शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पेरुमा जन्मिए ‘बेबी हल्यान्ड’ : विश्वकपका स्टार खेलाडीको नाममा बच्चाको नाम राख्ने लहर

शनिबार, ०२ साउन २०८३, २२ : ०१
शनिबार, ०२ साउन २०८३

सारांश

  • पेरु, अर्जेन्टिना र मेक्सिकोमा विश्वकपका स्टार खेलाडीहरूको नाममा नवजात शिशुहरूको नाम राख्ने लहर चलेको छ।
  • पेरुमा सयौं शिशुहरूको नाम 'हाल्यान्ड' राखिएको छ भने मेक्सिकोमा एक बालिकाको नाम जुलियन क्विनोनेस, मोरा र हाल्यान्डको नाम मिसाएर राखिएको छ।
  • विज्ञहरूले यस्ता नामले बच्चालाई भविष्यमा सामाजिक असहजता वा दबाब महसुस गराउन सक्ने जोखिम रहेको भन्दै सचेत गराएका छन्।

काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपको ज्वरो फुटबल मैदानमा मात्र सीमित नभएर नवजात शिशुहरूको नाममा पनि सरेको छ ।

 ल्याटिन अमेरिकी देशहरू पेरु, अर्जेन्टिना र मेक्सिकोमा नवजात शिशुहरुको नाम विश्वकपका चर्चित स्टारहरूको नाममा राख्ने अनौठो लहर चलेको छ।

पेरुमा नर्वेका युवा स्ट्राइकर एर्लिंग हाल्यान्डको क्रेज यति धेरै देखिएको छ कि सयौं नवजात शिशुको नाम ‘हाल्यान्ड’ राखिएको छ। पेरुको नागरिक पञ्जीकरण विभागका अनुसार लियोनेल मेस्सी, नेयमार र क्रिस्टियानो रोनाल्डो जस्ता दिग्गज खेलाडीका नाममा पहिले नै करिब ३० हजार भन्दा बढी बच्चाहरूको नाम दर्ता भइसकेको छ। 

पञ्जीकरण विभागका प्रवक्ता इभान टोरेसले ठट्टा गर्दै भने, 'हाल्यान्ड अब पेरुभियन पनि भइसकेका छन्।' पेरु यसपटकको विश्वकपमा छनोट नभए पनि त्यहाँ फुटबलको माहोल तातेको छ। एक अभिभावकले त आफ्नो बच्चाको नाम नै 'मुन्डियल' राखिदिएका छन्, जसको स्पेनिस अर्थ 'विश्वकप' हुन्छ।

मेक्सिकोमा एक बालिकाको नाम झन् रोचक राखिएको छ। सामाजिक सञ्जालमा भाइरल भएको एक जन्मदर्ता प्रमाणपत्र अनुसार ती बालिकाको नाम 'क्विनोना यिसिसिड्रा मोरिटा हाल्यान्ड ग्वेभारा' राखिएको छ। यो नाम मेक्सिकन फुटबल स्टार जुलियन क्विनोनेस, गिलबर्टो मोरा र नर्वेका हाल्यान्डको नाम मिसाएर बनाइएको हो।

यसमा प्रयोग गरिएको 'यिसिसिड्रा' शब्द मेक्सिकन फ्यानहरूको लोकप्रिय नारा Y si sí (के होला त ?) बाट प्रभावित छ । जुन उनीहरूले आफ्नो टोली नकआउट नहुन्जेलसम्म मैदानमा लगाउने गर्थे ।

विश्वकपको फाइनल पुगेको अर्जेन्टिनामा त झन् उत्सवको माहौल छ। त्यहाँको साल्टा प्रान्तमा 'इन्जो', 'एमिलियानो' र 'लियोनेल' नामका बच्चाहरूको सङ्ख्या ह्वात्तै बढेको छ । यो क्रेज टोलीका मिडफिल्डर इन्जो फर्नान्डेज, गोलकिपर एमिलियानो मार्टिनेज र क्याप्टेन लियोनेल मेस्सीको सम्मानमा देखिएको हो । 

अभिभावकहरूको यो क्रेजलाई लिएर विज्ञहरूले भने सचेत गराएका छन् । मेक्सिकोकी पोडकास्टर फाबियोला मोलिना भन्छिन्, 'पहिले ब्याकस्ट्रिट बोइज चर्चित हुँदा धेरैले बच्चाको नाम केभिन र ब्रायन राखेका थिए । तर, नाम मेस्सी वा हाल्यान्ड राख्दैमा बच्चा भविष्यमा महान् फुटबलर नै बन्छ भन्ने हुँदैन ।' 

उनका अनुसार यस्ता नामले भविष्यमा बच्चालाई सामाजिक रूपमा केही असहजता वा दबाब महसुस गराउन सक्ने जोखिम पनि रहन्छ।

रोयटर्सबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप