मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चिटले काम गर्न नसक्ने गरी प्रश्नपत्र बनाइनु पर्छ

मङ्गलबार, १२ साउन २०८३, १३ : ०५
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्र लिक हुनुले शिक्षा प्रणालीको विश्वसनीयतामा गम्भीर संकट निम्त्याएको छ ।
  • समस्या समाधानका लागि निरन्तर मूल्यांकन प्रणाली लागू गरिनुपर्छ र प्रश्नपत्र विद्यार्थीको सिर्जनशीलता परीक्षण गर्ने खालको हुनुपर्छ ।
  • प्रश्नपत्र वितरण र व्यवस्थापनमा डिजिटल सुरक्षा कडाइका साथै नैतिक आचारसंहिता र कडा कानुनी जवाफदेहिता सुनिश्चित गरिनुपर्छ ।

त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा प्रश्नपत्र लिक हुनु अत्यन्तै दुःखद् घटना हो । वास्तवमा हाम्रो शिक्षा प्रणाली परीक्षा र प्रश्नपत्रमा अडिएको छ ।

हामीले शिक्षा प्रणालीलाई नै सोलोडोलो पढाइ, सिकाइ, विद्यार्थीको अध्ययन प्रक्रियालाई बेवास्ता गरेर परीक्षामा थुपारिदिएका छौँ । परीक्षाले मात्रै विद्यार्थीको सबै कुराको मापन गर्न सकिँदैन । यसले गर्दा प्रश्नपत्र लिकको मार्केट बनिरहेको यथार्थ हो ।

शिक्षण संस्थामा प्रश्नपत्र लिक हुने भनेको ठुलो नैतिकताको विषय पनि भयो । एउटा कर्मचारीले इथिकल मिस गर्नु राम्रो मानिँदैन । शैक्षिक संस्थासहित विश्वविद्यालयबाट यस्तो अनैतिक कार्य हुनु भनेको अत्यन्तै संवेदनशील विषय हो । यसले विद्यार्थीको मनोबल खस्काउने, समग्र शैक्षिक प्रणाली र शैक्षिक संस्थाको विश्वसनीयता कम गर्ने र त्यसको अप्रत्यक्ष प्रभावहरू दूरगामी देखिन्छन् । यो दुर्भाग्यपूर्ण कुरा हो ।

पछिल्लो समय डिजिटल प्रश्नपत्र र डिजिटल अनलाइन परीक्षा प्रणालीका विषय पनि सार्वजनिक हुन थालेका छन् ।  विदेशका विश्वविद्यालयहरूमा ‘ओपन बुक एक्जाम’ सुरु भइसकेको छ, तर यहाँ अहिले पनि प्रश्नपत्रहरू परीक्षा केन्द्रमा पठाउने र परीक्षा लिने प्रणाली छ, जुन परम्परागत तरिका हो । चिट चोराउने प्रवृत्तिले प्रश्नपत्र लिक गरिन्छ । प्रश्नपत्र लिकको पछिल्लो घटनालाई नियाल्दा परीक्षा हुँदाहुँदै सायद कसैले स्क्यान गरेर प्रश्नपत्र पठाएको जस्तो देखिन्छ ।

नेपालको उच्च शिक्षा क्षेत्र अहिले विश्वसनीयताको गम्भीर सङ्कटबाट गुज्रिरहेको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) लगायतका संस्थाहरूमा बारम्बार दोहोरिने प्रश्नपत्र लिकका घटनाले हाम्रो समग्र शैक्षिक जगलाई नै हल्लाइदिएका छन् । परीक्षा हलबाटै प्रश्नपत्र बाहिरिनु वा डिजिटल माध्यमबाट बाहिर छापिनु केवल एउटा कर्मचारी वा केन्द्रको प्राविधिक त्रुटिमात्र होइन, यो हाम्रा शैक्षिक संस्थाहरूको नैतिक विचलन र संरचनात्मक कमजोरीको उपज हो ।

शिक्षा क्षेत्रमा यस्ता गैरनैतिक गतिविधि हुनु अत्यन्तै संवेदनशील र दुर्भाग्यपूर्ण विषय हो । यसले विद्यार्थीहरूको मनोबल गिराउने काम गर्छ । यसले वर्षभरि मेहनतका साथ अध्ययन गर्ने क्षमतावान् विद्यार्थीहरू मारमा पर्छन् भने दुई दिन अगाडि प्रश्नपत्र पाएर वा घोकेर परीक्षा दिनेहरूले उत्कृष्ट अङ्क ल्याउने परिपाटी बस्छ । यसले शैक्षिक संस्थाहरूको साख र तिनले प्रदान गर्ने प्रमाणपत्रको अन्तर्राष्ट्रिय विश्वसनीयतामै प्रश्नचिह्न खडा गरिदिएको छ । हाम्रो वर्तमान शिक्षा प्रणालीले सबै कुराको भार एउटै अन्तिम परीक्षा र प्रश्नपत्रमा थुपारेको छ, जुन आफैँमा त्रुटिपूर्ण छ । यस समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न दुई मुख्य पाटोमा काम गर्नुपर्ने देखिन्छ ।

१. ओपन बुक र सिर्जनशीलता

विद्यार्थीको मूल्याङ्कन वर्षको अन्त्यमा हुने एउटै परीक्षाको भरमा (२०–३० प्रतिशतभन्दा बढी भार नदिई) गर्नुहुँदैन । निरन्तर मूल्याङ्कन प्रणाली लागु गरिनुपर्छ । साथै, प्रश्नपत्रहरू घोकेको उत्तर लेख्ने खालका नभई विद्यार्थीको आफ्नै सिर्जनशीलता, तार्किक क्षमता र मौलिकता परीक्षण गर्ने खालको हुनुपर्छ । यदि प्रश्नपत्र लिक नै भए पनि वा विद्यार्थीले उत्तरपुस्तिका साथमा राखेर लेख्न पाए पनि सोझै उत्तर पत्ता लगाउन/भेटाउन नसकिने र आफ्नै मौलिक विचार प्रस्तुत गर्नुपर्ने किसिमका प्रश्न सेट गरियो भने ‘लिक’ को बजार र औचित्य स्वतः समाप्त हुन्छ ।

२. डिजिटल सुरक्षा र प्रविधिको प्रयोग

प्रश्नपत्र वितरण र व्यवस्थापनमा आधुनिक डिजिटल प्रणालीको प्रयोग गरी सुरक्षा कडाइ गर्न सकिन्छ । डिजिटल हस्तान्तरण र प्रविधिको सही उपयोगले प्रश्नपत्रको भौतिक पहुँच र दुरुपयोगलाई नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ । प्रश्नपत्र लिक हुनुलाई कुनै एउटा कलेज, फ्याकल्टी वा व्यक्ति विशेषको कमजोरीमात्र मानेर पन्छिनुहुँदैन । यो हाम्रो समग्र सामाजिक र शैक्षिक प्रणालीकै साझा समस्या हो ।

त्रिवि लगायत पुराना र नयाँ सबै विश्वविद्यालयहरूले यस घटनालाई दोषारोपणको विषय मात्र नबनाई पाठका रूपमा लिनुपर्छ । साथै, शैक्षिक सुधारको ऐतिहासिक अवसरका रूपमा उपयोग गर्न आवश्यक छ । प्रश्नपत्र कसरी निकाल्ने हो ? यस सन्दर्भमा हाम्रा नेपालका विश्वविद्यालयका प्राध्यापकहरूलाई तालिमको व्यवस्था छैन । किनभने प्रश्नपत्र कसरी बनाउने हो भन्ने छुट्टै विज्ञान छ र यसको छुट्टै सिप छ । त्यसमा तालिम आवश्यक हुन्छ । प्रश्नपत्रलाई सिप र सिपलाई उत्पादनसँग जोड्न जरुरी छ । अहिले पनि उत्पादन भएका कतिपय जनशक्तिले बजारमा रोजगारी पाउन नसकेको देखिन्छ । परीक्षामा प्रविधि र नीतिगत सुधारसँगै विश्वविद्यालयहरूमा कडा कानुनी जवाफदेहिता र डिजिटल निगरानी सुनिश्चित गरिनुपर्ने देख्छु ।

प्रश्नपत्र निर्माणदेखि वितरणसम्म संलग्न जनशक्तिलाई नैतिक आचारसंहितामा बाँध्नुपर्छ । पाठ्यक्रमलाई बजारको माग, अनुसन्धान र नवप्रवर्तनसँग प्रत्यक्ष जोड्ने व्यावहारिक नीति अवलम्बन गर्न सकेमात्र उच्च शिक्षाप्रतिको घट्दो साख र अन्तर्राष्ट्रिय विश्वसनीयता पुनः फर्काउन सकिन्छ ।

आजको युगमा विद्यार्थीले आफ्नै सिर्जनशीलता प्रयोग गरेर उत्तर दिन सक्ने प्रश्न निर्माण गर्नुपर्छ । घोकेको तयारी गरेको भरमा नम्बर बढी नआउने किसिमको परीक्षा प्रणाली हुन जरुरी भइसकेको छ । परीक्षाको दुई दिनअगाडि तयारी गरेको भरमा राम्रो नम्बर आउने भन्ने हुँदै हुँदैन । दुई दिन तयारी गरेर उत्कृष्ट अङ्क आउँछ भने त्यो प्रश्नपत्र नै कमजोर भयो भन्ने मानिन्छ । त्यो परीक्षा प्रणाली नै कमजोर भयो । हामीले संरचनात्मक र सही किसिमको मूल्याङ्कन हुने हो भने अब यी विसङ्गति पनि आफैँ मत्थर हुन्छन् ।

प्रश्नपत्र लिक हुँदा पनि उसले केही फरक पार्न नसक्ने किसिमको परीक्षा प्रणालीले वर्तमान देखिएको समस्या केही हदसम्म समाधान हुन्छ । त्यसैले पनि हामीले हाम्रो प्रश्नपत्रको पद्धति ‘ओपन बुक एक्जाम’ बनाउनुपर्ने विषयलाई जोड दिनुपर्छ । प्रश्नपत्र लिकको घटना एउटा विश्वविद्यालयको मात्रै कुरा भएन, अन्य विश्वविद्यालयमा पनि यस्तो घटना सार्वजनिक भइरहेका हुन्छन् । खासगरी नेपाल विश्वविद्यालयमा हामीले प्राध्यापक, शिक्षकहरूलाई चिट वा घोकन्ते विद्याले काम नगर्ने प्रश्नपत्र तयार पार्न तालिम दिन थालेका छौँ । प्रश्नपत्र कसरी सेट गर्ने ? त्यो प्रश्नपत्रमा चिटले पनि काम गर्न नसकोस् । हाम्रो पाठ्यक्रम र परीक्षा प्रणाली जीवन पद्धतिसँग जोडिने खालको हुनुपर्छ । तर, अहिले विद्यार्थीलाई सिप सिकाउनेभन्दा पनि परीक्षाको तयारी कसरी गर्ने ? उत्तीर्ण कसरी गर्ने ? यस्ता कुरामै केन्द्रित छौँ ।

प्रश्नपत्र लिकका घटना त्रिविको मात्रै सम्झनु हुँदैन । यो एउटा समाजकै समस्या हो । हामीले व्यक्ति विशेष अथवा फ्याकल्टी विशेषलाई दोष दिनेभन्दा पनि हाम्रो समाजकै र हाम्रो समग्र शिक्षा प्रणालीको यो कमजोरी हो । अब त्यसबाट हामी सबैले पाठ सिक्ने मौका छ ।

(नेपाल विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.सूर्यराज आचार्यसँग गरिएको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. सूर्यराज आचार्य
डा. सूर्यराज आचार्य
लेखकबाट थप