बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अमेजन जङ्गलमाभन्दा बढी आगलागी अंगोला र कंगोमा भइरहेको नासाको खुलासा

मङ्गलबार, १० भदौ २०७६, १० : २३
मङ्गलबार, १० भदौ २०७६

बीबीसी । अमेजनको डढेलोले अहिले विश्वभरीका मानिसको ध्यान तानेको छ । यस डढेलोलाई विश्वको अन्य भागमा भइरहेको आगलागीसँग तुलना गरेर हेर्दा अनौठो तथ्य बाहिरिएको छ ।

नासाले विश्वभरी हुने आगलागीलाई नक्सामा देखाएर तस्विर प्रकाशित गर्ने गर्छ । आइतबार नासाले प्रकाशित गरेको विश्व डढेलो नक्सामा सबैभन्दा वृहद डढेलो केन्द्रीय अफ्रिकामा लागिरहेको देखिन्छ ।

अघिल्लो हप्ताका दुई दिनको अवधिमा अंगोलामा सम्पूर्ण ब्राजिलमा भन्दा तीन गुणा बढी डढेला लागेको देखिएको थियो ।

वेदर सोर्सबाट प्राप्त भएको तथ्याङ्कले अंगोलाका ६,९०२ स्थानमा आगलागी भएको देखाएको छ भने छिमेकी लोकतान्त्रिक गणतन्त्र कंगोमा ३,३९५ डढेलो देखाएको थियो । उता ब्राजिलमा भने २,१२७ आगलागी देखिएको छ ।

यो तथ्याङ्क बाहिरिएपछि ट्वीटरमा बहस नै सुरु भएको छ । मानिसहरु अफ्रिकामा भइरहेको आगलागीप्रति विश्वको ध्यान नगएकोमा चिन्तित देखिन्छन् ।

एक जना ब्राजिलियन प्रयोगकर्ताले फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले अमेजनको आगलागीलाई ‘अन्तर्राष्ट्रिय संकट’को रुपमा व्याख्या गरेको तर अफ्रिकाको आगलागीहरुलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

सोमबार जी–७ सम्मेलनमा भेला भएका नेताले अमेजनका वर्षा वनमा लागेको आगलागीसँग जुध्नको लागि २.२ करोड अमेरिकी डलर निकासा गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसपछि गरिएको ट्वीटमा म्याक्रोँले अफ्रिका क्षेत्रमा लागेको आगलागीबारे पनि आफूहरु सुसूचित भएको लेखेका छन् । 

‘सब–साहारा अफ्रिका क्षेत्रमा आगलागी भइरहेको छ । त्योसँग जुध्नको लागि हामीले समानखालको सहायताको सम्भावनाबारे विचार गरिरहेका छौँ,’ उनले ट्वीट गरे ।

तर नासाले जारी गरेको विश्व डढेलोको नक्सामा आगलागी वनमा लागेको या अन्यत्र छुट्टिदैन । त्यसका साथै आगलागीको स्तर पनि त्यसबाट छुट्टिदैन । 

अफ्रिकामा किसानले नयाँ बाली लगाउने बेला परालहरु जलाउने प्रचलन छ । यी आगलागीसमेत नासाको डढेलो नक्सामा देखिन्छ ।

वातावरणविद्ले खेतबारीमा त्यसरी आगलागी गर्दा भू–क्षय हुने र जैविक विविधताको ¥हास निम्त्याउने चेतावनी दिन्छन् । तर किसानहरुको लागि खेतवारी खाली गर्ने यो सबैभन्दा सस्तो माध्यम हुने गर्छ ।

खेतबारीका शेष सामाग्रीमा आगलागीले कृषि उत्पादनमा केही फाइदा पनि हुने गर्छ । त्यसले कृषि किटाणु मर्नेदेखि बाँकी रहने खरानी माटोको लागि पोषणको काम गर्छ । यसले गर्दा खेतीबारी जलाउने किसानहरुमाझ लोकप्रिय रहेको छ ।

यो प्रत्यक वर्षा याम अघि हुने गर्छ । यही कारणले पनि सब–साहारा क्षेत्रमा भएको आगलागीले त्यति ध्यान नतानेको हुन सक्छ ।

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप