आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री पद नै गएपछि के हुन्छ जसपाभित्रको विवाद ?

उपेन्द्र भन्छन्, ‘माफी हुँदैन’, निवर्तमान मन्त्री भन्छन्, ‘उपेन्द्रसामु झुकिँदैन, कानुनी लडाइँ लडिन्छ’
मङ्गलबार, ०८ असार २०७८, २२ : १७
मङ्गलबार, ०८ असार २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेका ११ जना सर्वोच्च अदालतको आदेशपछि पदबाट मुक्त बनेका छन् । मन्त्रीबाट पदमुक्त भएपछि जसपाको विवाद अब के हुन्छ भन्ने पार्टीपंक्तिको चासो रहेको छ । किनभने जसपाभित्रको विवादको मुख्य जड नै ओली नेतृत्वको सरकारमा सहभागी हुनु थियो ।

​महन्थ ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने र उपेन्द्र यादव पक्षले विपक्षी गठबन्धनलाई सघाउने अडानकै कारण पार्टीमा विवाद शुरु भएको थियो । प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा जानबाट रोक्न यादवले सरकारमा सहभागी हुनेहरु पार्टीबाट स्वतः निष्कासित हुने निर्णय नै गराएका थिए । यसका बावजुद ११ जना सरकारमा सहभागी भए । जसले गर्दा अहिले पार्टी विभाजनको संघारमा पुगिसकेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन समेत दिइसकेका छन् ।

‘अहिले सबै मन्त्री पदमुक्त भएपछि पार्टीको विवाद के हुन्छ त ?,’ अध्यक्ष यादवलाई सोध्दा उनी भन्छन्, ‘उनीहरुले गरेको गल्ती माफी लायक छैन । मन्त्रीबाट पद गएकै आधारमा उनीहरुलाई माफी दिइँदैन । पार्टीको विधि र विधानअनुसार उनीहरु कारवाहीको भागिदार हुन् ।’ यद्यपि अहिले पनि पार्टीमा देखिएको विवाद समाधानका लागि संवाद र छलफलको ढोका भने बन्द नभएको उनले बताए ।

‘प्रधानमन्त्री अ‍ोलीले चालेको प्रतिगमनकारी कदमलाई साथ दिनु पार्टीको निर्णय विपरित थियो,’ उनले प्रश्न गरे, ‘पुस ५ गते प्रधानमन्त्री अ‍ोलीले संसद विघटन गर्दा महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरुले ठूला ठूला भाषण गरेर त्यसलाई गलत भनेको होइन ? अहिले चाहिँ ओलीको कदम कसरी सही भयो ? ओलीले पुनः संसद विघटन गर्दा त्यो कदमलाई उनीहरुले किन समर्थन गरे यो मुख्य विषय हो ।’

​एकातर्फ प्रधानमन्त्री ओलीको कदम गलत हो भनेर निर्णय पनि गर्ने र अर्कोतर्फ समर्थन गर्न सरकारमा जाने कार्य स्वीकार्य नहुने बताउँदै उनले ठाकुर पक्षले लोकतन्त्र र संघीयता विरोधी कार्य गरेको आरोप लगाए ।

‘पदबाट मुक्त हुनु एउटा कुरा हो, पार्टीभित्रको विवाद अर्को कुरा हो,’ उनी भन्छन्, ‘मन्त्री पदबाट हटेपछि उनीहरुको कदम के हुन्छ ? लोकतन्त्रको पक्षमा हुन्छ कि फेरि त्यही प्रतिगमनकारीको पक्षमा हुन्छ हेर्न बाँकी छ ।’

यता, उपेन्द्र यादव पक्ष छाडेर महन्थ ठाकुर पक्षमा लागेर मन्त्री बनेका उमाशंकर अरगरियाले जसपामा देखिएको विवादको विषयमा आफूहरु आफ्नो अडानमा कायम रहेको प्रतिकृया दिए । उनले भने, ‘उपेन्द्र यादवजी निर्वाचन आयोगमा दल दावीका लागि निवेदन दिनुभएको छ, हेरौं निर्वाचन आयोगले कस्तो निर्णय गर्छ ।’

पार्टीमा आफूहरुको स्पष्ट बहुमत रहेको दावी गर्दै उनले भने, ‘मन्त्रीबाट हट्दैमा उपेन्द्र यादवसँग झुक्ने वा अब यादवले जे भन्छन् त्यही हुन्छ भने होइन । पार्टीले अध्यक्ष यादवलाई कारवाही गरिसकेको छ, कार्यकारिणी समितिमा पनि फेरबदल गरिएको छ । अब त्यही अनुसार पार्टी अगाडि बढ्छ ।’

उनले सर्वोच्च अदालतले गरेको निर्णयलाई आफूहरुले स्वीकार गर्ने पनि बताए । ‘कोही पनि सधैँका लागि मन्त्री बन्दैन । सर्वोच्च अदालतले गरेको निर्णयलाई हामी स्वीकार गर्छौं । यसमा कुनै दुःख मनाउ छैन,’ निवर्तमान मन्त्री अरगरियाले भने, ‘आफूहरु सरकारमा जाँदा प्रतिगमन देख्ने उपेन्द्र यादव १८ महिनासम्म सरकारमा हुँदा चाहिँ के थियो ? त्यसको जवाफ दिनुपर्छ । उपेन्द्र यादवलाई प्रतिगमन के हो भन्ने थाहा छैन भने म उहाँलाई सिकाइ दिन्छु ।’

महन्थ ठाकुरले निर्वाचन आयोगमा पेस गरेको कागजात फर्जी रहेको पनि अध्यक्ष यादवले आरोप लगाएका छन् । त्यसबारे नेता अरगरिया प्रश्न गर्छन्, ‘महन्थ ठाकुरले हस्ताक्षर बुझाउँदा फर्जी हुने, उपेन्द्र यादवले त्यही हस्ताक्षर बुझाउन सक्कली कसरी हुन्छ ?’ उनले जसपामा अब कानुनी लडाइँ सुरु भएको पनि जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप