आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

विवाह लगत्तै महिलाको पेटमा नजर गाढ्नेहरु, लाज लाग्छ कि लाग्दैन ?

शुक्रबार, २४ फागुन २०७५, ११ : ५१
शुक्रबार, २४ फागुन २०७५

लालिमा /अडनारी

१४ नोभेम्बर २०१८ । यो दिन दीपिका पादुकोणले नायक रणवीर सिंहसँग विवाह गरिन् । दुबैको विवाह भएको अहिले तीन महिना पनि भएको छैन, मानिसहरुले दीपिका गर्भवती भएको कुरा गर्न सुरु गरिसकेका छन् । सन् २०१९ फेब्रुअरी २० मा दीपिका र रणवीर एक अवार्ड कार्यक्रममा पुगेका थिए । दीपिकाले कालो रङको गाउन लगाएकी थिइन् । मिडियाले उनको तस्बिर खिचे ।

तस्बिर सोसल मिडियामा मज्जाले भाइरल भयो । तर यी तस्बिरसँगै अर्को कुरा पनि भाइरल भयो । दीपिकाको ‘बेबी बम्प’ । कालो गाउनमा साइड एंगल भएको केही तस्बिरमा दीपिकाको पेट थोरै बाहिर निस्किएको देखिएको थियो । त्यसपछि मानिसहरुको नजर उनको पेटमा अड्कियो । र अड्कलबाजी गरियो उनी गर्भवती भएको । मानिसहरु दीपिका गर्भवती भएको अफवाह उडाउन थाले ।

सोसल मिडियामा एक प्रयोगकर्ताले लेखे, ‘मलाई लाग्छ कि उनी गर्भवती छिन् । उनले यो कुरा कहिले सार्वजनिक गर्ने भन्ने निर्णय अब उनले नै गर्नेछिन् । यदि यो कुरा साँचो हो भने म उनका लागि निकै खुसी छु ।’

मानिसहरुलाई हल्ला गर्न कुनै प्रमाण चाहिँदैन । नायिकाको फिगर अत्यधिक सुगठित हुनुपर्ने निकै दबाब हुन्छ । फिल्म इन्डष्ट्रिमा नायिकाको फिगर, उनीहरुको बडी साइजको विषयमा एउटा खाका जस्तै तयार पारिएको छ । खाका एकदम उत्कृष्ट देखिने । अर्थात्, उनीहरुको पेट अहिलेकति पनि देखिनु हुँदैन । यदि देखियो भने अर्कै अर्थ लगाउन बेर लगाउँदैनन् ।

दीपिका एक्लै यो ‘बेबी बम्प’ को खबरको शिकार भएकी होइनन् । हालै प्रियंका चोपडामाथि पनि मानिसहरुले यस्तै टिप्पणी गरे । प्रियंकाका केही तस्बिर सोसल मिडियामा निकै चर्चित भएका थिए । ती तस्बिरमा प्रियंकाले मिनी स्कर्ट लगाएकी थिइन् । उनको पेट थोरै बाहिर आएको थियो । यो देख्ने बित्तिकै मानिसहरुले प्रियंका आमा बन्दैछिन् भन्न सुरु गरे । उनी गर्भवती भएको खबरमा उनकी आमा मधुले ब्रेक लगाइन् ।

यस्तै, विद्या बालन र अनुष्का शर्माको पनि समय समयमा ‘बेबी बम्प’ को कुरा निस्कन्छ । विवाहित नायिकाले पेटमा छोए वा लुज पहिरन लगाए, उनीहरु गर्भवती भएको कयास लगाइन्छ । यसको अर्थ यो हो कि मानिसबीच एउटा धारणा बनेको छ – यदि महिलाले विवाह गरेकी छिन् भने अब उनीहरुको काम भनेको बच्चा जन्माउनु हो । कहिँ न कहिँ, कुनै न कुनै तरिकाले उनीहरुमाथि यसका लागि दबाब दिइन्छ ।

सजिलो भाषामा भन्ने हो भने मानिसहरुले विवाहको दोस्रो नाम नै बच्चा जन्माउने भन्ने बुझेका छन् । यदि कोही नायिका कुनै कारणवश डाक्टरलाई भेट्छिन् भने कानेखुसी सुरु हुन्छ कि उनी आमा बन्न लागेकी छिन् ।

नायिकालाई मात्र होइन, विवाह पछि आमा बन्ने दबाब हरेक महिलामाथि हुन्छ । यो समाज नै यस्तै छ । एक साधारण महिलाले जब विवाह गर्छिन् तब एक वर्षपनि बित्न नपाउँदै सोध्न थालिन्छ, ‘खुसीको कुरा कहिले सुनाइरहेकी छौ ?’ यहाँ सबैले के याद गर्नुपर्छ भने के तपाईंले ती महिलालाई खुसी देख्नुभएको छैन ? यो उसको जीवन हो, उसलाई जतिबेला खुसीको कुरा सुनाउन मनलाग्छ, त्यतिबेला सुनाइहाल्छिन् । यसमा कसैले पनि त्यति चासो दिनुपर्दैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप