गोविन्द केसी फेरि किन बसे अनसनमा ?
सारांश
- डा. गोविन्द केसीले धनगढीमा आफ्नो २४औँ सत्याग्रह चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै सुरु गरेका छन्।
- यसपटकको अनशन मुख्य गरी गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने प्रक्रियामा भएका राजनीतिक नियुक्ति र निजी स्वार्थ समूहको चलखेलका विरुद्ध केन्द्रित छ।
- उनले विगतमा सरकारसँग भएका सम्झौताहरूको पूर्ण कार्यान्वयन, सीमावर्ती क्षेत्रमा पूर्वाधार विकास, द्वन्द्वपीडितलाई न्याय, जघन्य अपराधका दोषीमाथि कारबाही र भ्रष्टाचारको निष्पक्ष छानबिनको माग पनि अघि सारेका छन्।
काठमाडौँ । डा. गोविन्द केसीले धनगढीमा आफ्नो २४औँ सत्याग्रह (अनशन) बिहीबारदेखि धनगढीमा सुरु गरेका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै लामो समयदेखि सङ्घर्षरत डा. केसीले सरकारले आफ्ना मागहरूप्रति संवेदनशीलता नदेखाएको भन्दै पुनः अनशनको बाटो रोजेका हुन्।
डा. केसीले यसपटकको अनशन मुख्य गरी गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने प्रक्रियामा भएका राजनीतिक नियुक्ति र निजी स्वार्थ समूहको चलखेलका विरुद्ध केन्द्रित गरेका छन्।
उनले आफू गेटा मेडिकल कलेज वा विश्वविद्यालयको विरोधी नभएको प्रस्ट पार्दै त्यहाँ हुने नियुक्तिहरूमाथि प्रश्न उठाएका छन्।
डा. केसीले सार्वजनिक संस्थामा निजी मेडिकल कलेजसँग आबद्ध र स्वार्थ बाझिने व्यक्तिहरूलाई पदाधिकारी नियुक्त गरिनुले गेटाको भविष्य र चिकित्सा शिक्षाको गुणस्तरमा गम्भीर असर पर्ने दाबी गरे। उनले त्यस्ता स्वार्थ बाझिने पदाधिकारीहरूको नियुक्ति तत्काल खारेज गर्नुपर्ने माग राखेका छन्।
यसका साथै, डा. केसीले चिकित्सा शिक्षा आयोगको गरिमा जोगाउनुपर्ने र आयोगले निर्धारण गरेका मापदण्डविपरीत निजी कलेजहरूमा सिट सङ्ख्या बढाउने वा छात्रवृत्ति कटौती गर्ने जस्ता कार्यहरू तत्काल रोक्नुपर्ने बताएका छन्। उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को मर्मअनुसार चिकित्सा शिक्षालाई पूर्ण रूपमा नाफारहित बनाउनुपर्ने र सरकारी छात्रवृत्तिमा अध्ययनरत चिकित्सकहरूको परिचालनलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्।
डा. केसीको अर्को मुख्य माग विगतमा सरकारसँग भएका सम्झौताहरूको पूर्ण कार्यान्वयन हो। उनले सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका नागरिकहरूको स्वास्थ्य र शिक्षाको अधिकार सुनिश्चित गर्न आवश्यक पूर्वाधार विकास गरिनुपर्ने बताएका छन्। साथै, द्वन्द्वकालका पीडितहरूलाई न्याय दिनुपर्ने, विगतका जघन्य अपराधका दोषीहरूलाई कारबाही गरिनुपर्ने र उच्च पदस्थ राजनीतिज्ञ एवं पदाधिकारीहरूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको निष्पक्ष छानबिन गरिनुपर्ने माग पनि उनले अघि सारेका छन्।
सरकारलाई साउन ५ गतेसम्मको समयसीमा दिएकोमा सो अवधिमा मागहरू सम्बोधन नभएपछि उनले आजदेखि सत्याग्रह सुरु गरेको उनले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। आफ्ना जायज मागहरू पूरा नभएसम्म अनशन जारी रहने अडान डा. केसीको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण