आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
cover-story
कोलोम्बो

आर. प्रेमादासा स्टेडियम

श्रीलंकाको क्रिकेट इतिहासमा आर. प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नाम सुनौलो अक्षरले लेखिएको छ। कोलम्बोको मालिगावाट्टामा अवस्थित यो मैदान विशेष गरी सन् १९९७-९८ मा भारतविरुद्ध श्रीलंकाले बनाएको ९५२ रनको विशाल योगफलका लागि विश्वभर प्रख्यात छ।

टेस्ट क्रिकेटको इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा उच्च स्कोर हो। सोही ऐतिहासिक खेलमा सनथ जयसूर्या र रोशन महानामाले दोस्रो विकेटका लागि ५७६ रनको साझेदारी गर्दै विश्व कीर्तिमान कायम गरेका थिए।

सुरुमा 'खेत्तारामा रंगशाला' को नामले चिनिने यो मैदानलाई श्रीलंकाका तेस्रो राष्ट्रपति रणसिंघे प्रेमदासाको पहलमा निर्माण गरिएको हो। उनले मुलुकमा विश्वस्तरको सुविधासम्पन्न र सबैभन्दा ठूलो क्रिकेट रंगशाला बनाउने सपना देखेका थिए। भिक्षुहरूले आवतजावतका लागि प्रयोग गर्ने दलदले जमिनलाई बालुवाले पुरेर यो रंगशाला बनाइएको इतिहास छ। सन् १९८६ फेब्रुअरी २ मा श्रीलंका 'बी' र इङ्ल्यान्ड 'बी' बीचको खेलबाट यसको उद्घाटन गरिएको थियो।

यो रंगशाला श्रीलंकामा १०० वटा एकदिवसीय (ओडिआई) खेलहरू आयोजना गर्ने पहिलो र विश्वकै चौथो मैदान पनि हो। हालसम्म यहाँ १२७ भन्दा बढी एकदिवसीय खेलहरू भइसकेका छन्। सन् २०११ को विश्वकपअघि यस रंगशालालाई करिब ८० लाख रुपैयाँ खर्च गरेर व्यापक पुनर्निर्माण गरिएको थियो। जसका कारण यसको दर्शक क्षमता ३५ हजार पुर्‍याइयो र सञ्चारकर्मीका लागि २०० जना अट्ने आधुनिक मिडिया बक्स समेत थपियो।

नीलो र पहेँलो रङका कुर्सीहरूले सजाइएको यो रंगशाला कोलम्बो फोर्टबाट करिब ३ किलोमिटर उत्तर-पूर्वमा पर्दछ। सन् २००९ को नवीकरणपछि यो अझ आकर्षक र सुविधायुक्त बनेको छ। क्रिकेट प्रेमीहरूका लागि यो केवल एउटा खेल मैदान मात्र नभएर श्रीलंकाली क्रिकेटको गौरव र सफलताको जीवित सङ्ग्रहालय जस्तै बनेको छ।