सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मालीमा विद्रोही जिहादी समूहको आक्रमणमा कम्तीमा ५० सैनिकको मृत्यु

आइतबार, ०३ साउन २०८३, २० : ५९
आइतबार, ०३ साउन २०८३

काठमाडाैँ । टुआरेग विद्रोही र जिहादी समूहको संयुक्त आक्रमणमा मालीका कम्तीमा ५० सैनिक मारिएका छन्। उत्तरी रणनीतिक शहर अनेफिसबाट बाहिरिँदै गरेको सेनाको समूहमाथि शनिबार आक्रमण भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

आक्रमण केही सातादेखि चलिरहेको लडाइँपछि भएको हो, जसमा दुवै पक्षले युद्ध भएको क्षेत्रमा पकड जमाउन प्रयास गरिरहेका थिए । जुलाईको सुरुतिर टुआरेग अलगाववादी समूह र ‘अल–कायदा सम्बद्ध ग्रुप फर द सपोर्ट अफ इस्लाम एन्ड मुस्लिम्स’ ले अनेफिस शहर कब्जा गरेका थिए र माली सेना तथा रुसी प्यारामिलिटरी (अफ्रिका कोर) ले प्रयोग गर्ने सैनिक आधारलाई घेरा हालेका थिए।

टुआरेग र ग्रुप फर द सपोर्ट अफ इस्लाम एन्ड मुस्लिम्सले आक्रमणको जिम्मेवारी लिएका छन् ।

“आक्रमणबाट भएको प्रारम्भिक तथ्याङ्क निकै भयावह छ । कम्तीमा ५० सैनिक मारिएका छन् र कम्तीमा २४ जना बन्धक बनाइएका छन्,“ सैनिक शासक (जुन्टा) निकट एक स्थानीय निर्वाचित अधिकारीले एएफपीलाई बताए।

आफ्नो नाम गोप्य राख्न अनुरोध गर्दै ती अधिकारीले यो आक्रमणलाई माली सेनाले वर्षौंदेखि बेहोरेको सबैभन्दा घातक आक्रमण भनेका छन्। “हाम्रा केही सैनिकहरूलाई त केवल गोली हानी हत्या गरियो,“ माली सेनाभित्रका एक स्रोतले भन्यो । स्रोतले सामरिक कमजोरी पहिल्याउन अनुसन्धान भइरहेको बतायो । “हाम्रा सैनिकहरू यति कमजोर कसरी भए भन्ने कुरा बुझ्ने प्रयास गरिरहेका छौँ,” उनले भने।

सेनालाई सहयोग गरिरहेका रुसी अर्धसैन्य दस्ताहरू आक्रमण हुँदा पहिल्यै आफ्नो गन्तव्य गाओ पुगिसकेका थिए र उनीहरूको कुनै क्षति भएको छैन। “कुनै पनि रुसी मारिएनन्। मारिनेहरू सेना र सरकार समर्थित लडाकूका सदस्यहरू मात्र हुन्,“ गाओ क्षेत्रका एक समुदायका नेताले बताए।

शनिबार सेनाले काफिला ‘आतङ्ककारी सशस्त्र समूहले राखेको एम्बुसमा परेको’ स्वीकार गरेको थियो तर हताहतको सङ्ख्या भने खुलाएको थिएन। मालीमा सन् २०२० र सन् २०२१ मा भएका क्रमिक सैनिक कू पछि सेनाप्रति वफादार समूहको शासन छ ।

जुन्टाले वर्षौंदेखि चलिरहेको जिहादी र अलगाववादी अशान्तिपछि सुरक्षा व्यवस्था कायम गर्ने आफ्नो वाचा पूरा गर्न सङ्घर्ष गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप