ट्रम्पको ५० प्रतिशत नयाँ भन्सार कर लागू भए जवाफ दिन क्यानडा तयार
सारांश
- क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ५० प्रतिशत नयाँ भन्सार कर लागू भए त्यसको उचित जवाफ दिन क्यानडा पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
- उनले अमेरिका–क्यानाडा व्यापार सम्झौता हुन नसकेमा क्यानडाका लागि सबै विकल्प खुला रहने र ट्रम्पको नयाँ कर घोषणा वार्तामा दबाब सिर्जना गर्ने रणनीति पनि हुन सक्ने अनुमान व्यक्त गरे ।
- अमेरिकाले घोषणा गरेको ५० प्रतिशत भन्सार कर मह, मदिरा, सिमेन्ट, दुग्धजन्य वस्तु, काठका केही उत्पादन, हकी स्टिक लगायत विभिन्न क्यानडाली वस्तुमा लाग्नेछ ।
ओट्टावा । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ५० प्रतिशत नयाँ भन्सार कर लागू भए त्यसको उचित जवाफ दिन क्यानडा पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
उनले अमेरिकासँग व्यापक व्यापार सम्झौता गर्न वार्तालाई तीव्र बनाइएको भए पनि आवश्यक परे प्रतिकारात्मक कदम चाल्न सकिने स्पष्ट पारे । प्रिन्स एडवर्ड आइल्यान्डको चार्लोटटाउनमा प्रान्तीय तथा क्षेत्रीय सरकार प्रमुखहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्नीले नयाँ अमेरिकी कर अगस्ट १९ देखि लागू हुने तय भए पनि त्यसअघि नै प्रतिक्रिया दिनु उपयुक्त नहुने बताए ।
‘यदि यी भन्सार कर वा अन्य प्रतिबन्धहरू लागू भए भने हामीसँग त्यसको जवाफ दिनका लागि विभिन्न विकल्पहरू उपलब्ध छन् । अहिले नै प्रतिक्रिया दिनु उल्टै प्रतिकूल हुन सक्छ,’ उनले भने । कार्नीका अनुसार यदि अन्तिम समयसम्म अमेरिका–क्यानडा व्यापार सम्झौता हुन सकेन भने क्यानडाका लागि सबै विकल्प खुला रहनेछन् । उनले ट्रम्पको नयाँ कर घोषणा वार्तामा दबाब सिर्जना गर्ने रणनीति पनि हुन सक्ने अनुमान व्यक्त गरे ।
अमेरिकाले घोषणा गरेको ५० प्रतिशत भन्सार कर मह, मदिरा, सिमेन्ट, दुग्धजन्य वस्तु, काठका केही उत्पादन, हकी स्टिक लगायत विभिन्न क्यानडाली वस्तुमा लाग्नेछ । तर ऊर्जा, पोटास, माछा तथा महत्वपूर्ण खनिजजस्ता वस्तुहरू भने यस करबाट बाहिर राखिएका छन् । यसअघि संयुक्त राज्य अमेरिका–मेक्सिको–क्यानडा सम्झौताअन्तर्गत कर छुट पाएका केही वस्तुहरूमा पनि अब नयाँ कर लाग्नेछ । सन् २०२० मा लागू भएको उक्त व्यापार सम्झौता अमेरिकाले नवीकरण नगरेपछि नयाँ वार्ता सुरु भएको हो, जुन सन् २०३६ सम्म चल्न सक्ने अनुमान गरिएको छ ।
कार्नीले अमेरिकी अधिकारीहरू व्यापार सम्झौतामा पुग्न इच्छुक देखिएको पनि बताए । उनका अनुसार अमेरिकाले विगतका व्यापार वार्ताहरूमा पनि अन्तिम म्याद तोक्ने र त्यसअघि उच्च भन्सार करको चेतावनी दिने रणनीति अपनाउँदै आएको छ । प्रिन्स एडवर्ड आइल्यान्डका प्रधानमन्त्री रोब लान्ट्जले संघीय सरकार र सबै प्रान्तहरू एकताबद्ध भएर अमेरिकी कदमको सामना गरिरहेको बताए । उनका अनुसार राष्ट्रिय हितको रक्षा गर्न ‘टिम क्यानडा’को साझा दृष्टिकोण आवश्यक छ ।
व्यापार वार्ताको नतिजा जस्तोसुकै आए पनि क्यानडाले आफ्नै अर्थतन्त्रलाई थप बलियो बनाउने, उद्योग, किसान, श्रमिक र व्यवसायलाई सहयोग गर्ने तथा अमेरिकी बजारमाथिको निर्भरता घटाउन अन्य देशहरूसँग व्यापारिक सम्बन्ध विस्तार गर्ने नीति अघि बढाइने प्रधानमन्त्री कार्नीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण