जनताको करको दुरुपयोग : प्रमुख अधिकृतहरु चढ्छन् मासिक ६५ हजार तिरेर भाडाका कार
बुटवल– यतिबेला कर्मचारीहरु सरकारबिरुद्ध आन्दोलित छन् । आन्दोलनसँगै राज्यको सुविधा लिएर बिलासी पनि बनिरहेका छन् । गाउँपालिकाले ५०÷६० लाख मूल्यको गाडी खरिद गरेपछि पनि प्रमुख प्रशासकीय अधिकृतले जनताको करबाट उठेको रकमले भाडामा चिल्लो कारमा सयर गरेर मस्ती गरिरहेका छन् ।
प्रदेश ५ को अस्थाई राजधानी बुटवल नजिकै कञ्चन गाउँपालिका र गैडहवा गाउँपालिकामा यस्ता दृष्य देख्न सकिन्छ । त्यहाँका प्रमुख प्रशासकिय अधिकृतहरुले मासिक ६० देखि ६५ हजारसम्म भाडामा कार लिएर चढ्दै आएका छन् । गैडहवाका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईले मासिक ६० हजार भाडामा कार चढ्दै आएका छन् भने कञ्चन गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत कृष्णप्रसाद पन्थीले पनि मासिक ६५ हजार भाडा तिरेर कार चढ्दै आएका छन् ।
कञ्चन गाउँपालिका प्रमुख गोकर्णबहादुर क्षेत्री भन्छन्– ‘चैत्र महिनामै ४९ लाख ६५ हजार मूल्यमा नयाँ गाडी किनेको हो, हामी सबैजना त्यसै गाडीमा चढ्छौ । त्यस अघि मैले भाडामा लिएको कार यसअघिका प्रमुख प्रशासकीय अधिकृत बलराम अर्यालले चढ्दै आउनुभएको थियो । उहाँको अवकासपछि त्यो कार फिर्ता गरियो । अहिलेका प्रमुख प्रशासकीय अधिकृत पन्थी आएदेखि चढ्नुभएको थिएन । अहिले जाडो बढेपछि कार भाडाका लागि मलाई भन्नुभयो र हुन्छ भनेर चढ्दै आउनुभएको छ ।’
प्रमुख प्रशासकिय अधिकृत पन्थी भन्छन् –‘म आएदेखि कार चढेको थिइन । तर जाडो बढ्यो म बुटवलको शंकर नगरबाट आवजजावत गर्न गाह्रो भएपछि गत १५ दिनदेखि मात्र भाडामा कार ल्याएर चढ्न थालेको हुँ ।’ उनले गाउँपालिका प्रमुख लगायत चढ्ने गाडीले पनि आफुलाई समेत पुग्ने बताउँदै भने– ‘तर गाउँपालिका प्रमुख र मेरो बाटो उल्टो परेका कारण कार भाडामा लिनु परेको हो ।’
त्यसका अलवा सरदर मासिक ४० हजारसम्म ईन्धन खर्च उठ्ने त्यस गाउँपालिकाका लेखा अधिकृत लक्ष्मण पाण्डेले बताए । गाउँपालिका प्रमुख क्षेत्रीले त्यस गाउँपालिकाका पाँच वटै वडाका वडाध्यक्षहरुलाई मोटर साईकल खरिद गरेर दिईएको, मासिक २० लिटर सम्म तेल दिने गरेको बताए । उनले भने–‘मित्तव्ययी बन्न खोज्दा पनि सकिएको छैन, सञ्चारमाध्यमबाटै कुरा उठेपछि खर्च कटौती गर्ने तिर लाग्ने छु, प्रमुख क्षेत्रीले भने–‘उहाँको गाडी एकादुई महिनामा हटाई दिन्छु ।’

गैडहवाका प्रमुख प्रशासकिय अधिकृत भट्टराईले नयाँ मिल निवासी प्रेमबहादुर रानाको बा ७ च ७१९३ नम्वरको कार भाडामा लिएर चढ्दै आएका हुन् । ईन्धनबाहेक गत २१ महिनाको अन्तरालमा उनले चढ्दै आएको कारको कुल भाडा मात्रै १२ लाख ६० हजार रुपैयाँ गाउँपालिकाले ब्यहोरेको छ । यसरी जनताको करबाट उठेको रकमले कर्मचारीहरु विलासी बन्दै गएको भन्दै सर्वसाधरणले आवाज उठाएका छन् ।
प्रतिक्रिया माग्दा उनले भने– ‘मैले मात्रै होइन, देशैभरका गाउँ र नगरपालिका प्रमुख प्रशासकीय अधिकृतहरुले यस्तो सुविधा लिँदै आए पछि मैले पनि गाउँपालिकामा निर्णय गराएर कार भाडामा लिएको हुँ, जिम्मेवारी बढ्दै गयो, कामको चाँप बढेको छ । यो सुविधा त्यही रुपमा बुझी दिनुपर्यो ।’
गैडहवाका सर्वसाधरणले त्यसप्रति आवाज उठाएका छन् । तपाई त्यो आवाज सुनेर खर्च कटौती गर्नेतिर लाग्नुहुन्न ? भन्ने प्रश्नमा त्यस गाउँपालिका प्रमुख बच्चुलाल केवटले भने– ‘जनताले उठाएको यो कुरा सहि हो, गाउँपालिकाले चैत्र महिनामै करिब ५१ लाखको स्कारपियो गाडी किनेको छ, त्यसैमा मिलेर काम चलाए पनि हुने हो, तर मैले के गर्ने देशनै कमचारीहरुले चलाएका छन्, मान्दैनन् । अब यो विषय उठी सकेपछि मैले एक दुई महिनामा हटाउने प्रयास गर्ने छु ।’
गैडहवाका जनताले विभिन्न शीर्षकमा घोटला भएको आरोप लगाउँदै हिसाब किताबको विल भर्पाईको माग गरेका छन् नि ? भन्ने प्रश्नमा उनले भने– ‘हो, मागेका छन् मैले कमचारीहरुलाई छर्लङ्ग पारेर देउ भनेको छु तर ढिला गरिरहेका छन् ।’
गाउँसभाद्वारा सवारी खरिद, विज्ञापन तथा सञ्चार खर्च, मेशनरी औजार खरिद, कृषिमा खर्च गरिएको विल भर्पाहीको प्रतिलिपी लिखित रुपमै माग गरेर गाउँपालिका प्रमुखलाई बुझाईएको छ । स्वयम् त्यस गाउँपालिका वडा नम्वर ६ का वडा सदस्य शिवकुमार यादव लगायतले समेत विना कुनै निर्णय मनोमानी तरिकाले काम हुने गरेको आरोप लगाँदै छानविनको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण