मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तानविरुद्ध जस्टिन ग्रिभ्सको घातक बलिङ, ब्रोडको रेकर्ड तोड्दै रचे नयाँ इतिहास

मङ्गलबार, १२ साउन २०८३, ०९ : ५६
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • वेस्टइन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध ऐतिहासिक बलिङ गर्दै टेस्ट क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन्।
  • ग्रिभ्सले लगातार पाँच ओभर मेडन राख्दै पाँच विकेट लिने पहिलो बलरको कीर्तिमान बनाएका हुन्।
  • उनले ११ ओभरमा २७ रन दिएर ५ विकेट लिए, जसमा लगातार पाँच ओभर मेडन थिए।

ट्रिनिडाड । वेस्टइन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध ऐतिहासिक बलिङ गर्दै टेस्ट क्रिकेटको उपलब्ध रेकर्डमा नयाँ इतिहास रचेका छन्। 

ट्रिनिडाडस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा जारी पहिलो टेस्टको तेस्रो दिन ग्रिभ्सले लगातार पाँच ओभर मेडन राख्दै पाँच विकेट लिने पहिलो बलरको कीर्तिमान बनाएका हुन्। 

उनको यो घातक बलिङका कारण बलियो स्थितिमा रहेको पाकिस्तान पहिलो पारीमै धरासायी बन्यो। दायाँहाते बलर ग्रिभ्सले ११ ओभरमा २७ रन दिएर ५ विकेट लिएका हुन्, जुन उनको टेस्ट करियरकै उत्कृष्ट प्रदर्शन र पहिलो ‘फाइभ फर’ हो। 

उनले आफ्ना सबै पाँच विकेट लगातार पाँच ओभरमा एक रन पनि नदिई हात पारेका थिए। यसअघि सन् २०१६ मा दक्षिण अफ्रिकाविरुद्ध लगातार चार ओभर मेडन राख्दै चार विकेट लिएका इंल्याण्डका पूर्व तीव्र गतिका बलर स्टुअर्ट ब्रोडको रेकर्डलाई ग्रिभ्सले पछाडि पारेका हुन्।

Justin Greaves

पाकिस्तान एक समय २४४/३ को स्थितिमा रहेर बलियो अग्रतातातर्फ अघि बढिरहेको थियो। शतक बनाएका सान मसुदलाई आउट गर्दै ग्रिभ्सले पाकिस्तानको मध्य र तल्लो क्रम ध्वस्त पारे। त्यसपछि उनले लगातार ओभरहरूमा कुनै रन नदिई आमेर जमाल, अली उस्मान र मोहम्मद रिजवानलाई पेभेलियनको बाटो देखाए।

भोजनको समयसम्म पाकिस्तान २६७/८ को स्थितिमा खुम्चियो। भोजनपछि मैदान फर्किएका ग्रिभ्सले मोहम्मद अब्बासलाई क्याच आउट गराउँदै लगातार पाँचौँ विकेट-मेडन ओभर पूरा गरे। पाकिस्तान २८२ रनमा अलआउट भएपछि वेस्टइन्डिजले २९ रनको महत्त्वपूर्ण अग्रता प्राप्त गर्‍यो।

कप्तान रोस्टन चेसले आफूलाई अनुशासित भएर टोलीका लागि विकेट लिन निर्देशन दिएको ग्रिभ्सले बताएका छन्। ‘बल थोरै स्विङ भइरहेको थियो र मैले त्यसको फल पाएँ,’ ग्रिभ्सले भने, ‘टोलीलाई सङ्कटबाट बाहिर निकाल्न ममाथि विश्वास गरिन्छ।’ 

टेस्ट क्रिकेटमा पहिलोपटक पाँच विकेट लिन पाउँदा खुसी लागे पनि खेलमा अझै धेरै काम बाँकी रहेको उनले बताए। 

ग्रिभ्सको ऐतिहासिक प्रदर्शनका बाबजुद पाकिस्तानले खेलमा फर्कने प्रयास गर्‍यो। तेस्रो दिनको खेल सकिँदा वेस्टइन्डिजले दोस्रो पारिमा १२६/७ रन बनाएको छ। समार जोसेफ २२ र केमार रोच ५ रनमा क्रिजमा छन्। 

३ विकेट बाँकी छँदा वेस्टइन्डिज १५५ रनले अगाडि छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप