेत निर्माण गरी पर्यटकीय तथा धार्मिक स्थलका रूपमा विकास गरिने उनको भनाइ छ ।

मन्दिरलाई जग्गा खाली गर्न पत्र आएपछि मात्र आफूहरूले यसबारे जानकारी पाएको स्थानीयको भनाइ छ । हाल सो जग्गालाई लिएर उत्पन्न विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले पहल गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप