विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
सारांश
- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सडक पूर्वाधारको पर्याप्त विकास र व्यावहारिक नीतिबिना यातायात क्षेत्रमा सुधार ल्याउन नसकिने बताएका छन्।
- उनले सरकारले वैदेशिक सडक नीति र जरिवानाको सिको गरे पनि स्वदेशी धरातल र पूर्वाधारलाई उपेक्षा गरेको आरोप लगाएका छन्।
- उनले पूर्वाधार व्यवस्थापनका लागि सडकको क्षमता बढाउनुपर्नेमा जोड दिएका छन्।
काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सडक पूर्वाधारको पर्याप्त विकास र व्यावहारिक नीतिबिना यातायात क्षेत्रमा सुधार ल्याउन नसकिने बताएका छन्।
शुक्रबार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले सरकारले वैदेशिक सडक नीति र जरिवानाको सिको गरे पनि स्वदेशी धरातल र पूर्वाधारलाई भने उपेक्षा गरेको आरोप लगाएका हुन्।
नेपालको कर्मचारीतन्त्र र सरकारलाई सम्बोधन गर्दै सिटौलाले सिङ्गापुर, अमेरिका र युरोपका विकसित सडकको उदाहरण दिएर नेपालमा नीति नियम लाद्न नहुने तर्क गरे। सिंहदरबारमा बसेर बनाइने अव्यावहारिक नीतिका कारण यातायात क्षेत्र भद्रगोल भएको दाबी गर्दै उनले पूर्वाधार व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न माग गरे।
विदेशको नीति र स्वदेशी अवस्थाबारे बोल्दै सिटौलाले भने, ‘नेपालको वास्तविक अवस्था नहेरी सिङ्गापुर, अमेरिका वा युरोपका सडक र नियमको सिधै नक्कल गर्नु उचित हुँदैन।’
काठमाडौँ उपत्यकामा मात्रै २३ लाख मोटरसाइकलसहित करिब २६ लाख सवारी साधन गुड्ने भए पनि ती सवारी साधन गुड्ने पर्याप्त सडक र पूर्वाधार नभएको उनले उल्लेख गरे। पूर्वाधार व्यवस्थापनका लागि सडकको क्षमता बढाउनुपर्नेमा उनले जोड दिएका छन्।
यातायात क्षेत्रको वर्तमान समस्या दर्श्याउँदै उनले भने, ‘सार्वजनिक यातायात सुधार्ने प्रतिबद्धतासहित हामी आएका छौँ, तर आज लगानीकर्ता, कामदार र यात्रु–उपभोक्ता सबै असन्तुष्ट छन्। यसको मुख्य कारण नीति निर्माणमा कमजोरी र पूर्वाधारको अभाव हो।’
अध्यक्ष सिटौलाले पूर्वाधार व्यवस्थापनका लागि सङ्घीय र स्थानीय सरकारले सक्रियता देखाउनुपर्नेमा जोड दिए। सरकारलाई आग्रह गर्दै उनले थपे, ‘पहिला सडक र पूर्वाधारको उचित व्यवस्थापन गरियोस्, त्यसपछि नियमको प्रभावकारी कार्यान्वयन गरियोस्। स्थानीय, प्रदेश र सङ्घीय सरकारबिच समन्वय गरेर सार्वजनिक यातायात सुधारमा ठोस काम हुन आवश्यक छ।’
यसैबिच उनले प्रदेश सरकारको भूमिकाप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। प्रदेश सरकारहरू केवल राजनीतिक खिचातानी र सत्ताको खेलमा अल्झिएको टिप्पणी गर्दै अध्यक्ष सिटौलाले सार्वजनिक यातायातको सुधारमा प्रदेश सरकारले कुनै ठोस कार्य गर्न नसकेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण