शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपाललाई ‘ट्रयाप’मा पार्ने ओलीको तयारी

सर्वोच्चको पछिल्लो फैसलाले ओलीलाई फाइदा भएको विश्लेषण
बिहीबार, ०३ असार २०७८, ०८ : १३
बिहीबार, ०३ असार २०७८

काठमाडौं । ‘बालुवाटारमा अब प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव पक्षको मागअनुसार २०७५ जेठ ३ अघिकै पार्टी संरचनाका आधारमा बैठक बोलाउँदै हुनुहुन्छ,’ ओलीनिकट एक नेताले रातोपाटीसँग भने, ‘त्यो बैठकमा माधव नेपाल आउँछन् कि आउँदैनन् ? आएनन् भने ट्रयापमा पर्छन् ।’ 

जेठ ३ अघिको संरचनाअनुसार बैठक बस्नका लागि अध्यक्ष ओलीले आफ्नोतर्फबाट गर्नुपर्ने तयारी तीव्र बनाएका छन् । तयारी सक्नेवित्तिकै बैठकको मिति तोक्ने ओलीको योजना छ ।

तर, बैठकअघि ओलीले असन्तुष्ट पक्षसँग छलफल गर्न चाहेका छन् । सोही योजनाअनुसार सोमबार बिहान एमाले उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलबीच करिव चारघण्टा छलफल भएको थियो ।

गौतमसँग कुराकानी गर्न पौडेल भैंसेपाटीस्थित आफ्नै घरको नजिक रहेको गौतमनिवासमा छिरेर पार्टीको आन्तरिक विवादबारे लामो कुराकानी गरेका थिए । पौडेल र गौतमबीच खासगरी नेकपा एमालेलाई जेठ २ मा फर्काउने, तर कसरी ? भन्ने विषयमा कुराकानी भएको थियो ।

 


 

नेकपा एकता भंग गर्ने सर्वोच्च अदालतको निर्णयसँगै पार्टीलाई पूर्ववत अर्थात् २०७५ जेठ २ को संरचनामा फर्केर बैठक बस्नुपर्ने र त्यसबाट अघि बढ्नुपर्नेमा ओलीले त्यसो नगरी एकलौटी ढंगले अघि बढेकोमा खनाल–नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ । त्यसयता एमालेको ओली र खनाल नेपाल समुहका देशैभर समानान्तर गतिविधि भइरहेका छन् ।

छुट्टै एकता अभियान चलाइरहेका उपाध्यक्ष वामदेव गौतमले पनि जेठ २ मा फर्कनुपर्ने अडान राख्दै आएका छन् ।

अध्यक्ष ओली नेकपा घोषणाअघिको संरचनामा फर्कन तयार नभएको भनेर खनाल–नेपाल पक्षले भनिरहेका बेला यही विषयमा पौडेल र गौतमबीच लामो कुराकानी भएको हो ।

सर्वोच्चको फैसलाले ओलीलाई फाइदा ?

पछिल्लोपटक कर्णालीका चार सांसदलाई एमाले महाधिवेशन आयोजक कमिटीका तर्फबाट गरिएको कारवाहीलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत अस्वीकार गरिदियो । अदालतको सो आदेशप्रति केपी ओली पक्षले बाहिरीरुपमा असन्तुष्टि जनाएको छ भने माधव पक्षले कुनै प्रतिक्रिया जनाएको छैन ।

तर, ओली पक्षले बाहिरीरुपमा अदालतको निर्णयप्रति असन्तुष्टि जनाए पनि भित्रीरुपमा चाहिँ केपी ओलीलाई पुनः जेठ २ कै अवस्थामा फर्कन मार्गप्रशस्त गरिदिएको विश्लेषण बालुवाटारमा हुन थालेको छ । खासगरी, बादल समूहलाई पाखा लगाउन नमिल्ने प्रधानमन्त्री ओलीले बताइरहेका थिए । अब अदालतले  नै महाधिवेशन आयोजक कमिटीलाई नमान्ने बताएपछि ओलीलाई सजिलो भएको उनीनिकट नेता बताउँछन् ।


यसअघि पनि सर्वोच्च अदालतकै निर्णयका कारण बादल लगायतका ७ जना पूर्वमाओवादी नेताहरुलाई मन्त्रीबाट हटाउन ओलीलाई बाटो खुलेको थियो ।

त्यस्तै, महाधिवेशन आयोजक कमिटीलाई नमान्ने अदालतको पछिल्लो निर्णयमा टेकेर पार्टीको संरचनाबाट २३ माओवादीलाई बाहिर पारेर जेठ २ को संरचनामा फर्कन अध्यक्ष ओलीलाई मार्गप्रशस्त भएको एमाले स्रोतको दाबी छ ।  

सर्वोच्चको आदेशपछि अब जेठ २ पूर्वको संरचनामा बैठक बोलाइएको खण्डमा विपक्षी गठबन्धन बनाइसकेको माधव–खनाल पक्षलाई बालुवाटार जाने कि नजाने भन्ने दुविधा उत्पन्न हुन सक्ने र उनीहरु ‘ट्रयाप’मा पर्न सक्ने ओली पक्षका नेताहरुको बुझाइ छ ।

यता पछि एमालेको केन्द्रीय कमिटीमा मनोनयन गरिएका रामबहादुर थापा बादल लगायतका २३ जनालाई पनि सर्वोच्च अदालतले नै मान्यता नदिएको भनेर पन्छाउन सजिलो भएको विश्लेषण ओली पक्षका नेताहरुले गर्न थालेका छन् ।

सर्वोच्च अदालतले पनि बाटो खोलिदिएको र जेठ २ को संरचनामा बैठक बोलाउँदा खनाल–नेपाल समूह अप्ठेरोमा पर्ने बुझेपछि अध्यक्ष ओली जेठ २ कै अवस्थामा पार्टीको बैठक राख्न चाहेको स्रोतले बतायो ।

यसका लागि ओलीले आफू निकटकाहरुसँग छलफल चलाएका छन् । र, यसै सन्दर्भमा ओली र माधव पक्षमा कतै नलागी बसेका गौतमसँग ओलीको सल्लाह अनुसार विष्णु पौडेलले छलफल गरेका हुन् । ओलीनिकट स्रोतका अनुसार अब अध्यक्ष ओली माधव नेपालको माग अनुसार नै जेठ २ को पार्टी संरचनाको बैठक बोलाउन तयार भएका छन् ।


त्यसो त कर्णाली मुुद्दाको आदेश आउनुअघि नै ओलीले गत जेठ २३ गते ६ बुँदे प्रस्ताव अघि सार्दै जेठ ३ अघि फर्कने, तर माधव नेपाल पक्षले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि गरेको प्रस्तावबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त अघि सारेका थिए ।

ओलीको सो प्रस्तावलाई माधव पक्षले छलछाम र षड्यन्त्र भन्दै अस्वीकार गरिसकेको छ । तर, कर्णाली प्रकरणमा सर्वोच्चको आदेशले समेत जेठ २ लाई नै स्मरण गराएपछि ओली अरु लचक बन्ने संकेत देखिएको हो ।

तर, ओलीले थप लचक भएर जेठ २ अघिको संरचनामा बैठक डाकेको अवस्थामा नेपाल–खनाल पक्ष अप्ठेरोमा पर्ने, उनीहरुभित्र विवाद पैदा हुने र बैठकमा जानुपर्छ र पर्दैन भन्ने दुई धार देखा पर्ने ओली पक्षको विश्लेषण छ ।

 


 

खनाल–नेपाल पक्षले के गर्ला ?

यदि ओलीले माधव पक्षको मागअनुसार नै अब जेठ २ को कमिटीकै बैठक बोलाए भने खनाल–नेपाल समूहका नेताहरु उक्त बैठकमा जान्छन् कि जाँदैनन् भन्ने प्रश्न महत्वपूर्ण बनेको छ ।

ओलीले जेठ २ कै पार्टी संरचनाको बैठक बोलाए पनि माधव पक्ष जान्छ नै भन्ने ग्यारेन्टी छैन । यदि त्यस्तो अवस्थामा बोलाएको बैठकमा माधव समूह नगए यो समूहमाथि नै प्रश्न उठ्न सक्ने ओली पक्षको दाबी छ ।

तर, ओलीले बोलाउने बैठकमा जाँदा पनि माधव–झलनाथ समूहलाई सजिलो चाहिँ छैन । किनभने, एकातर्फ शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरिसकेको अवस्था छ । अर्कोतर्फ, जेठ २ अघिको एमालेको केन्द्रीय सदस्यको गणित नै मिल्न बाँकी छ ।

माधव नेपालले पार्टीलाई जेठ २ पूर्वको अवस्थामा फर्काउनुपर्ने माग गरे पनि एमालेको केन्द्रीय समिति कति सदस्यीय हो भन्ने विवाद दुबै पक्षमा यथावत छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप