पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
सारांश
- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई निकास दिन वीपी कोइरालाको राष्ट्रिय मेलमिलाप र एकताको नीतिलाई आत्मसात् गर्नुपर्ने बताएका छन् ।
- उनले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य रहेकोमा जोड दिए ।
- डा. कोइरालाले वीपी कोइरालाको देशभक्ति, सङ्घर्ष र धैर्यताको स्मरण गर्दै युवा पुस्तालाई इतिहास बुझ्न सुन्दरीजल भ्रमणको सुझाव दिए ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई निकास दिन वीपीको राष्ट्रिय मेलमिलाप र एकताको नीतिलाई आत्मसात् गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । वीपीको ४४ औँ स्मृति दिवसका अवसरमामा काठमाडौँमा आयोजित कार्यक्रममा नेता डा. कोइरालाले पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य सक्तीहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य रहेको बताए ।
‘अहिले वीपीको मेलमिलापको नीति अपरिहार्य छ । त्यसका लागि पहिला पार्टीमा र त्यसपछि देशका अन्य सक्तीहरूबिच एकताको आवश्यकता छ,’ डा. कोइरालाले भने ।
डा. कोइरालाले वीपी कोइरालाको उपचारका क्रममा दिल्लीमा रहँदाको एउटा मार्मिक प्रसङ्ग पनि स्मरण गरे । चौथो चरणको क्यान्सरबाट पीडित भएको थाहा पाउँदा समेत वीपीले चिकित्सकसँग आफू कति समय बाँच्छु भनी सोध्नुको कारण व्यक्तिगत स्वार्थ नभई ‘देशका लागि अझै केही काम गर्न बाँकी रहेको’ भावना रहेको उनको भनाइ थियो । अहिले पनि त्यसो गर्नुपर्ने आवश्यकता रहेको कोइरालाले बताए ।
नेता कोइरालाले वीपी कोइरालाको राजनीतिक जीवनी, सङ्घर्ष र देशप्रतिको समर्पणका विविध पक्षबारे चर्चा गरे ।
कार्यक्रममा डा. कोइरालाले २०१७ साल पुस १ गतेको घटना स्मरण गर्दै वीपी कोइरालामा रहेको अद्भुत धैर्यताको चर्चा गरे । तत्कालीन समयमा आफू शान्तभवन अस्पताल (हालको पाटन अस्पताल) मा भर्ना भएको बेला वीपीले अस्पतालमै आएर राजाले आफूहरूलाई समात्न लागेको जानकारी गराएको उनले बताए ।
गिरफ्तारीपछि वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरूले सुन्दरीजल बन्दीगृहमा सात वर्ष बिताउनुपरेको इतिहास स्मरण गर्दै डा. कोइरालाले युवा तथा विद्यार्थीहरूलाई इतिहास बुझ्नका लागि सुन्दरीजलको भ्रमण गर्न सुझाव दिए । ‘वीपीलाई बुझ्न र उहाँको सङ्घर्षलाई महसुस गर्न हाम्रा विद्यार्थी भाइबहिनीहरू एकपटक सुन्दरीजल पुग्नुपर्छ,’ कोइरालाले भने ।
२०३३ साल पुस १६ गते वीपी कोइराला आफूविरुद्ध लागेका गम्भीर मुद्दाहरूको प्रवाह नगरी राष्ट्रियताको रक्षाका लागि स्वदेश फर्कनुभएको सन्दर्भ पनि कोइरालाले उठाए । ‘आफूलाई मृत्युदण्ड हुनसक्ने सातवटा मुद्दा लाग्दालाग्दै पनि राष्ट्रियता कमजोर भएको महसुस गरी वीपी देश फर्कनुभएको थियो,’ डा. कोइरालाले भने, ‘प्रजातन्त्र र राष्ट्रियतालाई सँगसँगै लैजानुपर्छ भन्ने उहाँको दृढ विश्वास थियो।’
अदालतमा मुद्दा चल्दा वीपीले पार्टी सभापतिको हैसियतले पार्टीले गरेका सबै राजनीतिक निर्णय र संघर्षको सम्पूर्ण जिम्मेवारी आफूले लिने भनी दिएको बयानको स्मरण गर्दै डा. कोइरालाले त्यस्तो साहसिक नेतृत्व आजको समयमा पाउन कठिन रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण