प्रेम र कर्तव्यको गुजुल्टो
सारांश
- प्रेम एक भाव हो भने कर्तव्य एक दायित्व हो, जसलाई कानुन र नैतिकताका आधारमा विभाजन गर्न सकिन्छ ।
- कानुनी कर्तव्यमा राज्यको कानुन मान्नु र कर तिर्नु पर्छ भने नैतिक कर्तव्यमा देशप्रेम र परिवारप्रतिको जिम्मेवारी पर्दछ ।
- प्रेमलाई मापन गर्न सकिँदैन र यो जीवनको आधार हो, जबकि कर्तव्यलाई पूरा गर्नुपर्ने दायित्वका रूपमा हेरिन्छ ।
‘प्रेम’ र ‘कर्तव्य’ भन्ने शब्दहरूसँग हामी भरपूर मात्रामा परिचित छौँ । प्रेम भनेको भाव हो । प्रेम आफूले अर्कोलाई र आफैँले आफैँलाई गरिन्छ । कर्तव्य भनेको एकअर्काप्रतिको दायित्व हो । मानिसहरू जति अरूलाई प्रेम गर्छन्, त्यति आफूलाई गरेका हुँदैनन् । आफ्नो शरीर, मन, भावना र चेतनाको ख्याल कमै मानिसलाई हुने गर्छ ।
यहाँ उठाउन खोजिएको सन्दर्भ एकले अर्कोलाई गरिने प्रेमसँग सम्बन्धित छ । प्रेम यसरी नै गर्ने भन्ने ठोस स्वरूप कहीँ उल्लेख भएको पाइँदैन । तर, कर्तव्यलाई भने लिपिबद्ध गर्न सकिन्छ । यसरी हेर्दा कर्तव्यको निर्वाह प्रत्यक्ष रूपमा देख्न सकिन्छ भने प्रेमलाई लेख्न र देख्न सकिँदैन ।
यी दुई शब्दलाई गहिराइमा बुझ्दा प्रेम भावपूर्ण सेवामार्फत प्रकटीकरण हुन्छ भने कर्तव्यलाई दायित्वपूर्तिका रूपमा देख्न सकिन्छ ।
- कर्तव्यका प्रकार
कर्तव्यलाई दुई प्रकारले हेरिन्छ– कानुनी कर्तव्य र नैतिक कर्तव्य । सबै देशको संविधानमा नागरिकका अधिकार र कर्तव्यहरू उल्लेख गरिएका हुन्छन् । राज्यको कानुन मान्नु, अर्काको अधिकारमा खलल नपुर्याउनु, राज्यले निर्धारण गरेको कर तिर्नु आदि नागरिकका कानुनी कर्तव्य हुन् ।
देशको कानुनको पालना गर्दा कुनै पुरस्कार पाइँदैन, तर नगर्दा भने दण्ड पाइन्छ । देशप्रतिको कर्तव्यभित्र केही मात्रामा प्रेम अन्तर्निहित हुन्छ । तर, कुनै बेला कानुन प्राविधिक रूपले अक्षरशः मात्र पालना हुन्छ भने त्यहाँ प्रेम नहुन सक्छ ।
यसैगरी, कर्तव्य केवल नागरिकको मात्र हुँदैन । राज्य, सरकार, राजनीतिक दल, समुदाय वा समूहका आ–आफ्नै तहका कर्तव्य हुन्छन् । कानुनी कर्तव्य पालना गराउनका लागि देशमा कानुन, नीति, नियम र आदेशहरू हुने गर्छन् । यसैभित्र व्यक्तिका कर्तव्यहरू रहेका हुन्छन् । नेपाल सरकारले हालै मात्र प्रकाशित गरेको ‘सदाचार नीति, २०८३’ लाई पनि एउटा उदाहरणका रूपमा लिन सकिन्छ ।
- प्रेमको अन्तर्निहित तह
कर्तव्यलाई कानुनी र नैतिक भनेर विभाजन गरे जसरी प्रेमलाई वर्गीकरण गर्न सकिँदैन । तर पनि आफ्नो देशको सिमानाको संरक्षण गर्नु, हावापानीलगायत सम्पदाप्रति माया गर्नु, देशका महत्त्वपूर्ण सूचनाहरूको जतन गर्नु, भेषभूषा र चाडपर्वप्रति सम्मान गर्नु नैतिक कर्तव्यभित्र पर्छन् ।
यसैगरी, देशका उत्पादनको उपभोगमा प्राथमिकता दिनु, लडाइँ वा युद्धको समयमा देशको पक्षमा काम गर्नु देशप्रेम हो । समुदायका सबै सदस्यहरूप्रति आदरभाव तथा सामाजिक मूल्यमान्यताप्रति सद्भाव राख्नु कर्तव्य हो । यी कर्तव्यहरूमा राष्ट्रप्रेम अन्तर्निहित छ ।
यसैगरी व्यक्तिगत तहमा हेर्दा, नागरिकले एकअर्कालाई समभावले हेर्ने, सक्नेले नसक्नेलाई मद्दत गर्नेजस्ता कुरा पनि विभिन्न दस्तावेजमा उल्लेख हुन्छन् । वृद्ध आमाबाबु र साना छोराछोरीप्रतिको प्रेम पनि नैतिक कर्तव्यभित्र पर्छ ।
नेपालको कानुनी तहमा एउटा उदाहरणलाई हेरौँ ।
‘ज्येष्ठ नागरिक ऐन, २०६३’ को पछिल्लो संशोधन २०७९ मा वृद्ध आमाबाबुलाई आफ्नो हैसियतअनुसार लालनपालन गर्नुपर्ने कुरा कर्तव्य हुन्छ भनिएको छ । यहाँ आमाबाबुप्रति गरिने प्यार र सम्मानलाई नैतिक कर्तव्यका रूपमा लिइएको पाइन्छ । कानुनले कर्तव्य भने पनि यहाँ भन्न खोजिएको कुरा प्रेम नै हो । यस नैतिक कर्तव्यभित्र प्रेम अन्तर्निहित रहने कानुनको अपेक्षा देखिन्छ ।
नेपाली संस्कृतिमा छोराछोरीहरूको उचित लालनपालनलाई पनि कर्तव्यमै राखिएको देखिन्छ । ‘बालबालिकासम्बन्धी ऐन, २०७५’ लाई हेर्दा परिवारको साथ नपाएकालाई कसरी न्यायोचित व्यवहार गर्ने भन्ने दृष्टिकोणतर्फ बढी लक्षित देखिन्छ । यी नैतिक कर्तव्यहरूको उल्लङ्घन भए नेपालजस्ता मुलुकका सामान्य कानुनले सजाय दिन वा सहजै दण्डित गर्न सक्ने देखिँदैन ।
- प्रेम, परिवार र सामीप्यता
विकसित मुलुकका कानुनमा छोराछोरीप्रतिको कर्तव्य पालनाका लागि बलियो कानुन पाइन्छ । नेपालको सन्दर्भमा हेर्दा छोराछोरीलाई राम्रो स्कुलमा धेरै पैसा तिरेर पढाएको हुन सक्छ । मागेजति नगद वा जिन्सी उपलब्ध गराएको हुन सक्छ । लाउन खानमा कुनै सम्झौता गर्न नपरेको होला ।
तर, बाबुआमाले आफूलाई समय दिएका छन्/छैनन्, खेलाएका छन्/छैनन् भन्ने कुरा बालबालिकाले मसिनोगरी नियालिरहेका हुन्छन् । यस्तोमा जति नै भौतिक सम्पन्नता प्राप्त गरे पनि प्रेमको आभास पाएका हुँदैनन् छोराछोरीले । उनीहरूले समयको माग गरिरहेका हुन्छन् । आमाबाबुले जहिले पनि हतार गरेको कुरा उनीहरूलाई मन पर्दैन ।
वृद्ध आमाबाबु र छोराछोरीलाई हुने प्रेमको चाहनामा केही समानता र केही असमानता देखिन्छ । आमाबाबुको अपेक्षा ठुलो ऐसआरामको नभई छोराबुहारीले दिने समयको महत्त्व हुन्छ । नोकरचाकरले खुवाएको खिरभन्दा आफ्नाले मीठो वचनले दिएको सुक्खा रोटीले सन्तुष्टि दिन्छ ।
नेपालको ग्रामीण समाजमा अझै पनि छोरा बाहिर जाने र बुहारीले बालबच्चा, सासूससुराको हेरचाह गर्ने चलन छ । सहरमा भने केही परिवारका दुवै जनालाई बाहिरी कामको अवसर छ । यस अवस्थामा पनि अरूले पकाएको खाना छोराबुहारीले प्रेमपूर्वक पस्केर दिएमा अमृतसरह मानिन्छ ।
आमाबाबुलाई भौतिक वस्तुहरू चाहिँदैन भन्न खोजिएको होइन । आधारभूत आवश्यकताका वस्तु र सेवा सबैलाई चाहिन्छ । बाबु वा आमामध्ये कुनै एक्लो छन् भने उनीहरूको मानसिक भाव हामीले सोचेको भन्दा धेरै फरक र भिन्न घनत्वको हुन सक्छ ।
आमाबाबुमा हुने सामान्य चाहना भनेको सँगै भएका छोराबुहारी बेलुका सुत्नुअघि एकैछिन आफूसँग बसुन् भन्ने हुन्छ । यसरी बसेपछि दिनभरको एक्लोपन तुरुन्तै मेटिन्छ । बाहिर काम गरेर आएकाहरू थाकेका हुन सक्छन् । कुराकानी गर्न नभ्याउँदै उनीहरू भुसुक्कै निदाए पनि आफूसँग बसेको महसुस आमाबाबुलाई हुन्छ ।
देशबाहिर भएका आफ्ना परिवारका सदस्यहरू नेपाल फर्किऊन् र सँगै बस्न पाइयोस् भन्ने चाहना सबै आमाबाबुको हुन्छ । यसरी बाहिर भएकाहरूसँग गरिने नियमित सम्पर्कका कुरा आउँछन् । छोराछोरीले फोन नगरेको भन्दा गरेको कुरालाई उनीहरूले धेरै महत्त्वका साथ हेरिरहेका हुन्छन् ।
त्यसैले यतिबेला कुन प्रेम, कुन कर्तव्य ? यसको गुजुल्टो फुकाउन सकिँदैन ।
- प्रेमको मात्रा र भार
हुन त हृदयभावले पूरा गरिएको कर्तव्यभित्र कत्ति पनि प्रेम हुँदैन भन्न खोजिएको होइन । एकले अर्काप्रति गरिने सेवा, समयको लगानी, भौतिक उपस्थिति र स्पर्श, मीठो बोली, क्षमाभाव आदिलाई प्रेमकै पर्यायवाची रूप मानिन्छ । तर पनि प्रेम र कर्तव्यलाई समकक्षी मान्न सकिँदैन ।
प्रेम झलमल्ल लागेको प्रकाश हो भने कर्तव्य भनेको केही तातो र उज्यालो दिने रोशनी मात्र हो । कर्तव्य विकासोन्मुख स्थिति हो, प्रेम पूर्ण विकसित भाव हो । आँखामा आँखा जुधाएर निस्किएको एक मुस्कानको मूल्य कुनै वस्तुसँग तुलना गर्न सकिँदैन ।
भनिन्छ, संसार प्रेमले बनेको हुन्छ र प्रेममै अडेको हुन्छ । त्यसैले प्रेम जीवनको आधार हो । प्रेममा अपनत्व हुन्छ । दोहोरो आभामण्डलको मिलन हुन्छ । यसैगरी प्रेममा सम्झौता र सर्त हुँदैन । लेनदेनको हिसाबकिताब हुँदैन । प्रेमको मात्रा र भारको मापन हुँदैन । त्यसैले भनिन्छ, प्रेम पूर्ण हो । यसमा थप्नुपर्ने केही हुँदैन ।
प्रेममा प्रेम जोडे पनि, घटाए पनि, गुणा वा भाग जे गरे पनि आउने उत्तर प्रेम नै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण