शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
पुस्तक चर्चा

बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि

शनिबार, ०२ साउन २०८३, १७ : ३०
शनिबार, ०२ साउन २०८३

सारांश

  • पुस्तकले कक्षाकोठालाई ज्ञान निर्माण, सीप सिक्ने र अवधारणा विकास गर्ने थलोका रूपमा मात्र नभई सिकाइमा संवाद, अन्तरक्रिया र सहभागिता हुने सक्रिय समुदायको रूपमा पुनर्परिभाषित गरेको छ ।
  • सञ्चारशील कक्षाकोठाले शिक्षक र विद्यार्थीबिचको अर्थपूर्ण अन्तरक्रियाले कसरी सिकाइलाई जीवन्त, सान्दर्भिक र प्रभावकारी बनाउन सक्छ भन्ने व्याख्या गर्दछ ।
  • यो पुस्तकले कक्षाकोठामा सञ्चारलाई प्रभावकारी शिक्षणको आधारस्तम्भको रूपमा प्रस्तुत गर्दै शिक्षकलाई केवल सूचना दिने व्यक्ति नभई संवादका सहजकर्ता बन्न प्रेरित गर्छ ।

म दुई वटा व्यावहारिक घटनाबाट प्रसंग अघि बढाउँछु । पहिलो प्रसंग, मीनपचासको छुट्टीको बेला थियो । विद्यालयहरूले छुट्टीमा ‘विन्टर क्याम्प’ चलाउँथे । त्यही मेसोमा एक दिन विद्यालयमा एक शिक्षकले एक विद्यार्थीलाई गणित विषयको कुनै समस्या हल गर्न सिकाउँदै थिए । उनले चार–पाँच पटक कोशिश गरे तर विद्यार्थीले सिक्न सकिनन् ।

यो दृश्य म अलि परबाट हेरिरहेको थिएँ । यो सबै देखेपछि मैले ती शिक्षकलाई भनें, ‘यो कुरा मलाई सिकाउनू, म नानीलाई सिकाउँछु ।’ उनले मलाई सिकाए, त्यसपछि मैले त्यो समस्या समाधान गर्ने तरिका ती विद्यार्थीलाई सिकाएँ । उनले एकै पटकमा हल गर्ने तरिका सिकिन् ।

दोस्रो प्रसंग, एउटा प्राथमिक कक्षाको विद्यार्थीले किताबको पाठ देखाउँदै भने, ‘सर, यो पाठमा एउटा वाक्य गलत छ ।’ मैले किताबको गलत वाक्य देखाउन भनें, उनले देखाए । वाक्य यस्तो थियो, ‘पानी पर्नमा बोटबिरुवाको ठूलो हात हुन्छ ।’ मैले उनलाई सोधें, ‘यो किन गलत छ ?’

उनले विश्वस्त स्वरमा भने, ‘सर, बोटबिरुवाको ठूलो ‘हात’ होइन, ‘पात’ हुन्छ । गल्तीले ‘हात’ लेखिएछ ।’ यदि मैले ‘होइन, यो ठीक छ’ भनेको भए उनको सिकाइ रोकिन्थ्यो । माथिका दुबै उदाहरणहरूले के देखाउँछन् भने सिकाइमा सञ्चारको भूमिका महत्वपूर्ण छ ।

कक्षाकोठामा सिकाइ तब शक्तिशाली हुन्छ, जब सञ्चार डर होइन, संवाद बन्छ ।

दक्ष सञ्चारकर्मी तथा अध्यापन कार्यमा लामो समयदेखि क्रियाशील सञ्चारशास्त्री डा. रघु मैनालीद्वारा लिखित ‘सञ्चारशील कक्षाकोठाः रूपान्तरणकारी पठनपाठनको आधारशिला’ नामक पुस्तकले आधुनिक शिक्षण–सिकाइको निरन्तर परिवर्तनशील यात्रामा कक्षाकोठालाई केवल ज्ञान निर्माण गर्ने, सीप सिक्ने र अवधारणा विकास गर्ने थलो मात्र नभई सिकाइमा संवाद, अन्तरक्रिया र सहभागिता हुने सक्रिय समुदायको रूपमा पुनर्परिभाषित गरेको छ ।

यो पुस्तक सञ्चारशील कक्षाकोठाले कक्षा सञ्चालनको पारम्परिक संरचनालाई चुनौती दिँदै शिक्षक र विद्यार्थीबिचको अर्थपूर्ण अन्तरक्रियाले कसरी सिकाइलाई जीवन्त, सान्दर्भिक र प्रभावकारी बनाउन सक्छ भनेर गहिरो तर सरल ढंगले व्याख्या र विश्लेषण गरेको छ ।

पुस्तकमार्फत प्रस्तुत विधि, दृष्टिकोण र उदाहरणहरूले आजका शिक्षकहरूलाई आफ्नो कक्षालाई अझै सक्षम, समावेशी र प्रेरणादायी थलोका रूपमा रूपान्तरण गर्न महत्वपूर्ण आधार प्रदान गर्छन् । यो पुस्तकले सिकाइलाई संवादमा रूपान्तरण गर्ने यात्रा सिर्जना गर्छ । कक्षा ज्ञान सुनाउने ठाउँ होइन, अर्थ निर्माण गर्ने समुदाय बन्नुपर्छ ।

हामी शिक्षकहरूमा सञ्चारका बारेमा एउटै सोच र समझ छैन । ‘के भयो भने सञ्चार हुन्छ ?’ भन्ने बोध नभएकैले हामीले सिकाइमा सञ्चारको सही प्रयोग गर्न सकिरहेका छैनौं ।

शिक्षक सूचना दिने व्यक्ति होइन, संवादका सहजकर्ता हुनुपर्छ । सिकाइ एकतर्फी होइन, सहभागितामूलक र सान्दर्भिक हुनुपर्छ । सञ्चारशील कक्षाकोठा भनेको संरचना परिवर्तन होइन, सोच परिवर्तन हो, जहाँ सिकाइ संवादमा रूपान्तरण हुन्छ ।

यस ‘सञ्चारशील कक्षाकोठा’ पुस्तकको पहिलो अध्यायले कक्षाकोठामा सञ्चारलाई प्रभावकारी शिक्षणको आधारस्तम्भको रूपमा प्रस्तुत गरेको छ ।

हामी शिक्षकहरूमा सञ्चारका बारेमा एउटै सोच र समझ छैन । ‘के भयो भने सञ्चार हुन्छ ?’ भन्ने बोध नभएकैले हामीले सिकाइमा सञ्चारको सही प्रयोग गर्न सकिरहेका छैनौं । शिक्षकले केवल सूचना, तथ्य, जानकारी, परिभाषा हस्तान्तरण गर्ने होइन । शिक्षकको काम विद्यार्थीको सोच, अनुभव र व्याख्यालाई समेटेर ज्ञान निर्माण, सीप सिकाइ र अवधारणाको विकास गर्दै विद्यार्थीमा रचनात्मक चिन्तन र महत्वपूर्ण सोच विकास गराउने वातावरण निर्माण गर्नु हो ।

यस्तो वातावरण निर्माणमा सञ्चारको भूमिका अपरिहार्य हुन्छ । जब शिक्षकले भाषिक, सांस्कृतिक र सम्बन्धगत पक्षलाई संवेदनशीलतापूर्वक प्रयोग गर्छन्, तब सिकाइ स्पष्ट, समावेशी र द्विपक्षीय बन्छ, जसले कक्षाकोठालाई अर्थपूर्ण संवादको केन्द्रमा रूपान्तरण गर्छ ।

कक्षामा प्रायः हुने सञ्चारजन्य त्रुटिहरू, जस्तै अस्पष्ट सन्देश, अनुमानमा आधारित बुझाइ वा गलत सांस्कृतिक व्याख्याजस्ता विषयलाई पनि यो अध्यायमा समेटिएको छ । यी सबै तत्वहरूको समझ शिक्षकका लागि अति आवश्यक हुन्छ किनकि प्रभावकारी सञ्चारले मात्र विद्यार्थीलाई सुन्ने, बुझ्ने र सिकाइ क्रियाकलापमा संलग्न गराउने वातावरण सिर्जना गर्न सक्छ ।

दोस्रो अध्यायले कक्षाकोठामा सञ्चार वास्तवमा कसरी बन्छ, बग्छ, र अर्थ निर्माण गर्छ भन्ने मौलिक पक्षलाई प्रस्ट रूपमा उद्घाटन गर्छ ।

यस अध्यायमा ‘सञ्चार’ केवल बोल्ने–सुनिने क्रिया होइन, सन्दर्भ, माध्यम, वातावरण र सम्बन्धले आकार दिएको एक जटिल तर रोचक प्रक्रिया हो भन्ने कुरा शिक्षकलाई अनुभूत गराउँछ । कक्षामा प्रयोग हुने भाषा, शिक्षकको सन्देश, विद्यार्थीको प्रतिक्रिया, भौतिक व्यवस्था वा डिजिटल प्लेटफर्म, सबै मिलेर सिकाइको गुणस्तर निर्धारण गर्छन् ।

यिनै विविध पक्षलाई सहज र जीवन्त उदाहरणसहित प्रस्तुत गरिएकाले यो अध्याय पढ्दा शिक्षकले आफ्नो दैनिक अभ्यास पुनर्विचार गर्न प्रेरित गर्छ । कक्षामा स्पष्ट, संवेदनशील र सन्दर्भानुकूल सञ्चारले कसरी सिकाइ वातावरण परिवर्तन गर्न सक्छ भन्ने बुझ्न प्रत्येक शिक्षकका लागि यो अत्यन्त उपयोगी सामग्री रहेको छ ।

यस पुस्तकको तेस्रो अध्यायले कक्षाकोठालाई केवल भौतिक स्थानको रूपमा मात्र स्वीकार नगरी सञ्चारले बनाएको एक ‘सिकाइ वातावरण’ का रूपमा ग्रहण गरेको छ ।

सिकाइलाई खुला, सुरक्षित र संवादमैत्री बनाउन चाहने शिक्षकका लागि यो अध्याय अत्यन्त प्रेरणादायी छ ।

यस पाठले सञ्चारका विविध आयामहरूलाई रोचक उदाहरणसहित व्याख्या गरेको छ । शिक्षकले कक्षाकोठामा गर्ने सञ्चारले विद्यार्थीको सिकाइमा कसरी प्रभाव पार्छ भन्ने कुरा मिहिन ढंगले लेखिएको छ ।

जस्तै शिक्षकले ‘तिमीहरू किन कक्षामा ध्यान दिंदैनौ ?’ भन्ने आरोपी भाषा प्रयोग गर्दा विद्यार्थी तुरुन्तै रक्षात्मक बन्छन् तर शिक्षकले यस वाक्यको सट्टा ‘हामी कसरी यो गतिविधिलाई अझ राम्रो बनाउन सक्छौं ?’ भन्ने वर्णनात्मक र सहयोगी भाषा प्रयोग गर्दा विद्यार्थीहरू उत्साहित भएर सिकाइ क्रियाकलापमा सहभागी हुन्छन् ।

सिकाइलाई खुला, सुरक्षित र संवादमैत्री बनाउन चाहने शिक्षकका लागि यो अध्याय अत्यन्त प्रेरणादायी छ ।

चौथो अध्यायले कक्षामा देखिने शिक्षक र विद्यार्थीको व्यवहार तथा सञ्चारमा आउने सामान्य समस्याहरूलाई गहिरो रूपमा विश्लेषण गरेको छ । शिक्षकको ‘इमेज र शैली’ ले विद्यार्थीहरूमा दूरी र डर सिर्जना गर्छ, जुन सिकाइका लागि बाधक हुन्छ ।

शिक्षकको ‘माइन्डसेट’ कति महत्वपूर्ण छ भन्ने कुरालाई पनि यस पाठमा जोड दिइएको छ । उदाहरणका लागि शिक्षकको ‘विद्यार्थीले सिक्दैनन्’ भन्ने स्थिर सोचले कक्षालाई निरुत्साही बनाउँछ, जबकि शिक्षकको ‘उनीहरूले सिक्न सक्छन्’ भन्ने विकासशील सोचले सम्पूर्ण सिकाइ वातावरण परिवर्तन गर्छ ।

शिक्षकको सञ्चार व्यवहारले विद्यार्थीको आत्मविश्वास र सहभागितामा गहिरो प्रभाव पार्छ । यही वास्तविकतालाई यो अध्यायले विस्तृत रूपमा विश्लेषण गरेको छ, जुन शिक्षकका लागि अत्यन्त उपयोगी सामग्री बनेको छ । यो अध्याय शिक्षकलाई आफ्नै व्यवहार, आवाज, धारणा र दैनिक सञ्चारलाई पुनर्विचार गर्न चेतनशील बनाउने अत्यन्त उपयोगी स्रोतको रूपमा रहेको छ ।

शिक्षकको स्पष्ट व्याख्याले विद्यार्थीको समझ निर्माण गर्छ । शिक्षकको अनुहार, हातको हाउभाउ, मुस्कान वा झर्को–फर्कोले कक्षाको वातावरण एकै सेकेन्डमा बदलिदिन्छ ।

पाँचौं अध्यायले कक्षामा हुने सञ्चारलाई समाजशास्त्रीय चश्माबाट हेर्न, बुझ्न र व्यवहारमा प्रयोग गर्न सिकाउँछ । कक्षा वास्तवमा एउटा ‘सानो समाज’ हो, जहाँ विद्यार्थीको ‘घर, परिवार, भाषा, बानी–व्यवहार र सोच’ मिलेर एउटा सामाजिक नाटक मञ्चन भइरहेको हुन्छ । भाषिक, सांस्कृतिक विविधताले भरिएको नेपाली समाजमा रहेका विद्यालयमा शिक्षण गर्ने शिक्षकले सञ्चार समाजशास्त्रलाई बुझ्न जरुरी छ ।

सञ्चारमा शिक्षकले आफ्नो शक्ति विवेकपूर्वक प्रयोग गरेनन् भने विद्यार्थीको सिकाइ कमजोर हुन्छ । शिक्षकले आफ्ना विद्यार्थीहरूलाई ‘कसरी बुझ्ने’ मात्र होइन, ‘किन बुझ्न जरूरी छ’ भन्ने थाहा पाउन शिक्षकका लागि यो पाठ निकै उपयोगी सामग्री हुन सक्छ ।

कक्षाकोठामा सिकाइलाई जीवन्त, साझा र व्यवस्थित पहलका रूपमा परिणत गर्न चाहने शिक्षकका लागि छैटौं अध्याय अत्यन्त उपयोगी, पढ्नैपर्ने सामग्री बनेको छ ।

शिक्षकको स्पष्ट व्याख्याले विद्यार्थीको समझ निर्माण गर्छ । शिक्षकको अनुहार, हातको हाउभाउ, मुस्कान वा झर्को–फर्कोले कक्षाको वातावरण एकै सेकेन्डमा बदलिदिन्छ । शिक्षकको ‘जसरी पनि बुझ्नैपर्छ !’ भन्ने अभिव्यक्तिले तनाव बढाउँछ ।

शिक्षकको व्यवहार, आवाज, अभिव्यक्ति र समन्वयले विद्यार्थीको सोच विकासमा कति गहिरो प्रभाव पार्छ भन्ने कुरा यस अध्यायले अत्यन्त व्यावहारिक रूपमा खोतलेको छ । यो पाठले कक्षामा सञ्चार किन बहुआयामी हुन्छ भन्ने कुरा बुझ्न सहयोग गर्छ, जसले शिक्षकलाई सिकाइ अर्थपूर्ण बनाउन सहयोग गर्छ ।

सातौं अध्यायले सिकाइका विभिन्न दृष्टिकोणहरूलाई केवल ‘सैद्धान्तिक कुरा’ नभई शिक्षकको दैनिक अभ्याससँग जोडिएको जीवन्त शक्तिको रूपमा प्रस्तुत गर्छ । सिकाइका विभिन्न दृष्टिकोणहरूले सिकाइलाई हेर्ने फरक झ्याल खोलिदिन्छ ।

शिक्षकले यी दृष्टिकोण बुझ्नैपर्छ । यिनै दृष्टिकोण जान्ने शिक्षकले सिकाइ अर्थपूर्ण बनाउन सक्छन् । कक्षामा ‘एकै ढाँचाको शिक्षा’ होइन, विद्यार्थीको आवश्यकता अनुसार रूपान्तरित, न्यायपूर्ण र प्रभावकारी सिकाइ अनुभवको निर्माण गर्न सक्छन् ।

यसले ‘राम्रो शिक्षक एक विधिमा अड्किंदैन, कहिले कुन विधि प्रयोग गर्ने भन्ने कला जान्दछ’ भन्ने कुरालाई केन्द्रमा राखेको छ ।

नेपाली शिक्षालाई रूपान्तरण गर्न, हामी के चाहन्छौं ? ‘बजारमा बिक्ने साधन’ उत्पादन गर्ने शिक्षा ? वा प्रश्न गर्ने, सोच्ने, संवाद गर्न सक्ने नागरिक ?

यही मूल प्रश्नलाई अध्याय आठले अत्यन्त प्रभावकारी रूपमा उठाएको छ । नेपाली सन्दर्भमा दशकौंदेखि बजारमा बिक्ने साधन उत्पादन गर्ने शिक्षा हावी छ । विद्यार्थीलाई परीक्षा उत्तीर्ण गराउनु, तथ्य कण्ठ गराउनु, ‘उत्तम नतिजा’ ल्याएर विद्यालयको प्रतिष्ठा बढाउनु नै शिक्षाको मुख्य लक्ष्य देखिएको छ ।

यसले शिक्षकलाई ‘सूचना दिने मेशिन’ र विद्यार्थीलाई ‘नोटबुक भर्ने यन्त्र’मा सीमित बनाएको छ । यस्तो प्रणालीमा प्रश्न गर्ने, बहस गर्ने, संवादद्वारा अर्थ निर्माण गर्ने परम्परा कमजोर रहन्छ, जसको परिणाम स्मरणशक्ति बलियो तर आलोचनात्मक चेत कमजोर भएको हुन्छ । अबको शिक्षा प्रश्न गर्ने र आलोचनात्मक सोच राख्ने नागरिक बनाउनेतर्फ ढल्किनुपर्छ ।

सामाजिक विषयमा ‘जातीयता, लैंगिकता वा असमानता’ जस्ता विषयमा शिक्षक–विद्यार्थीबिच खुला संवादलाई प्राथमिकता दिंदा विद्यार्थी पाठ मात्र सम्झन्नन्, उनीहरूले आफ्नो समाज पहिचान गर्छन् ।

विज्ञान अध्ययनमा पनि ‘यो किन यस्तो हुन्छ ?’ भन्ने संवादले प्रयोग, परीक्षण र अन्वेषणशीलता बढाउँछ । सिकाइमा सञ्चारलाई प्राथमिकतामा राखेनौं भने हामीले उत्पादन गर्ने नागरिक कस्ता होलान् ? अब प्रश्न गर्ने बेला भइसक्यो । यही गहन सैद्धान्तिक चेत यो पाठले हामीलाई दिन्छ ।

यस पुस्तकले अघि सारेको ‘सञ्चारशील कक्षाकोठा’ शिक्षण–सिकाइको एउटा प्रविधि मात्र होइन, यो शिक्षा हेर्ने दृष्टिकोणकै आधारभूत रूपान्तरण हो ।

अन्तिम पाठ ‘सञ्चारशील शिक्षणशास्त्र’ले कक्षाकोठामा सञ्चार विधिलाई कक्षाकोठाको केन्द्रविन्दु बनाउने दृष्टिकोण प्रस्तुत गर्छ । यसले शिक्षण–सिकाइलाई केवल शिक्षककेन्द्रित वा तथ्यकेन्द्रित प्रक्रियामा सीमित नगरी, विद्यार्थी र शिक्षक बीचको संवाद, अन्तरक्रिया, सहकार्य र अर्थ निर्माण मार्फत जीवन्त बनाउँछ ।

नेपाली कक्षाकोठामा प्रायः शिक्षकले व्याख्या गर्ने र विद्यार्थी सुन्ने परम्परा रहँदै आएको छ । शिक्षक केवल सन्देशको सञ्चारक मात्र होइन, मार्गदर्शक र सहभागी बन्नुपर्छ । शिक्षकका लागि सञ्चार विधिको महत्व ठूलो छ । यसले पारम्परिक ‘कठोर आदेश–अनुशासन’ शैलीभन्दा मुक्त, समावेशी र प्रेरक कक्षा सिर्जना गर्न सहयोग गर्छ । यस विधिले शिक्षकलाई चुनौती र अवसर दुवै दिन्छ ।

यस पुस्तकले अघि सारेको ‘सञ्चारशील कक्षाकोठा’ शिक्षण–सिकाइको एउटा प्रविधि मात्र होइन, यो शिक्षा हेर्ने दृष्टिकोणकै आधारभूत रूपान्तरण हो । यस्तो कक्षाकोठामा ज्ञान पढाउने विषय होइन, संवाद मार्फत निर्माण हुने प्रक्रिया हो ।

शिक्षक निर्देशनकर्ता होइन, सिकाइका सहजकर्ता हुन् । विद्यार्थी श्रोता मात्र होइन, अर्थ निर्माणका सक्रिय सहयात्री हुन् । प्रश्न, विचार, असहमति, गल्ती र अनुभवलाई सम्मान गर्ने सञ्चारशील वातावरणले सिकाइलाई डरमुक्त, सान्दर्भिक र जीवनसँग जोड्छ ।

जब कक्षाकोठा बोल्ने, सुन्ने, सोच्ने र महसूस गर्ने सुरक्षित समुदायमा रूपान्तरण हुन्छ, तब शिक्षाले केवल परीक्षा पास गराउने काम होइन, जिम्मेवार, चिन्तनशील र जागरुक नागरिक निर्माण गर्ने आफ्नो मूल उद्देश्य पूरा गर्छ । यही कारण सञ्चारशील कक्षाकोठा पद्धति आधुनिक शिक्षाको विकल्प होइन, अपरिहार्य आधार हो ।

सारांशमा, यो पुस्तकले कक्षालाई केवल ज्ञान हस्तान्तरणको स्थान नभई संवाद, सहभागिता र अर्थ निर्माणको जीवन्त वातावरण बनाउने दृष्टिकोण प्रस्तुत गर्छ । यसले शिक्षकलाई आफ्नो भूमिका पुनर्विचार गर्न प्रेरित गर्छ ।

कक्षामा प्रचलित ‘सूचना दिने–सुनाउने’ र ‘कठोर अनुशासन’ शैलीका सीमा र यसका असरलाई उजागर गर्दै, पुस्तकले शिक्षकलाई सक्रिय सहभागिता, समावेशिता, संवादमूलक र आलोचनात्मक सोच विकास गर्ने कक्षा निर्माणका लागि चुनौती र अवसर दुवै दिन्छ ।

यो पुस्तक पढ्दा शिक्षकले केवल सिकाउन होइन, कसरी सिकाइलाई जीवन्त, अर्थपूर्ण र लोकतान्त्रिक बनाउन सकिन्छ भन्ने बुझ्छन् । यस पुस्तकले बदलिँदो कक्षाकोठाका लागि एउटा नयाँ दृष्टि दिएको छ, जुन शिक्षक, शिक्षाकर्मी, अनुसन्धाता र सिकाइमा चासो राख्ने सबैको लागि उपयोगी सामग्री बनेको छ ।

शिक्षा र सिकाइको क्षेत्रमा एउटा बेग्लै पहिचानसहित आएको यो पुस्तकले सिकाइको क्षेत्रमा हलचल ल्याउने विश्वास लिएको छु ।

(वरिष्ठ पत्रकार, अध्यापक एवं संचारशास्त्री डा. रघु मैनालीद्वारा लिखित पुस्तक ‘सञ्चारशील कक्षाकोठाः रुपान्तरणकारी पठनपाठनको आधारशिला’ नामक पुस्तकको भूमिकाबाट । – सम्पादक)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मेदिनबहादुर लामिछाने
मेदिनबहादुर लामिछाने
लेखकबाट थप