शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ओलम्पिकमा जीवनराम र उमेशको भिडन्त, वामदेवकी श्रीमती तुल्सी पनि उम्मेद्वार

मङ्गलबार, १० भदौ २०७६, २३ : ०५
मङ्गलबार, १० भदौ २०७६

काठमाडौं- नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्ष पदका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । नेपाली खेलकुदमा सर्वाधिक चासोको रुपमा हेरिएको एनओसी चुनाव यही भदौ २० गते हुँदैछ ।

एनओसी चुनावलाई यसपटक नेकपा भित्रको पनि पूर्व एमालेको दुई खेमा बीचको भिडन्तको रुपमा हेरिएको छ । मंगलबार एनओसी मुख्यालयमा उम्मेदवारी दर्ता गरेसँगै दुवैले आआफ्नो जित निश्चित भएको दावी गरेका छन् । जीवनराम नेपाल स्की संघ र उमेशलाल नेपाल हक्की संघका अध्यक्ष हुन् । एनओसीका वर्तमान अध्यक्ष समेत रहेका जीवनराम प्रतिनिधिसभाका सभासद् पनि हुन् । उनलाई हालै मात्र नेकपाले काठमाडौं उपत्या इन्चार्जको जिम्मेवारी दिएको छ ।

उमेशलाल पनि नेकपाका नेता हुन् । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठ र साहना प्रधानका छोरा हुन् । एनओसीको अघिल्लो निर्वाचनमा पनि उमेशलाललाई नै हराउँदै जीवनराम अध्यक्षमा निर्वाचित भएका थिए । जीवनराम विगतदेखिनै नेकपा नेता माधवकुमार नेपाल निकट छन् । उमेशलाल प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । अध्यक्ष सहित एनओसीको आगामी चारबर्षे कार्याकलका लागि एनओसीमा मताधिकार प्राप्त विभिन्न २७ वटा राष्ट्रिय खेल संघका २७ जना प्रतिनिधिमध्ये २६ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।

रतन र पिताम्बर निर्विरोध
एनओसी निर्वाचनमा उम्मेदवारी दिएकामध्ये कोषाध्यक्ष पदमा रतन टन्डन र उपमहासचिवमा पिताम्बर तिमल्सिना निर्विरोध निर्वाचित भएका छन् । यस पदमा एक÷एक जनाको मात्र उम्मेदवारी परेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष समेत रहेका पिताम्बर नेपाल एथलेटिक्स संघ र टन्डन भारोत्ताोलन संघका प्रतिनिधि हुन् । टन्डन अघिल्लो कार्यसमितिमा पनि एनओसीको कोषाध्यक्ष नै थिए । यस्तै १९ सदस्यीय कार्यसमितिका लागि पाँच उपाध्यक्ष पदमा आठ जनाको उम्मेदवारी परेको छ ।
उपाध्यक्ष पदमा नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणा, सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ, पौडी संघका अध्यक्ष अशोकमान बज्राचार्य, ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ, टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द वैद्य, फेन्सिङका सुनिल श्रेष्ठ, र्याफ्टिङ एन्ड क्यानोनिङ संघका उपाध्यक्ष राजीव श्रेष्ठ र कुस्ती संघका उपाध्यक्ष समिममिया अन्सारीले उम्मेदवारी दिएका छन् । यस्तै एनओसीको एक महासचिव पदका लागि कराँते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखे र ट्रायथलनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठको उम्मेदवारी परेको छ ।

बामदेव पत्नी तुल्सी पनि उम्मेदवार
एनओसीको निर्वाचनमा नेकपाका उपाध्यक्ष बामदेव गौतमकी पत्नी एवं सभासद् तुल्सी थापाले पनि सचिव पदमा उम्मेदवारी दिएकी छन् । तुल्सी नेपाल कबड्डी संघको पनि अध्यक्ष हुन् । उनी कबड्डी संघकै प्रतिनिधिको रुपमा एनओसी छिर्न लागेकी हुन् । यस पदका लागि तुल्सीसँगै चार जनाको उम्मेदवारी परेको छ । अन्य उम्मेदवारमा राखेपका पूर्वसदस्य सचिव एवं उसु संघका अध्यक्ष केशवकुमार विष्ट, जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य र ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ छन् ।

यसैगरी एनओसीको सात सदस्य पदका लागि आठ जनाको उम्मेदवारी परेको छ । सदस्यकाचुनावी दौडमा गल्फ संघका अध्यक्ष तासी घले, फुटबलका दीर्घबहादुर केसी, आर्चरीका रमेशप्रसाद शिवाकोटी, भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, तेक्वानदो संघका अध्यक्ष प्रकाश शम्सेर राणा, साइक्लिङ संघका अध्यक्ष गोपालसुन्दर कक्षपति, बक्सि संघका अध्यक्ष राम अवाले र बास्केटबलका होमबहादुर दोङ छन् । २७ जना मताधिकार प्रतिनिधि मध्ये एनओसीका पूर्व अध्यक्ष एवं जिमन्यास्टिक संघका अध्यक्ष ध्रुबबहादुर प्रधान एक जनाले मात्र कुनै पदमा उम्मेदवारी दिएका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप