मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

सडककाे भित्तामा ठोक्किएर ट्रकमा आगलागी हुँदा चालकको मृत्यु

मङ्गलबार, १२ साउन २०८३, ०८ : २५
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारमा ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किएपछि आगलागी हुँदा ट्रक चालकको मृत्यु भएको छ ।
  • विराटनगरबाट ताप्लेजुङ जाँदै गरेको लोबेड ट्रक फलामेटारमा दुर्घटनाग्रस्त भएको थियो ।
  • दुर्घटनामा चालक भोजपुरका ३० वर्षीय विशाल राईको जलेर मृत्यु भएको छ भने सहचालक सकुशल छन् ।

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटार स्थित तमोर–करिडोर सडकखण्डमा ब्रेक फेल भएर दुर्घटना भएपछि ट्रकमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ ।

विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको लोबेड (ट्रक) ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएपछि अचानक आगलागी भएको थियो ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । ट्रकको अगाडिको भागमा लागेको आगोमा परी चालक भोजपुरका ३० वर्षीय विशाल राई ट्रकबाट बाहिर निस्किए पनि जलेर मृत्यु भएको छ ।

दुर्घटनामा ट्रकका सहचालक जिल्ला तेह्रथुम, म्याङ्लुङ नगरपालिका–९ निवासी १८ वर्षीय सञ्जीव सङ्ग्रौलाले भने सकुशल रहेका छन् । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप