मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

मङ्गलबार, १२ साउन २०८३, ०५ : ११
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • मध्य चमेलिया जलविद्युत् आयोजना दार्चुलामा निर्माण हुने भएको छ।
  • २८.३० मेगावाट क्षमताको यो आयोजना चमेलिया नदीमा बन्नेछ।
  • आयोजनाको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ।

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रूपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको छ ।

दार्चुला पावर कम्पनी प्रवर्द्धन रहेको २८ दशमलव ३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना सो नदीमा निर्माण हुन लागेको हो । दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने आयोजना मार्मा गाउँपालिकामा अवस्थित छ ।

नदी प्रवाहमा आधारित परियोजनालाई विद्युत् विकास विभागले २०८१ चैत १३ गते विद्युत् उत्पादन अनुमति पत्र प्रदान गरेको थियो । आयोजनाको सम्पूर्ण संरचना चमेलिया नदीको बायाँ किनारमा रहने गरी प्रस्ताव गरिएको छ ।

सो आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कनका लागि प्रस्ताव भएबमोजिम कृषि, वन तथा पर्यावरण मन्त्रालयले सोमबार सार्वजनिक सूचना सार्वजनिक गरेको छ ।

यसअघि २०८० चैत ७ गते आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तत्कालीन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको थियो ।

यस्तै, २०८२ पुस २१ मा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनका लागि सहमति प्राप्त भएको थियो । आयोजनाको डिजाइन परिवर्तन एवं संरचना स्थानान्तरणका कारण उत्पन्न हुन सक्ने वातावरणीय प्रभावको मूल्याङ्कन गर्न उक्त अध्ययन गर्न लागिएको सूचनामा उल्लेख छ ।

नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक चमेलिया पावर लिमिटेडबीच २०८० असोज २९ गते विद्युत् खरिद बिक्री सम्झौता भइसकेको छ । यस्तै, २०८२ जेठ २१ गते आयोजानको वित्तीय व्यवस्थापनसमेत भइसकेको छ ।

प्रस्तावित आयोजनास्थल दार्चुला जिल्लाको गोकुलेश्वरबाट करिब ३० किलोमिटर टाढा उत्तर पश्चिमतर्फ अवस्थित छ । आयोजनाको माथिल्लो तटमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना रहेको छ । यस्तै, तल्लो तटमा ३० मेगावाट क्षमताको चमेलिया खोला जलविद्युत् आयोजना छ ।

उत्पादित बिजुली प्राधिकरणको बलाच सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट वर्षायाममा ११८ दशमलव ५२ गिगावाट घण्टा र हिउँदमा ६७ दशमलव १०० गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ । आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको कुल लागत रु छ अर्ब २३ करोड ६२ लाख ६७ हजार ३९० रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप