बाढी–पहिरोबारे संसदमा देउवाको प्रश्न ः हेलिकप्टरबाट हेरेर बाढी पीडितको कसरी उद्धार हुन्छ ?
जनता डुवानमा परेका छन्, घरबारविहीन भएका छन् । खाद्यान्यसमेत पानीले भिजेर सडेको छ । नदी कटानले पुरै जमिन खत्तम पारेको छ । जनता टहरा बनाएर बसेका छन्, खाद्यान्न छैन, केही पनि छैन ।
सरकारको पहिलो कर्तव्य भनेको बाढी पीडितलाई खाद्यान्न दिने, ओत दिने हो । तर, हालसम्म केही पनि भएको छैन । रेडक्रसलगायत केही विदेशी संस्थाहरुले राहत वितरण गरेका छन् । तर, मैले सरकारले कुनै पनि ठाउँमा केही गरेको देखिनँ ।
बाढी पीडिले सरकार देखेनन्
हेलिकप्टरबाट कहीँ उद्धार हुन्छ ? जुन कुरा सरकारको काम हो, जुन कुरामा सरकार तात्नु पर्ने हो, जुन हिसाबले लाग्नु पर्ने हो कहीँ पनि लागेको छैन ।
रौतहटमा म पुग्दा डुवान थियो । यता, जनकपुरको कमला नदीले कटान गर्दा धेरै ठूलो नोक्सानी भएको छ । बाढीले तटबन्दसमेत बगाएको छ । हेर्दा त बलियो थियो तटबन्द, तर बाढीले त्योसमेत तोड्ने गरी आएको रहेछ ।
त्यो कति भयानक थियो होला ? सिरहामा पनि धेरै तटबन्द भत्किाएका छन् । त्यहाँ पनि मानिसहरु विस्तापित भएर हिँडिरहेका छन् । खाने कुरा केही छैन ।
कमला नदीको बाढीले दुबैतिर कटान गरेको छ । साना तिना खोलाले पनि त्यस्तै गरेको छ । सप्तरीमा पनि ठूलो नक्सान भएको छ । तिलाठी पुरै खत्तम पारेको छ, रामनगर खत्तम पारेको छ । त्यहाँ हिड्न सक्ने अवस्था छैन । त्यसको उत्तरतिर पहिरो आएर खतम पारेको छ ।
सुनसरी पनि पुरै डुवानमा परेको छ । घर डुवानमा पर्दा त्यहाँका नागरिक टहरामा बसिरहेका छन् । तर, प्रदेश २ मा स्थानीय सरकार समेत पुगेको अवस्था छैन । यो कस्तो राज्य हो ? कस्तो सरकार हो ? दुःख परेको बेला त्यहाँ जनतालाई साथ दिनुपर्ने होइन ? न खाद्यन्न छ, न लत्ता कपडा छ, न पाल दिएको छ, न केही दिएको छ ।
पानी रोकिए पछि घर जाउँला भनेर नागरिक बसिरहेका छन् । तर, पानी रोकिएको छैन । उता, घरमा रहेको खाद्यन्न पुरै डुवानमा परेर खत्तम भएको छ ।
पहाडमा पनि बाढी र पहिरोले धेरै मानिस मरिसकेका छन् । गुल्मी कै कुरा आज एउटा पत्रिकामा पढेको थिए । यत्रो भयाभव स्थिति छ, सरकारले कुनै किसिमको ध्यान दिएको छैन । कुनै किसिमको सहयोग गरेको छैन । सरकारले सम्पूर्ण जनतालाई दुःखमा पर्दा हेर्नु पर्ने हो । सरकार भनेको राज्य हो । राज्यले जनताको दुःखमा सहयोग गरेन भने कस्ले गर्छ ? हामी एउटा पार्टीले मात्र के गर्ने ?
भारतसँग कुरा गर्ने बेला भयो
अब भारत सरकारसँग कुरा गर्नु पर्ने बेला भइसकेको छ । भारतले नेपाललाई दोष दिने, नेपालले भारतलाई दोष दिने यो अवस्था कति दिनसम्म चल्छ ? त्यसकारण कुटनीतिक रुपमा भारतसँग कुरा गर्नुपर्ने भएको छ । यहाँ भारतका कारणले डुवान पोर्यो भन्छन्, उता, भारतले नेपालका कारण हाम्रोमा डुवान भएर खतम पार्यो भनिरहेको छ ।
त्यसैले नेपालले भारतलाई दोष दिने र भारतले नेपाललाई दोष दिने कुराको विषयमा भारतसँग कुटनीतिक तहमा कुरा गर्नुपर्छ । होइन भने एकले अर्कालाई गाली गरेर समस्याको समधान हुनेवाला छैन । झनझन् यो स्थिति भयाभव हुने वाला छ । भारतसँग कुटनीतिक रुपमा कुरा गरेर यसको स्थायी समाधान खोज्ने बेला भएको छ ।
यस्तै, कोशी ब्यारेज बनेको बेलामा त्यहाँ केही व्यक्तिले चिया पसल भनेर नेपाल साइडमा केही सानसाना झुप्रा बनाएको रहेछ । भारतले तीनलाई हटाउन खोजिरहेको छ । त्यसबारेमा पनि भारतसँग कुरा गर्नुपर्यो । ती जनता बाँध बनाउँदादेखि नै बसिरहेका थिए । ती जनता कहाँ जाने ? न घर छ न दोवार छ । त्यसैले भारतसँग यसबारे पनि कुटनीतिक कुरा गर्नुपर्ने छ ।
भारतको सुरक्षाको कुरा हो भने हामीले पनि उनीहरुलाई आश्वस्त गर्नुपर्छ । त्यो साडमा बसेको नेपाली जनताको सुरक्षा पनि हामीले गर्नुपर्छ । तर, हामीलाई भने मतलव नै छैन । उनीहरुलाई लखेटिँदै छ । ती के नेपाली जनता होइन ?
नदीको सतह बढेकोमा चिन्ता
चुरेको दोहनले नदीको सतह बढेको छ । तराईमा १२ वर्षपछि खोलो पर्किन भने जस्तै त्यहाँ नदी धेरै माथि आइसक्यो । बालुवा थुिप्रदै नदीको सतह पुल नजिकै आइसकेको छ ।
१० वर्षसम्म यस्तै हुने हो भने कोशी नै परिवर्तन हुन्छ । त्यसैले पुललाई असर नहुने गरी नदीको सतहलाई घटाउने उपायको खोजि गर्नु पर्ने वेला भएको छ । होइन भने भोली अर्को समस्या आउने वाला छ ।
बढिरहेको नदीको सतह घटाउने कारण के के हुन सक्छ भनेर ठूला ठूला विज्ञसँग कुरा गर्नुपर्छ । तर सरकारलेकुनै मतलव राखेको छैन । हेलिकप्टरमा हेर्न गएर हुन्छ ? त्यसकारण सर्वदलीय टोली पठाएर हुन्छ वा के गरेर हुन्छ तत्कार उद्धार राहतलाई तीव्र बनाउनुपर्यो ।
त्यहाँको वास्तविक कुरा ल्याएर लाग्नु पर्छ । यसमा राजनीतिक गर्नु पर्ने कुरा छैन । यो कुरा सरकारले छिटो गरेर भने यसका लागि हामीले अरु कदम उठाउनु पर्ने बाध्यता नहोस् । काँग्रेस सभापति शेरबहादुर देउवा ४ दिन सम्म बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी केही दिन अघि काठमाडौं फर्किएका थिए ।
(बुधबारको संघीय संसदको प्रतिनिधि सभा बैठकको विशेष समयमा सभापति देउवाले राखेको धारणाको सम्पादित अंश)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण