मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

सांसद पौडेलले सुकुमबासी बस्तीबाट भने : ‘साथीहरू डोजर चल्छ भनेर डराउनुभएको छ, कसले चलाउँछ डोजर ?’

मङ्गलबार, १२ साउन २०८३, ०६ : ३१
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • पोखरा महानगरपालिका ९ बसपार्क क्षेत्रका सुकुमबासीलाई सांसद उत्तम प्रसाद पौडेलले लालपुर्जा वितरण गर्ने दाबी गरेका छन् ।
  • मेयर धनराज आचार्यले बसपार्क निर्माणको तयारी गरिरहेका बेला पौडेलले लालपुर्जा दिएर मात्रै डोजर चल्ने चेतावनी दिएका हुन् ।
  • पौडेलले संघले कानुन नबनाइकन स्थानीय तहले डोजर चलाउन नपाउने र जनताप्रति उत्तरदायी हुनुपर्ने बताए ।

पोखरा । पोखरा महानगरपालिका ९ बसपार्क क्षेत्रमा रहेका सुकुमबासीलाई आफै लालपुर्जा ल्याएर घरघरमै वितरण गर्ने कास्की २ का सांसद उत्तम प्रसाद पौडेलले दाबी गरेका छन् । सुकुमबासी बस्तीमा ३ महिनापछि पुगेका पौडेलले आफू अब आउँदा लालपुर्जा लिएर आउने बताएका हुन् । 

पोखरा महानगरपालिकाले सुकुमबासी र भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई हटाएर त्यहाँ बसपार्क निर्माणको तयारी गरिरहेको छ । मेयर धनराज आचार्यले केही हप्ताभित्रै उनीहरूलाई व्यवस्थापन गरिने र त्यहाँ बसपार्क निर्माण गर्ने बताइरहेका बेला सांसद पौडेलले लालपुर्जा दिएर मात्रै सुकुमबासी बस्तीमा डोजर चल्ने चेतावनी दिएका हुन् ।

उनले आफ्नो प्रतिबद्धतालाई मोबाइलमा रेकर्ड गरेर राख्न समेत खुला चुनौती दिएका छन् । ‘म तपाईँहरूलाई आजको भोलि नै लालपुर्जा दिइहाल्न सक्दिनँ, तर अबको केही महिनाभित्र तपाईँहरूको हातमा लालपुर्जा लिएर यही उत्तम पौडेल आउँछ,’ उनले भने, ‘हरेकको हातमा मोबाइल छ, भिडियो बनाउनुस् र यो कुरा रेकर्ड गरेर राख्नुस् ।’ महानगरले बसपार्कको स्तरोन्नतिका लागि डोजर चलाउने तयारी गरिरहेका बेला सांसद पौडेलले स्थानीय सरकारले संघले कानुन नबनाइकन डोजर चलाउन नपाउने बताए ।

‘कहिलेकाहीँ साथीहरू डराउनुहुन्छ र भन्नुहुन्छ– लौ न भोलि नै डोजर ल्याउने रे, पर्सि नै डोजर ल्याउने रे ! कसले ल्याउने डोजर ? स्थानीय तहको सरकारले ल्याउने रे ! स्थानीय सरकार पनि त कानुनमा बाँधिएको होला नि,’ उनले अघि भने, ‘स्थानीय सरकारको पनि त जनताप्रति उत्तरदायित्व होला नि । हिजो तपाईँहरूकै अमूल्य भोट लिएर गएको सरकारले उचित व्यवस्थापन नगरी कुन मुटुले यहाँ डोजर चलाउन सक्छ ?’

सुकुमबासी र अव्यवस्थित बस्तिलाई व्यवस्थित बस्तीका रुपमा रूपान्तरण गर्ने र स्थानान्तरण गरिने उनले सुनाए । ‘अबको केही महिनापछि तपाईँहरूको बस्ती अव्यवस्थित रहनेछैन । यो व्यवस्थित बन्नेछ,’ उनी भन्छन्, ‘त्यहाँ विद्यालय र अस्पताल हुनेछन् । तपाईंको काखको बच्चाले नजिकैको स्कुलमा पढ्नेछ, आडका बाबुआमाले त्यहीको अस्पतालमा उपचार गराउने छन् ।’ अर्को पटक म भोट माग्न आउँदा लालपुर्जा सिरानीमुनि राखेर ढुक्कले सुतेको बस्तीमा मात्र भोट माग्न आउने पौडेल बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप